भाइ नरिसाऊ है तिमी / कुन्ता शर्मा
सङ्लो मन अनि स्वच्छ भाव लिएर
एकदमै चिन्तित हुँदै पिरोलिएर
छक्क परेर, अकमक्क परेर
आत्तिएर स्तब्ध भएर
तिमीसँग गर्दै छु कुराकानी
भाइ नरिसाऊ है तिमी ।
जवान नसाहरूमा मादक पदार्थ घोलेर
बिर्सेर यथार्थ, देशको सपना पोलेर
लर्खराउँदै बर्बराउँदै
लाज र घिन सबै पचाउँदै
कराउँदै चिच्याउँदै
असन्तुलित हुँदै पछारिँदै
डाङडाङ र डुङडुङ गर्दै
दिशाहीन भएर
किन कमाउँछौ दुर्नामी
भाइ नरिसाऊ है तिमी ।
तिमीलाई नशा गर्न छुट छ
जीवनको दुर्दशा गर्न छुट छ
मूल सडकमा नङ्ग्याउँदै सभ्यतालाई
दुष्टताको खुला प्रदर्शन गर्न छुट छ
हिंस्रक भएर जताततै भिड्न
कोमलतालाई टुक्रटुक्रा पारेर गिँड्न
सबै–सबै गर्न छुट छ
तन्नेरी नसाहरूमा विष घोलेर
माटाको सपना नराम्ररी पोलेर
किन फाल्छौ अमूल्य जिन्दगानी
भाइ ! नरिसाऊ है तिमी ।
अवचेतनाको अँध्यारो गुफामा बन्द
तिम्रो चेतनालाई
कसैले झक्झकाउन खोज्यो भने
अशिष्ट असभ्य बाटो त्यागेर
नयाँ र फराकिलो बाटो रोज्न भन्यो भने
कतै हान्ने राँगोजस्तो भएर
कतै टोक्ने चितुवाजस्तो भएर
बर्बर बन्दै, आतङ्कित बनाउँदै
गुमाएर सबै सन्तुलन
यन्त्रमानव भएर
नबिताऊ निन्दनीय जवानी
भाइ नरिसाऊ है तिमी ।
तिम्रो नसा–नसामा दगुरेको
यौवनयुक्त रक्तप्रवाहलाई
अनन्य ऊर्जा र
साहसयुक्त जवानीलाई
उडाएर विषाक्त धूवाँहरूमा
बिताएर समय दिशाहीन हिँडाइहरूमा
अनुत्तरदायी बन्दै माटाप्रति
आमाप्रति अनि भावी सन्ततिप्रति
नभत्काऊ शिष्टताको निसानी
त्यसैत्यसै ध्वस्त नपार जिन्दगानी
भाइ नरिसाऊ है तिमी ।
के छैन तिमीसँग ?
म हेर्छु, सबैथोक छ
तिम्रा सुपुष्ट अङ्ग–प्रत्यङ्गबाट
निः सृत हुने अखण्ड ऊर्जा छ
तिमीले चाहेमा, पसिना बगाएमा
पहाड बाध्य हुन्छ
एक ठाउँबाट अर्को ठाउँमा सर्न
नदी बाध्य हुन्छ
एक दिशाबाट अर्को दिशा बदल्न
सैरमण्डल पृथ्वीसँग अझ नजिकिन सक्छ
नौला–नौला ज्ञानको क्षितिज उघ्रिन सक्छ
नयाँ–नयाँ सम्भावनाको
अध्याय भेटिँदै जान सक्छ
मानव जीवनको विकटता
मेटिँदै जान सक्छ
अनभिज्ञ रहेर सबै कुराहरूसँग
नफाल यसै ऊर्जायुक्त जवानी
भाइ नरिसाऊ है तिमी ।
होम्ने भए आफूलाई
देशको नवनिर्माणमा होम
प्रदर्शन गर्दै आत्मबलिदानको
विकृतिको विनाशमा होम
बलिष्ठ काँधमा बोक युगलाई र
परिवर्तनका पर्वहरूमा होम
भुमरीजस्तो उठेर तरङ्गजस्तो लहरिँदै
सुन्दर, समृद्ध अनि स्वाधीन राष्ट्र–निर्माणमा होम
सङ्लो मन अनि स्वच्छ भाव लिएर
‘बहुजन हिताय’ मा बिताऊ जिन्दगानी
भाइ नरिसाऊ है तिमी ।