– प्रोफेसर शर्माको चस्माको सिसा चर्केको छ
– प्रोफेसर शर्माको चप्पलभित्रको खुट्टा छिप्पेको इस्कुसजस्तो छ
– प्रोफेसर शर्माको कमिजबाट टाँकहरू प्रायः खसिसकेका छन्
– ब्ल्याकबोर्डमा
प्रोफेसर शर्माको हात थरथर काँप्छ
– प्रोफेसर शर्मालाई दमको रोग छ ।
सर !
यसरी गफिन्थ्यौँ हामी–
क्यान्टिनमा
चउरमा
रेस्टुराँमा
वा कुनै अल्छीलाग्दो सभा–समारोहका पछिल्ला लहरहरूमा ।
सहरका राता–पहेँला अखबारहरू
निरीह ज्यापूको आलुको भाउमाथि घुरिरहेका छन्
पजेरो, आचारसंहिता र निर्वाचन आयोगप्रति चुइँकिरहेका छन्
पानी, बिजुली, खसीको मासु र ग्याँसको मूल्यादिमा
स्वयं सत्ताभोगीहरूझैँ गिड्गिडाइरहेका छन्/हिनहिनाइरहेका छन्
अपसोस–
कहीँ छैन– प्रोफेसर शर्माको असामयिक मृत्युको खबर !
कसलाई थाहा छ–
प्रोफेसर शर्मालाई मिसेज शर्माले छोड्नुका कारणहरू ?
डेरा सर्दा–
प्रोफेसर शर्माले एक ट्रक पुस्तक किन बेच्नुभयो ?
हिँड्ने बेलामा–
खुद्रा पसलेलाई किन पटकपटक नमस्कार गर्नुभो ?
प्रोफेसर शर्मा–
(जसले मलाई एक असल कवि बनाउनुभयो कवि)
अद्यापि,–
म सम्झिरहेको छु
एकनास सम्झिरहेको छु–
कमरेड…को भूमिगत ताजा प्रणय–प्रीतिभोज
र
प्रोफेसर शर्माको दमको दीर्घरोग !