Diyesh Ratna Shakya – Jajarkot

दियेश रत्न शाक्य – जाजरकोट

सुन्दैछु जाजरकोट
भोकैभोकले गल्दैछ
रोगैरोगले ढल्दैछ
र पनि चिन्तामग्न छैनन्
शोकमग्न छैनन्
सिंहदरबारका कोटधारीहरू

के उनीहरू म्याद गुज्रेका
जनता हुन्
खाद्य संस्थानको डिपोमा
सडेका चामल जस्तै
एक झोला यही चामल पाउने आशामा
उनीहरू आफ्नो तागत
बिकासे नारा खोप्न
चट्टानसंग जुद्धै सकाउँछन्
र बचेका केही तागत
कोशौ पर यार्चाको खोजीमा
पहरासंग लडीबुडी गर्दै सकाउँछन्

र यतिखेर महामारी
बस्तीबस्ती पसिसक्दा पनि
प्रत्येक छिमेकबाट दिनहुुँ
लास उठाइ सक्दा पनि
एक चक्की सिटामोल
एक पुरिया जीवनजल
प्राप्तिको अधिकारको लागि
उनीहरूको बुलन्द आवाज घन्किएको छैन
आग्रहको चिच्याहट सुनिएको छैन

यस्तो लाग्छ
दिनदिनै ढलेका आफन्तजनको शोकमा
रुँदारुँदै तिनका आवाज सुकेका छन्
अथवा
समबेदनाको बजारमा सान्वना पिएर
जिउने उपाय उनीहरूले जानेका छन्
यो पनि हुनसक्छ
उनीहरूलाई थाहा छ
जाजरकोट सुदुर पश्चिम हो
जहाँ हरेक दिन
यो देशको
केवल अस्ताउने घाममात्र झुल्किन्छ

यही नै धमिलो घाम ओढेर भएपनि
प्वालैप्वाल परेका छतबाट
चुहिरहेको रातको चिसो
छलाउने जोहोमा
आफूलाई अलमलमा राखेर
हरेक दिन पीडा भुल्न बाध्य छ जाजरकोट

(अक्षरमार्गमा प्रकाशित )