यस वर्षको दसैँ
सत्ताधारी र सत्ताविरोधी
दुवैलाई
यत्ति महत्वपूर्ण हुनेछैन
किनकि–
यस वर्षको दसैँमा
अहिले खाइरहिएको मासुको विशेष स्वाद पाइनेछैन
तर, जनता
यस वर्षको दसैँमा पनि
सधैँझैँ–
केही तनाव
केही दुबिधा
केही खुसी
र धेरै अभाव, दुःख, पीर या व्यथाहरूमा नै रम्नेछन्
यस वर्ष
अखबारहरूमा
कुनै चल्तीको नेता, बुद्धिजीवी या कलाकारहरूका
पढ्नै घिन लाग्ने वर्णमात्रिक उत्तरहरू
जस्तो–
‘टीका थापिन्छ/म्यारिज खेलिन्छ/रमाइलो गरिन्छ’
सम्भवतः कम छापिनेछ
तर,
यस वर्षको दसैँलाई पनि
धर्मशास्त्री डा.प्रपन्नाचार्यले दसैँ मान्नुहुनेछ
समाजशास्त्री डा.कृष्ण भट्टचनले दसैँ मान्नुहुनेछ
अम्बर गुरुङको द…सैँ….,
र वैरागी काइँलाको दसैँ….दस्….सैँ……स…..स
स्…..–मा भने
कुनै अन्तर हुनेछैन
यस वर्षको दसैँमा
सहर र सदरमुकामवासीलाई
युरोप, अमेरिका र अरब मुलुकहरूबाट
जिसस, बुद्ध या गीताका वाणीहरूले भरिएका
प्रशस्त झुत्रा शुभकामनाहरू प्राप्त हुनेछन्
तर,
सहरबाट गाउँ
र गाउँबाट पल्लो गाउँ
कुनै छरितो लिफा भएर,
लाइनसक्दै खसेको सिन्दूरछेउ कुनै वीरबहादुर पुग्नेछैन
तर, सुदूर गाउँको
कुनै अनाम झुप्रोमा
यस वर्षको दसैँ अचानक आश्चर्यको भएर
रातमा टकटक प्रवेश गर्नेछ
जसका बलिरहेका जोर आँखा
आफ्ना वृद्ध बा–आमाका पाउहरू सुमसुम्याएर क्षणभरमै अलप
हुनेछ
त्यसरी नै
सुदूर बस्तीको अर्को कुनै झुप्रोबाट
कुनै निर्दोष अमरसिंह, भीमसेन या भक्ति थापाजस्तो
गोलो, उज्यालो बिहान
निधारभरि अक्षता र कानभरि जमरा सिउरेर सहर्ष बिदा माग्नेछ
यस वर्षको दसैँमा
यस निर्जीव सहरबाट
पत्रिकाको हकर– विदुर क्षत्री
साझा बसको खलासी– कृष्ण यादव
होटेलको कान्छा– भीम तामाङ
रात्रि क्लबकी नर्तकी– सुश्री उर्वशी गुरुङ
र सडकको कवि– श्रवण मुकारुङ
सम्भवतः कसैले पनि छुट्टी पाउनेछैनन्
कसैको साइत जुर्नेछैन/घरसम्म पुग्ने हरियो बाटो खुल्नेछैन
तर,
दसैँको त्यो दिन…
कवि श्रवण मुकारुङलाई
सडकमा फालिएको बम होस् या कफ्र्यू
प्रजातन्त्र होस् वा गणतन्त्र
केही मतलब हुनेछैन
उसलाई आफ्नो ज्यानभन्दा उसको अतीत मीठो हुनेछ
उसलाई आफ्नो प्राणभन्दा उसको वर्तमान प्रीतिकर हुनेछ ।
सयौँ तोपको सलामीसँगसँगै
यहाँको मुख्य श्रव्य–दृश्यहरूमा दसैँ चलिरहेको समय
जसलाई पिएर श्रवण मुकारुङ
आफ्नै पीरहरूको भाङले असन, न्यूरोड र रत्नपार्कका पेटीहरूमा
लखरक्–लखरक् हल्लिरहेको हुनेछ
अथवा–
कहिल्यै नफर्किने गरी गएका पहाडी खोलाहरू
आफ्नो माटो र मूलको असीम मायाले फर्किन्छन् कि भनेर
दिनभरि रोटेपिङजस्तो आशाको झीनो बताससित मच्चिँदै
एकान्तको लतले थकित !
राति अबेरसम्म ऊ निदाउन सक्नेछैन ।
उसका निरीह आँखाहरूमा एकाएक
उसको बाक्लो गाउँ र अग्लो बाँसको झ्याङ लुम्रुङ्ग आइपुग्नेछ
लफङ्गो बाबु, दुब्ली आमा
र तिनका रात, यौवन र दुर्गा–अवतारहरू
जसलाई सम्हाल्ने
रामायण, गुणरत्नमाला, स्वस्थायी व्रतकथा, सँगिनी, हाक्पारे,
जुहारी र लहरी गीतका चकिला श्लोकहरू
सबै–सबै आइपुग्नेछन्– दसैँको गहिरो अंश भएर
ऊ उसको आमासित कुनै स्वर्गीय राजकुमारको लोरी सुन्न
त्यो सपनाको दुर्गमतामा पुग्दानपुग्दै
अनायास !
उसको सम्झनाको पर्वतभरि
पहिलो जानेछ/पुल भत्किनेछ
र ऊ, आफ्नै आँसुको बाढीले बेपत्ता हुनेछ ।
तर, यस वर्षको दसैँमा पनि
संसारको कुनै त्रूmर शासकको हत्या, आत्महत्या
या अपदस्थ हुनेछैन
यस वर्षको दसैँमा पनि
संसारको कुनै महान् देशभित्र सानो देश
जानी–नजानी विलय हुनेछैन
र कुनै पनि महान् देश सिसाभैmँ टुक्रा–टुक्रा हुनेछैन
तर, हाम्रो देशमा
यो वर्ष पनि
खसीको टाउको र मानिसको मगज
असङ्ख्य टुक्राहरूमा टुक्र्याइनेछ
र सम्भवतः यस वर्षको दसैँमा पनि
सत्ताधारी र सत्ताविरोधी
दुवैलाई–
गिदी, आँखा, कलेजो, मुटु र तात्तातो रगत
स्टिम्भन्दा विशेष फ्राई नै मन पर्नेछ ।
तर, जनता
यस वर्षको दसैँमा पनि
सधैँ झैँ–
केही तनाव
केही दुबिधा
केही खुसी
र धेरै अभाव, दुःख, पीर या व्यथाहरूमा नै रम्नेछन्
किनकि–
दुःखको उज्यालो गीत गाउन मानिसलाई कसैले सिकाउनु पर्दैन ।