कबिन बस्नेत ‘सिउँडी’ – प्रश्नहरू
वसन्तहरू
टाउकोले टेकेर
भास्सिएछन् मुग्लानतिर ।
ज्ञानप्रदत्त ओठहरु
दोहोरीसाँझका नियोन-बत्ती पिइरहेछन्
डबल ब्ल्याकका चुस्कीसँगै।
उनीहरु अब गाउँ फर्किदैनन् ।
के दोहोरी पनि अब गाउँ फर्किदैन ?
काल पर्खेकाहरू
हिउँदको चिसो सिरेटो भर्दै
फोक्सो भरि-भरि
गइरहेछन् देवीदेउरालीहरूको मलामी ।
ढिकीजाँतोहरूमा जिवित छ
अहिल्याको आत्मा
रामहरू अझैं फर्केका छैनन् ।
गल्छेडो तिर्खा मेट्दैछ मिनेरल वाटरले ।
पँधेरो ?
ऊ त गाउँको खण्डहर बाँचिरहेछ ।
किन हाँस्दैन गुराँस ?
किन मौन छन् सुबी र जुरेलीहरू ?
कहाँ हराए खर्कका चौरीहरू ?
किन दिउँसै सुतिरहेछ मेरो गाउँ ?
कसरी अनिलो भयो आज
मेरो गाउँको माटो ?