दामोदर पुडासैनी किशोर – ब्यूँझेको जेरूसलेम
हिजो साँझ
सँगै सुतेका थियौँ हामीदुई
तिमी भने
किन अबेर उठ्यौ आज बिहान ?
मीठा सपना कोर्नेहरू
ढिला उठनेरै’छन्
मान्छेहरू नबुझेरै
घोषणा गरिदिँदारहेछन्
चरम निद्राको
ब्यूँझदा
सपनाहरू जन्माउँदोरहेछ्यौ तिमीले
ब्यूझँदा सपना कोरल्न सक्नेहरू मात्र
बाँच्दारहेछन् निरन्तर
म ब्यूँझदा
बुध्द जन्माएको थिएँ
तिमी ब्युँझदा
हुर्काएकी थियौ
येशु र पैगम्बरलाई
समयको नदी
धेरै लामो बगिसकेकोछ
अब जन्माउँनुपर्छ हामी दुबैले
जाती,धर्म,भूगोल र रँगको
कुनै धब्बाबिहिन
एउटा बेगवान निख्खरा मान्छे
अँध्यारो च्यातेर
ब्यूँझन्छु म हरेक बिहान
तिमी त
ज्योति बोकेर ब्यूँझनेरै’छ्यौ
ब्यूँझनुपर्छ
ब्यूँझनेहरूनै भेटिन्छन् कतै न कतै
जस्तो कि
आजको यो महान बिहानमा
भेट भएको छ
तिम्रो र मेरो
दोभानबाटनै त शुरू हुन्छन्
नयाँ नयाँ सपनाहरू
रात र दिनको दोसाँधमा
लेख्न थालेकाछौँ हामी दुईले
नजिकको समय मुठ्ठीमा च्यापेर
टाढासम्म सँगै हिँडने
एउटा उज्यालो र नवीन कथा
जेरूसलेम
यो बिहान केबल तिम्रो लागि हो
अरू कसैको लागि हुनै सक्तैन
२०७५ फागुन २७ सोमबार
(२०१९ मार्च ११)
प्रिमा किँग्स होटल ,जेरूसलेम,इजरायल
Sent from my iPhone