कबिन बस्नेत – लाटो
म लाटो हुँ ।
बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु ।
हाटबजारका
प्रत्येक आलु, प्याज र गोलभेँडाको मोलमोलाइमा
ढक र तराजुका पल्लाहरूसगँ
म सधैं पराजित हुन्छु ।
मुल्यवृद्धिका तहहरू छिचोल्न असमर्थ
मेरा पाइलाहरू लुइँलुइँ हिँड्छन्,
मेरा चप्पलहरू चुइँचुइँ रून्छन्
मुलबाटोको सिमान्तकृत बटुवा
म चोरबाटोहरू ठम्याउदै बाठो हुन जान्दिनँ ।
मोलम्बा लेपिएका संवादहरूलेे त्रसित
विवश लाटोकोसेरोको मानसिकता बोकेर
प्रतिक्रियाहीन, उत्तेजनाहिन
म यसैगरी सधैँ लुरूलुरू लाटो गतिले
एकसुरले हिँड्छु आफ्नै बाटो
जसरी आज हिँड्दैछु
र, सम्झिँदै छु
मधुमासको सुगन्ध जस्ती मेरी श्रीमती
( उसलाई मैले नयाँ साडी किनिदिने बाचा गरेको थिएँ )
बालसुलभ उत्साहले तरङ्गिदै,
आफैसगँ दङ्ग पर्दै
म एउटा पब्लिक बस चढ्छु ।
( दाई…? भाडा पाऊँ न ? )
ओहो ….!
मेरो वालेेेट….?
हरे….! म कति लाटो मान्छे
पत्तै नपाई
पाकेटमारको पन्जाले चुँडिसकेछ,
मेरो वालेेट
जसमा टम्म थिए श्रीमतीलाई नयाँ साडी किनिदिने सपना ।
डेरा पुग्नासाथ
मेरी श्रीमतीको अघिल्तिर
म रित्तो खल्ती फर्लक्क फर्काउछु,
र, मेरो लाटो करामतको बेलिबिस्तार लगाउँछु
मेरी श्रीमती ओठ लेप्राउदै
दैलोमै थचक्क बस्छे,
हातका चुराहरूले निधार ठोक्दै
आफ्नो दुर्भाग्यलाई सक्दो सराप्छे
मेरो लाटो चेतनालाई धिक्कार्दै रून्छे ।
म घोसेमुन्टो लाउदै
उसका प्रत्येक गुनासोहरूलाई स्वीकार गर्छु
सायद सदृश पीडाबोधले म पनि उसँगै रून्छु
प्रस्तरको मूर्ति जस्तै निर्वाक, अचल
म उसलाई ढाडस दिन सक्दिनँ,
भुङ्ग्रो जस्तै तात्तिएर
वर्तमानको विरूद्ध उठ्न पनि सक्दिनँ
किनकी
निहत्था, निरीह
म लाटो हुँ ।
बोल्न नसकेर होईन
जमाना अनुसार चल्न नसकेर
म लाटो भएको छु