Kabin Basnet – Kunai Din Yesto Pani Aaunechha

कबिन बस्नेत – कुनै यस्तो दिन पनि आउनेछ

अराजक बस्तीहरूमा
सिमलका भुवाहरू जस्तै
मागका पर्चाहरू आबाद छन् ।
हामी वीर गोर्खालीहरूका सन्तान
भी.सी. नजित्नेहरूको बलिदान
तथापी सोधेनौ हामीले इतिहाससँग कहिल्यै पनि
त्यो बलिदानको मूल्य,
नाथे अश्रुग्याँसको धूवाँले हाम्रो आखाँ रसाउदैन ।
एक थोपा रगतले कोरिदैन
क्रान्तिको मानचित्र ,
क्रान्तिको शङ्खघोषले आकाश छुँदा
रक्तरञ्जित वर्षा हुन्छ
र, हाम्रो बस्ती निथ्रुक्क भिज्नुपर्छ ।
रूनुपर्छ सयपत्री र सुनाखरीले
शहिदहरूको आँसु ।
आउ ! भत्काऔँ रूढीग्रस्त पर्खालहरू!
मेटाऔँ संकुचित पाइलाका डोबहरु !
मृत्युभन्दा जीवनले त्रसित छौँ हामी ,
हामीले उन्मुक्तिका ज्वारहरूसँग
बगरका ढुङ्गाहरू साटिरह्यौ ,
ए बगरमा जीवनको भारी बोक्ने मेरा साथीहरु !
म आव्हान गर्दै छु
च्यातौँ, जलाऔँ
झुत्रो इतिहासका पानाहरुलाई
कुनै यस्तो दिन पनि आउनेछ
कि हामीले जलाएको इतिहासको
खरानीको गर्भबाट
जन्मिनेछ एउटा फिनिक्स चरो
जसले सुनौलो घामको प्रभातमा
स्वतन्त्र उडान भर्नेछ
हाम्रो छोराछोरीहरूको निमित्त ।

– देवीनगर, बुटवल