दामोदर पुडासैनी किशोर – जेरूसलेमसँग पहिलो प्रेम
फूल बनेर फूल्ने भए
मन त ढुँगाकै हुनु जाति
धूपीका चहकिला पातहरू
र जैतुनका बादलु हाँगाहरू
तिम्रा जाँगरका गीत गाइरहेछन्
जाँगरको अघिल्तिर
हारेका छन् चट्टानहरू
र ब्युँझेकाछन्
आदिम युगदेखि
ढुँगासँगै निदाइरहेका
माटोका केस्राहरू
निदाउँन पाउँनेछैन कोहीपनि
नीलो आकाशमा
बादलका भूल्का बनेर
मन्त्रबर्षा गर्दैछन्
ढुँगाबाटै ब्युझेका चराहरू
नीलो आकाशमा
नवीन चित्रहरू कोर्न सक्ने हो भने
मन त
ढुँगा कुदेरै
बनाएको जाति
कहाँ छोड्न मिल्छ र मनलाई
पानीजस्तो बग्न दिएर
कहाँ जम्नदिनुहुन्छ र मनलाई
हिउँका ढिक्काहरूझैँ कठ्याँग्रिएर
उजाड भनेर छोडेका बन्जरहरूमा
मन ब्युँझाउँन सके पो
गहनामा अनुबाद हुन्छन् ढुँगाहरू
म ढुँगा टुसाएको प्रेमको खोजीमा थिएँ
जेरूसलेम !
ढुँगा फोरेर प्रेमको गीत कोरिरहेका
तिम्रा तीखो स्वरका स्काईलार्कहरू भेटेर
ढुँगा बनेर निदाइसकेको मेरो मन पनि
फेरी एक पटक
छ्याँग ब्युँझेको छ
र गाउँन शुरू गरेको छ
कडा चट्टानबाट बुँझेको अमर गीत
ढुँगाको मनमा प्रेमका अक्षरहरू
कोर्न सकिँदो रहेछ
प्रेमका नवीन परिभाषाहरू
जेरूसलेम फेरि एकपटक खोदेर हेर
तिम्रा हरेक ढुँगाहरूमा
तिमीले जस्तै प्रेमका नवीन शिलालेखहरू
लेख्न शुरू गरेको छु
-२०७५ फागुन २६ आइतबार(२०१९ मार्च १०)
प्रिमा किँग्स होटल,जेरूसलेम,इजरायल