Shrawan Mukarung – Huliya

‘मान्छे जूनमा पुग्यो’ भन्ने थाहा पाएपछि
हाम्रो ठूलेले पनि घर छोडेको छ ।

कञ्चनजङ्घाजस्तो छाती
गुरासँजस्ता आँखा
र रकेटजस्तो रहर बोकेर हिँडेको
कहाँ पुग्यो ?
कुनै खुटखबर छैन

कोही भन्छन्–
हिमाल चड्नेहरूका पैताला सुम्सुम्याउँदै
स्वाभिमानको हाँक दिँदैछ कि– सोलुखुम्बुतिर
कोही भन्छन्–
बयलगाडा चोराएर
चतुर गोर्खालीको परिभाषा फलाक्दै छ कि–बहादुरगञ्जतिर
चार–चौरास खोजेँ
पत्तो लागेन

अस्ति,
एउटा मान्छे
नुनको भारीसँगै सप्तकोशीमा झर्यो
धन्य ठूले होइन रहेछ
अर्को मान्छे–
खाडीमा मर्यो
धन्य ठूले होइन रहेछ
उस्तै–उस्तै मान्छे
जुलुसमा पर्यो
धन्य ठूले होइन रहेछ

कोही भन्छन्–
चारखालमा निहुँ खोज्दै होला– सरकारसित
कोही भन्छन्–
एयरपोर्टमा घुस खुवाउँदै होला– सरकारलाई
कोही भन्छन्–
सिंहदरबारमा सिन्दुर लगाउँदै होला– सरकारको

कञ्चनजङ्घाजस्तो छाती
गुराँसजस्ता आँखा
र रकेटजस्तो रहर बोकेर
जूनमा पुग्ने मान्छेको सेखी झार्न हिँडेको ठूले
तपाईंहरू कसैकामा भाँडा माझ्दै छ कि
खबर गर्नुहोला
हामीलाई साह्रै सुर्ता लागेको छ ।