Kabin Basnet – Aakash Ma Bilaya

कबिन बस्नेत – आकाशमा विलय

तिमी जतिसुकै
विगतको चिहानमाथि नयाँ फूलहरू फुलाउने प्रयास गर,
तिमी जतिसुकै
आँसुलाई हाँसोहरूसँग साट्न खोज,
वसन्तले रङ्ग भरेका यी संसारीक फूलहरूको कौमार्यलाई
शिशिरको तुषारोले नङ्ग्याएरै छाड्छ ।
जिजिविषाहरू चुलिदै जान्छन्,
सपनाहरू जो पुरा हुनेछैनन् सायद कहिल्यै पनि
खप्टिदै जान्छन्
पत्रेचट्टान जस्तै ।

के तिमीहरूलाई थाहा छ ?
मभित्र एउटा सानो आकाश बाँच्छ,
निश्चल, निर्मल, निर्लिप्त
यो आकाशमा सर्वशक्तिमान समयको पनि केही चल्दैन,
यो आकाशले विश्वयुद्धले नदेखेको बबन्डर पचाउन सक्छ,
यो आकाशको पक्षमा म पनि हेमलक पिउन सक्छु,
कालकूट पिउन सक्छु,
दु:खको सगरमाथा एकै सासमा चढ्न सक्छु,
र, फूलझैँ हाँस्न पनि सक्छु
मेरो आकाशको त्यो फूलको अघिल्तिर
शिशिर पनि हार खाएर फर्किन्छ ।

एकदिन,
मसँगै मेरो अस्तित्व पनि
यै आकाशमा विलय हुनेछ,
मेरो विलयसँगै म झुल्किनेछु
तिमीभित्रको यस्तै आकाशमा
तारा भएर अनन्तसम्म
दिगदिगन्तसम्म ।