Diyesh Ratna Shakya – Sakshatkar: Temple of Heaven Sanga

दियेश रत्न शाक्य  – साक्षात्कार: टेम्पल अफ हेभनसंग

एउटा चीनिया किसान
तिमीसंग असल बाली मागिरहेछ
म मागिरहेछु
एउटा साक्षात्कार
मात्र एउटा साक्षात्कार

बेइजिङको थुम्कोमा यसरी उभिदिएर
तिमी साक्षी बसेका छौ
बिगतदेखि बर्तमानसम्म
माला जस्तै गाँसिएका पुस्ताहरूको
प्राचीनदेखि अर्वाचीनसम्म
नदी जस्तै अविरल बगिरहेका युगहरूको

तिमीकहाँ एकोहोरो सोहोरिएको छ
बेइजिङ भरिको हाटबजार
र यो भीडमा
कोही पनि खाली फर्केका छैनन्
तिमीलाई छामेर इतिहास बुझ्न खोज्नेहरू
तिम्रो रंगले जीवन रंगाउन खोज्नेहरू
रमाइरहेकै छ्न् बैँस टेकेकाहरू
सेल्फीभित्र तिमीलाई छिपाउँदै
नाचेरै रमाइरहेछन् बैँस बिसाएकाहरू पनि
आँखाभित्र तिमीलाई सजाउँदै

आफ्नो गर्विलो भेषभूषामा
मोहक नृत्य पस्किरहेछन्
प्रान्तीय नर्तकीहरू
बसन्तधूनको उल्लास गुन्जाइरहेछन्
एक हूल स्थानीय कलाकारहरू
महक सुवास थपिरहेछन्
बगैचाभरिका सुशोभित फूलहरू
मानौँ स्वर्गको एक टुक्रा
यहीं कतै खसेको छ

म देखिरहेछु
तिम्रोलागि जवानी फर्काउन
बिहानी कसरतमा जुटेका छन्
प्रौढहरूको समूह यत्रतत्र
आउँदो युगान्तरसम्म पनि
तिमीलाई यसरी नै बलिष्ठ उभ्याउन

आँखाभरि यी नै दृश्यले
मदमस्त भएर
म उत्सव जनाइरहेछु
नानीभरी न्यातपोल नचाएर रमाइरहेछु
फ्याँक्दै आशाको माछी जालो
कतै यी नै गोलाकार प्यागोडालाई भरेङ बनाएर
आइपुग्ने हुन् कि महान् अरनिको
बेइजिङ्को धमिलो आकाशबाट
अथवा
बेइजिङ्को ब्रान्ड आम्बेसडर
यो विशाल मन्दिर भित्रबाट
कतै मैले चाहे जस्तो
जीवन्त साक्षात्कारको लागि
बोलाहत आउने पो हो कि?
म यो भीड बीचमा पनि
एक्लो छुट्टै गम खाइरहेको छु
एक्लो छुट्टै रमाइरहेको छु

(अक्षरमा प्रकाशित)