दामोदर पुडासैनी किशोर – चितवनमा घामको मृत्यु
बुढा रूखहरूले
दाह्रा र नँग्राहरूसँग
लडदा लडदै
सिध्द्याए सबै
औला ,हात ,खुट्टा र शरीर
र ,सिर्जिए जमिनमाथि एउटा कोलाज
उनीहरूका जराहरू भने
आफै उभिएको माटो बिर्सेर
निर्माण गर्न लालायित छन्
खरानीका पहाड ,काँडाका पुल र क्रुर सालिकहरू
पसिना होइन
आँसुको गन्ध आइहेछ
उल्टो बगेको नारायणीबाट
एउटा स्वघोषित बादसाह
जुम्राका खुट्टा गनिरहेछ
पुराना जडाउरीबाट
घाम आकाशमा होइन
लुक्न खोज्दैछ
साँप र मुसा लुक्ने
गहिरा दूलाहरूमा
एउटी अबोध चमेली बृक्ष
चिच्च्याउँदा चिच्च्याउँदै
अनुबाद भएकी छे
बाचाल ढुँगाहरूमा
गोयवल्सहरू
कुरा ओसारपसार गरेबापत
पाएका
हड्डीका टुक्राहरू चपाएर
भव्य भोजको
लेखिरहेछन्
एउटा कुरूप पटकथा
भर्खरै
आत्महत्या गरेकोछ
घामले
मान्छेहरू
मृत घामलाई
उज्यालोले सेकाउंने
तर्खरमा छन्
-भरतपुर ,चितवन
२०७५ कार्तिक १५ गते