Kabin Basnet – Dobato Samma Aaipugda

कबिन बस्नेत ‘सिउँडी’ – दोबाटोसम्म आईपुग्दा

दोबाटोसम्म आईपुग्दा
हामीसँगै साँझ पनि अलमलिरह्यो,
एक कप चियाको निहुँमा ,
विभाजित थियो समय –
माछिकाँडे केशविन्यासका केस्रा-केस्राहरूमा ,
प्रत्येक फूलहरू
दिंग्भ्रमित यात्रीझैं
सोध्दै थिए आकाशसँग
फक्रिनुको अर्थ
र, प्रत्येक चराहरु
गाउदै थिए-
अनन्तको गीत ।

दोबाटोसम्म आईपुग्दा,
डुब्नै बिर्सेर
घामले चियाउदै थियो तिमीलाई
ईर्ष्याको विस्फोटले घाइते म
म चाहन्थे-
घामलाई हत्केलाले छेकिदिउँ
म चाहन्थे-
बादलका स-साना धर्साहरूले
क्षितिजका पाना भरि-भरि लेखिदिउँ आज
एकोहोरो प्रेमको गाथा
तर,
विवश म
दोबाटोको देवल जस्तै ,
आखाँहरू साक्षी राखेर
आँसुको पारदर्शी पत्रभित्र
लुकिरहेँ
मौन स्वीकृतिको प्रतिक्षामा
हेरिरहेँ, हेरी मात्र रहेँ
तिमीलाई , अनि
यूक्ल्याप्टसका लामा-लामा पातहरूलाई
जो हल्लिदै थिए
हावासँगै,
तिम्रो बिदाईका हातहरुसँगै !