Damodar Pudasainee – Numafung Ko Tongba Bhatti

दामोदर पुडासैनी किशोर – नुमाफुँगको तोँबा भट्टी

देश
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेको होला
लोकमार्गका गन्तब्यहरू
किन नुमाफुँगको तोँबा भट्टी बन्न नसकेका होलान्
नेता,प्रशासक,प्राध्यापक,लेखापरीक्षक र कविहरू
किन नुमाफुँगमा अनुबाद हुन नसकेका होलान्
प्रश्नहरू
ओलाँगचुँगगोलाबाट फुँगलिँगतिर
हिउँका भुवा बनेर झरिरहेछन्
नुमाफुँगको भट्टीको छानामाथि
देशको एउटा झण्डा छ
तर ,कुनैपनि पार्टीका झण्डा छैनन् आँगन र मझेरीमा
त्यही कुम्भकर्ण पारीको पाथिभरा
जाने र नजानेहरूमा बिभाजन छ
भर्खर निर्माण गरिएका सँघ र प्रदेशहरूमा
राग गाइरहन्छन् बिभाजित रँगहरूले
नुमाफुँगको भट्टीको मझेरी र आँगनभने
लामो बाटोमाझको चौतारी न हो
रोकटोकटोक छैन
आउँनेजाने र मनको भारी बिसाउँने जो कोहीलाई
नुमाफुँगजस्तो न्यानु घाम
अरू कुनै छैन यो सँसारमा
नुमाफुँग जस्तो तीर्खा मेट्ने कँचन नदी
अरू कुनै छैनन् यो सँसारमा
शब्दको जँजाल भन्दा धेरै
स्नेहको सागर फिँजाउँन सक्ने तागत
नुमाफुँग बाहेक अरू कसैसँग छैन
करबीर हुन् नुमाफुँग
फिका फिका हुन्छन् उनका गाला र शिरमा
गुराँस ,चिमाल र सुनपातेहरू
पीरो बनेर अकबरे हुँकार पोख्नेहरूलाई
अचार बनाइदिन्छिन् नुमाफुँगले
कि सजाइदिन्छिन् बोतलहरूमा
कि चटाइदिन्छिन् गाँस गाँसमा
नुमाफुँगको तोँबा भट्टी अघिल्तिर
फिका फिका लाग्छन् सबै अड्डा अदालत
फिका फिका लाग्छन् सुरक्षा निकायहरू
बेकामका लाग्छन् ब्यबस्थापन र ब्यबसाय
सबै असत्य बोल्नेहरू
धमाधम सत्य बोल्न थाल्छन्
नुमाफुँगको तोँबा ओठभित्र झरेपछि
बर्षौ रातदिनको चिन्तनपछि
जीवनमा दु:ख छ र दु:खको कारण पनि छ
भन्ने बुझे गौतम बुध्दले
देशी बिदेशी काटाकाटबाट
रगतको खोलाले बगाउँन थालेपछि
अहिँसा आन्दोलन बुझे महात्मा गान्धीले
केही मान्छेले भोकलाई खेलौंना
र कयौँ मान्छेले भोकलाई आगो बुझिरहेको बेला
भोक सबैको साझा हुनुपर्छ बुझे
मार्कस्,लेनिन् र माओहरूले
सारा चिन्तन पछिका
नवीन दर्शनहरू विमोचन हुन्छन्
नुमाफुँगको तोँबा भट्टीमा
निवाफुँग एक्लै हुन्
आयोजक,उदघोषक,अतिथी,प्रमुख अतिथी र न्यायमूर्ति
त्यही मझेरीबाट निस्केको दर्शन र बिधान पो
मान्दै हिँडिँरहेछन् मान्छेहरू आजसम्म
पुरोहितहरू
ईश्वरको अघिल्तिर सबै बराबर भन्छन्
तर,पैसावाल र पदवाललाई
बढी प्रसाद र पूजाको नाटक रच्छन्
नुमाफुँगको भट्टी त
पूँजीबादको महान मन्दिर हो
जहाँ दाम लिएर भित्रिनेहरू
काम सकेर फर्कने गर्छन्
साम्यबादको सुन्दर तीर्थस्थल हो
जहाँ इच्छ्या र औकात हुनेहरू
रोकटोक छैन कसैलाई पनि
महात्मा ,मूल्ला ,प्रभु र भन्ते भन्नेहरूका
देखाउँने र लुकाउँने दाँत
फरक फरक भएको भेटिरहेछन् मान्छेहरूले
चेला चेली लुट्नेहरू
अझै नाटकका सँबाद बोलिरहेछन् उच्च आसनबाट
जे गर्छिन् त्यही बोल्छिन् निमाफुँगले
जीवनको यथार्थ रँग बुझ्न खोज्नेहरूले
ढोंगी पूजारीले ढाकिरहेको मन्दिर धाउँनुभन्दा
शब्द र अर्थ एकै ओकल्ने
नुमाफुँगको दर्शन खोजिहिँडे हुन्छ
नुमाफुँगको तोँबा भट्टी जत्ति पनि
किन बन्न सकेन हँ देश ?

२०७५ माघ १७ बिहीबार

मेवाखोला रिसोर्ट,फुँगलिँग ,ताप्लेजुँग