Dipendra KC – Itihas Ra Aama

दीपेन्द्र के.सी. – इतिहास र आमा !

अगेनामा आफनै जीवन फुकेर
दुःखहरु जान्छन धुरीबाट
र, न्याना लाग्छन
छातीजस्ता भित्ताहरु ।

तिमी अगेनामा बस्नु
र, हामीहरु वरिपरि घेरिनु
माहुरीको घारमा
औधी सन्तोषको रौनकता भुनभुनाएर
घरभरी चँचलता दौडनु
इतिहासको खोंचमा उभिएर हेर्दा
भीर बोकेर उभिएकी छिन
र, दौडिएका छौं हामी जीवनको सम्म राजमार्गमा ।

एउटा अध्याय यहाँ पनि छ इतिहासको—
हयाँगरजस्ता लाग्ने करङहरुमा
टाँगिएका मैला कपडाहरु
हाम्रा सुकिला जीवनका अर्थहरु रहिछन,
उनको निद्रा अपहरण हुनु
र, छेउमा हामी ढुक्क निदाउनु
यी पनि हाम्रै सपनाका पहरेदारी रहिछन् ।

सम्झनाका नदीहरु बगाउँदै आँखाबाट
तर पनि अटाएकै छन्
हाम्रा भागका सपनाहरु
एक्लैबाट धेरै
र, टुक्रिएकर पनि फेरि एक्लै
हाम्रै राजमार्ग फराकिला पार्न लागिरहने
“आमा” !
त्यसै कहाँ बनिदोरहेछ र
“आमा” !
थाहा भयो
समयले गलहत्याएर इतिहासको चाङमा राखिदिएपछि ।
महानताको व्याख्या यसै हुन सक्दैन
छोराहरु आयोजित/प्रायोजित
औपचारिकताको आडम्वरी भेलामा ।

१६-०३-२०१६
बागलुङः हाल लुभेन बेल्जियम ।