दामोदर पुडासैनी किशोर – बाटो
मान्छेलाई नयाँ ठाउँ पुर्याउँन
र,मान्छे मान्छे भेट गराउँन
खनिरहनुपर्छ मैले नयाँ बाटो
पहाडहरूलाई निरन्तर
खोप्दा खोप्दा
छिना,घन र जिलेटिनहरूले
स साना धर्साहरू बनाएँ मैले
र,ब्युँझाएँ बेग
अनन्त चुचुराहरूभन्दा अझ पर
बाटो नखन्दा
पर्खाल उभिइरहेथे पहाडहरू
पर्दा उभिरहेथे जल र थल
बाटो खनेपछि
बाटो आफैं उभिंदोरहेछ
कित्ता कित्तामा स्वागतद्वार
आमाको पेटदेखि
बाटो पहिल्याउँदै आएकोछु
नयाँ बाटो खन्न नसकेको बेला
म आफैँ जम्नेछु ढुँगा बनेर
मलाई ढुँगा बन्ने रहर छैन
मैले भनेको मान्छ्यौ भने
तिमीले पनि
कहिल्यै सँगत नगर्नु
ढसमस्स उभिरहने ढुँगाहरूको
मलाई
बाटो खनिरहने मान्छेहरू
र,बाटोमा हिँडिरहने मान्छेहरू
सबैभन्दा प्यारो लाग्छ !
-शिरबिण्डे ,डोल्पा
(२०७५असौज २१गते नेपाली सेनाद्वारा निर्मित जाजरकोट डोल्पा सडक निरीक्षणको क्रममा दुनै,त्रिपुराकोट र शिरबिण्डे क्षेत्रको निरीक्षण र सोही अवसरमा रचिएको कविता र त्यसै दिनका तस्बिरहरू )