Diyesh Ratna Shakya – Ma Kun Parichaya Diun

दियेश रत्न शाक्य – म कुन परिचय दिउँ ?

तिमीले मेरो परिचय
बिर्से जस्तो छ
अथवा
तिमीले मेरो नयाँ परिचय
खोजे जस्तो छ

`बहादुर,कान्छा ,गोर्खा ´
यी सबै तिमीले सम्झिने नाम मात्र हुन्
मेरो परिचय किमार्थ होइन
तिमीले हिमाललाई हेरेर
मलाई चिसो रगतको
ठोकुवा गर्‍यौ भने त्यो गल्ती हुनेछ
तिमीले पहाडी नदीलाई छामेर
मलाई उस्तै चिसो ठान्यौ भने
त्यो गल्ती हुनेछ
किनभने म त पुर्खौदेखि
रगत उम्लिएको मान्छे हूँ
रगतभित्र आगो गुडिरहेको मान्छे हूँ
हो उहीँ आगो जसले
मायामा सेकाउँछ,
भोकमा पकाउँछ
बिरोधमा जलाउँछ

यो आगोमा धर्म जोड्यो भने
-आरती बन्छ पशुपतिनाथ,मुक्तिनाथ
वा जानकी मन्दिरमा जस्तै
-शान्तिदीप बन्छ लुम्बिनीमा जस्तै
यो आगोबाट धर्म खोस्यो भने
डढेलो बन्छ,मात्र डढेलो

हो म आगो हूँ
र आगो कहिले सानो हुँदैन
झिल्को,अगुल्टो वा मुस्लो
मसाल,फिलिङ्गो वा दियो
र अहिलेलाई यत्ति सोध्न चाहन्छु
तिम्रो ब्यवहारको प्रत्युत्तरमा
म भित्रको कुन आगोको परिचय दिउँ?