Kabin Basnet – Usko Bhannu Kehi Chhaina

कबिन बस्नेत – उसको भन्नु केही छैन

ऊ फेरि आईपुग्यो
पिठ्युँमा घोषणा-पत्रहरु बोकेर
आन्दोलित समयको उदिग्नतासगैँ बगेर
ऊ केहीबेर उभिरह्यो
उपेक्षित शालिकको छाँयासँगै बसेर
हेरिरह्यो-
उसको नाकैमुन्तिर
चार थान सुकिला बोलेरोहरू
धुलो छ्याप्दै ओझेल भए ।
दृश्यबोधमा ऊ,
ऊ दुरदर्शक थिएन
ऊ पारदर्शक होइन
ऊ मुकदर्शक भईसकेछ ।
मुकदर्शक, अर्थात्
उसको भन्नु केही छैन ।

राफिलो सडकका बान्कीहरूमा
चिसा खल्तीहरु सुम्सुम्याउँदै
ऊ निधारका गाँठोहरु फुकाउँदै थियो ।
खै ? कहाँ छुटे ?
सहृदयी हातहरु
किन साँघुरिँदै छन्?
मायालु टेको अडिने अग्रगामी अँगालोहरू
एउटा असंगत सत्यको अविर्भाव !
यौनबजारका बिचौलियाहरूलाई
प्रेमको पाठ पढाउनु ?
बोझिल आँखाहरूमा
सपना कैद छ-
माखेसाङ्लोमा,
निकास बनेर
कुनै प्रोमिथियस आईपुगेन
आग्नेय फिलुङ्गो लिएर ।

उसले निर्णय लिइसकेको छ –
महाभिनिष्क्रमणको कसीमा
ऊ खाडी मुलुकको बोर्डिङ पाससँगै उभिनेछ ।
सलिचासगँ इमान साट्नेहरूलाई
उसको भन्नु केही छैन ।

– देवीनगर, बुटवल