Chanki Shrestha – Akash Ko Manchitra


सजाएकै हो
आकाशले आफ्नो हृदयमा बतासलाई
दिएकै हो
फूललाई पनि त शीतको सौर्न्दर्य
यद्यपि आकाशको बेग्लै कथा छ
बतास र फूलको आ-आफ्नै व्यथा छ
उपेक्षा गर्दै
यो निस्सीम सम्बन्धलाई
गर्जिरहेछ यस बेला बादल निरन्तर
र, प्रहार गरिरहेछ चट्याङ धरती र आकाशको सुकोमल छातीमाथि ।


झुक्यो भने यो आकाश
लाग्नसक्छ कर्फ्र्यू यो शीतल-शीतल बतासविरूद्ध
स्वयं यो खुला आकाशविरूद्ध
हो, लाग्नसक्छ बन्देज अविरल नदीको प्रवाहविरूद्ध
बर्सनसक्छ तरबार यी कलिला-कलिला फूलविरूद्ध
यद्यपि स्वतन्त्रताको हत्या नगर्न
झुण्डिएको छ विज्ञापन शैलीमा एउटा विशाल होर्डिङ बोर्ड
शहरको सबैभन्दा उच्च स्थानमा ।


सुनसान सिनेमाघरको ढोकाजस्तै
कुनै पनि बेला खुल्छ, बन्द हुन्छ आकाश
केही चिरन्तन प्रश्न र मान्यतालाई पन्छाएर बगरमा
खुलाबजारमा बिक्रीमा राखिएका छन्
यसका मानचित्र र गर्विला कथाहरू
उड्दा-उड्दै घाइते भएर भर्खरै झरेका छन्
खुला आकाशमा तिमीले उडाएको एक जोडी परेवा
र, ठुङ्दै एकार्काको घाउ
एकनास घुरिरहेछन् आँसुको भाकामा
यद्यपि आकाशको सुन्दरता र गर्विला कथाको बखान
एक जुगदेखि नै गरिरहेका छौँ हामीहरू ।