Shrawan Mukarung – Jeevan Ko Laya

एक–दुई–तीन
एक–दुई–तीन
तपाईं
वाल्जमा बाँधिनुभयो ।

जीवनको नग्नता हो विचार
तर आशा, निराशा, उत्तेजना
एक रिदमिक तीव्रता
जस्तो–
लहर नदीको तीव्रता हो
बतास टाकुराको
एकान्त आलापको ।

निरन्तर हिउँ खसिरहनु
या, पग्लिरहनु
तीव्रता हो– हिमालयको

एक–दुई–तीन
एक–दुई–तीन

प्रत्येक बोध, विश्राम वा खाली
शून्य वा मृत्यु
योजक हो– जीवनको ।
जस्तो–
बुद्ध र यशोधरा
ब्लुज र नीलो
माक्र्स र स्वप्न
महावीर र यातना
झलकमान र सारङ्गी

मानिस आफैँमा के हो…?
के हो मानिस…?
तर,
जीवन चलिरहन्छ– यत्नहरूको नजिक–नजिक
एक–दुई–तीन
एक–दुई–तीन

गइसकेपछि फर्किन सकिन्छ…?
भइसकेपछि नहुन सकिन्छ….?

जीवन एक लय हो–असङ्ख्य टुक्राहरूको
जो क्षणको खस्रो जराबाट
उभिन्छ तरलताको भीमकाय रुख
एक–दुई–तीन
एक–दुई–तीन ।