दियेश रत्न शाक्य – सगरमाथा अझ चुलिन चाहन्छ
नाघेर बादलहरूको घेरा
आज पनि
उस्तै चुलिएको छ सगरमाथा
अड्याएर आफ्नो शीर
नीलो आकाशमा
सजिएर सेताम्य पहिरनमा
उ दाबी गरिरहेछ
उ संग छ
सृष्टिभरिको शान्ति
दृष्टिभरिको कान्ति
र खुल्ला आमन्त्रण गरिरहेछ
साहसिक आरोहणको लागि
जति अग्लिए पनि
जति चुलिए पनि
उ घमण्ड पाल्दैन
र जमिन छोड्न मान्दैन
र कति पनि रोष पाल्दैन
यो देशको कानुनमा
मान्छे मात्र यो देशको
नागरिक भएकोमा
र कति पनि खेद जनाउँदैन
मान्छेमात्र यो देशको
बिभुति जनिएकोमा
बरु उ हमेशा स्वागतमा तल्लिन हुन्छ
चट्टानी साहस बोकेर
हिम आँधी र हिम पहिरोसंग जुध्दै
दु:साध्य
रेन्बो भ्याली र डेथ जोनसंग टकराउँदै
खुम्बु आइसफल्स र हिलारी स्टेपको
बाधा छिचोल्दै
पाइला पाइलामा
ज्यान हत्केलामा राखेर
आफूलाई भेट्न आउने
प्रिय आरोहीहरूको
उ लेखाजोखा राख्दैन
यो देशको परिचय क्रममा
कतिपल्ट उनको नाम लिइयो भनेर
बरु लामो मुस्कान छोडेर
दंग हुँदै खुशी जनाउँछ
एक युगको पर्खाइपछि
बल्ल यो देशको नोटको एक छेउमा
फोटो सजाउन पाएकोमा
ल्होत्से र नुप्त्से साक्षी छ
प्रत्येक आरोहीले ह्यामरले हान्दा
उसले चुम्बन मानेर खुशी जनाएको छ
प्रत्येक किलामा अड्याएको डोरीलाई
मायाको डोरी मानेर रमाएको छ
उ ठान्छ
नितान्त एकान्तमा
हमेशा कठ्याङ्गग्रीएर उभिरहेको उनलाई
आखिर कोही त
मायाको न्यानो लिएर भेट्न आएको छ
सफल आरोहणको
असीम खुसीमा
हजारौं जोर पाइतालाहरुले
आफ्नो टाकुरोमा उफ्री उफ्री
जति पल्ट थिचे पनि
अहँ उ होचिन मान्दैन
बरु अझ चुलिन चाहन्छ
ताकि धित नमरुन्जेल
बिना छेकबार
मज्जाले चियाउन सकोस्
यो सुन्दर पृथ्वी
जसलाई
जतिपटक नियाले पनि
यो सर्बोच्च उचाइबाट
उ देख्न सक्दैन
मान्छेले कोरेका
बिभाजनका सीमा रेखाहरू