नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।
उसलाई सबभन्दा
धु्रव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
धु्रव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी घोकेर सुतेको रात होस्
धु्रव तारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।
ऊ
नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हुल नानीहरू रमाउँदै आए–
‘माझी दाइ…माझी दाइ
हामीले ताराको गुहु भेट्यौँ ।’
पालै–पालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
‘ताराको गुहु ढुङ्गाजस्तै हुँदो रहेछ ।’
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।
अब त ऊ
धु्रव तारा झिकीछोड्ने अठोट लिएर
वार पार गर्नेहरूलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
‘माझी दाइ…माझी दाइ
हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।’
वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
धु्रव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ…कहाँ पुर्यायो
भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्को हल्ला चल्यो–
‘नदीमा
रहरलाग्दो जून पनि डुबेको छ ।’