Diyesh Ratna Shakya – Ma Parkhal Bhitra Ko Euta Patra

दियेश रत्न शाक्य – म पर्खाल भित्रको एउटा पात्र

म लज्जाले निहुँरिन्छु
हिनताबोधले चिथोरिन्छु
जब म उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू
र पाउँछु आफूलाई
एउटा विवश कैदी पात्र

अगाडि उभिएको छ
-आशक्तिको पर्खाल
कतै टाढा जानबाट छेक्दै
-घृणाको पर्खाल
नजिक आउनबाट रोक्दै
म देखिरहेको छु
जडसूत्र उभिंदैछन्
संस्कार/ परम्पराका पर्खालहरू
अग्निसूत्र बर्साउँदैछ्न्
बिचार/बादका पर्खालहरू
हरियो झण्डा उचालिरहेछन्
जाति /सम्प्रदायका पर्खालहरू

म उभिएको धरातलमा
आज पर्यन्त पनि
उत्तिकै जारी छ
यी सबै पर्खालहरूको ऎक्यबद्ध प्रयास
तराई झैं फिँजिन
पहाड झैं अग्लिन
हिमाल झै चुलिन
र फैलाइरहेछ
एउटा मेलाको साम्राज्य
जहाँ कारोबार भइरहेछ
गुणस्तरका नक्कली प्रमाणपत्रहरू
बिज्ञापनका नाङ्गा चित्रहरू

पर्खाल पर्खाल नै हो
यसका करतुतहरू
अखबारभरि छरिएका छन्
टिभीका काँच पर्दामा
उजागर भएका छन्
साथै यसको बिरुद्ध हरदम बजिरहेको छ
एफएम रेडियोमा बिद्रोही गीत
र पनि झन थपिंदो छ पर्खालहरू
हुकुमका भरमा/आदेशका भरमा
नाराका भरमा/आवेगमा भरमा
एक निमेषमै

एउटा छिमेकी जस्तै
जतिसुकै संगै बसेपनि
म र पर्खाल
अलगअलग धार हौं
यसैले
मैले सुरक्षा अनुभूति गरिरहेको छैन
पर्खालहरूको परेडमा
मैले आफ्नो नारा मिसाउन सकिरहेको छैन
पर्खालहरूको जुलुसमा
र म रमाउन सकिरहेको छैन
पर्खालहरूको क्याट्वाकमा

मैले सुन्न चाहिरहेको आवाज त
बर्लिन पर्खाल झैं
यी सबै पर्खालहरू
एकपछि अर्को
चकनाचुर ढालिरहेको
ज्यावलहरूको आवाज हो
ताकि मैले फेरि सुनाउन नपरोस्
म लज्जाले स्खलित हुन्छु
जब उफ्रन सक्दिनँ
होचा होचा पर्खालहरू

(थाय् भु-४,नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रकाशित)