अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यी जन्तीजस्ता पर्वत
चराको माला
बुकी र बतास
यी सनईजस्ता भन्ज्याङ
लोकन्ता खोला
गोधूलि र मौनता
यी मान्छेका आदिम र आधुनिक दुःखहरू
कसैलाई थाहा हुनेछैन ।
अब म तिमीलाई यहीँ छोडेर जान्छु !
मलाई खोज्दाखोज्दै
कुनै प्रिय दिन तिमी मर्नेछौ
कुनै इतिहास बन्नेछैन – त्यो
मृत्युपर्यन्त पनि भेट्नेछैनौ मलाई
कुनै युग
कुनै काल
कुनै जन्म
मेरो मन फर्किनेछैन – कहिल्यै ।
पगली !
अब म तिमीलाई यहीँ छोडेर जान्छु !
यहीँ
बस यहीँ
यो तिम्रो सिउँदोमा बजिरहेको मेरो आलो रगतको बाँसुरीमा ।