दियेश रत्न शाक्य – सुनकोसीमा एकदिन
म यतिखेर
सुनकोसीसंगै सलल बगिरहेको छु
राफ्टिङ डुंगामा
र मसंग
एउटा हल्लाखोरहरुको जमात छ
प्रत्येक डरमा
प्रत्येक खुसीमा
संगै चिच्याउनको लागि
पानी कसम!
म सुनकोसीको पानी छोएर भन्न सक्छु
म यहाँ सुन होइन
प्रेम खोज्न आएको छु
तिम्रो कन्चन चिसो पानीको
काउकुतिले जगाउने प्रेम
जसै यो डुंगा
खस्छ ससानो उचाईबाट
सर्लक्क छोपेर चिसो छालले
अँगालो मारेर लगाउने
अनुपम प्रेम
म देखिरहेको छु
सुनकोशीको पानीमा जवानी छ
यसैले त उ
कुदिरहेको छ
उफ्रिरहेको छ
र पटक्कै रोकिएको छैन
जतिपल्ट चट्टानमा ठोक्किए पनि
बरु आफ्नो वेगले सजिलैसंग
बाधा नाघेर
यात्रामा लम्किरहेको छ
गन्तव्यमा लम्किरहेको छ।
यस्तो लाग्छ
उ मलाई पाहुना सम्झेर
आफ्नो मुकाम/घरसम्म पुर्याउन
हतार गरिरहेको छ
र कत्ति पनि पछाडि नफर्किकन
पुरा शक्तिमा
पुरा वेगमा
पूरा आवाजमा
अविरल बगिरहेको छ
मानौं मलाई साक्षी राखेर उ
केही देखाउन खोजिरहेछ
वा केही सोध्न चाहिरहेछ
किन उ यही भर्जिन स्वरुपमा
गन्तव्यमा पुग्न सक्तैन ?
म डुंगामा आसन जमाएर
सुनकोसीको आतिथ्यतामा
अनन्त रमाइरहेको छु
र हातले प्याडल नचाउँदै
गाइडको कमान्ड मानिरहेको छु
फरवार्ड! अल ब्याक!
सेट डाउन !सेटब्याक!..
र सेताम्य छालहरूसंग खेल्दै
सुनकोसीसंगको
प्रत्येक सुनौलो क्षणलाई
हृदयको फोटो फ्रेममा
सजाउँदै गइरहेको छु
तर मलाई एउटै डर छ
सुनकोसीको अन्तिम गन्तव्यसम्म
म कसरी साथ दिन सक्छु?
त्यो धैर्य र साहस
म कसरी जुटाउन सक्छु?