दियेश रत्न शाक्य – समुद्री किनारमा उभिएर
निलो आकाश
निलो समुन्द्र
आपसमा टाँसिएर
युगौंदेखि गाँसिरहेछ
एउटा अटुट प्रेम बन्धन
नजाने कति हजार
सिल्भर जुब्ली पार गर्दै
यसले निखारेर उभ्याएको छ
प्रेमको महासौन्दर्य
यसैमा मोहित भएर टेकिरहेछु
सिंगापुरको यो भूस्वर्ग
मेरिना बे स्यान्डस्
समुद्री किनार
बिना बिश्राम
मेरा पाइला भेटाउन खोजिरहेछ
स्वप्नमय तिम्रो
प्रेमदृश्यको अन्तिम किनारा
बिना पर्खाइ
मेरो मन जान्न आतुर भइरहेछ
तिम्रो निश्चल प्रेमको
बास्तबिक गहिराई
जति नाप्न खोज्छु
म तिम्रो प्रेम
झन उति फिंजिएको पाउँछु
आफ्नो उँचाईले आकाश छेड्न खोज्ने
त्यो स्काइ पार्कभन्दा धेरै अग्लो
र मेरिना बे गार्डनका फूलहरुले
उन्नसक्ने मालाभन्दा धेरै लामो
म पोस्ट गरिरहेछु
फेसबुकका भित्ताहरूमा
स्नेही र पारखी
आँखाहरुको लागि
जादुमय यी प्रेमिल दृश्य चित्रहरु
एउटा अनुपम प्रेमको समर्थनमा
हजारौं लाइक र कमेन्ट जुटाउन
मलाई बिश्वास छ
तिम्रो हृदय बोकेका
यी दृश्यले
-पखालिने छ उनीहरुको मन
-उचालिने छ उनीहरुको जाँगर
र उभ्याउने छ
एउटा संबेदनाको शीतल समुन्द्र
एउटा आकांक्षाको उच्च आकाश
मलाई लाग्छ
एउटा सुन्दर सपना सजाउन
हाम्रा आँखालाई
एउटा सुन्दर दृश्यको
उत्प्रेरणा चाहिन्छ
र म दाबीको साथ भन्न सक्छु
यो समुन्द्री किनारमा
एकछिन उभिनु भयो भने
तपाईंले भेट्नु हुनेछ
यसैको खोजीमा
यो भूगोलको कुनाकुनाबाट आएका
हजारौं पाहुना आँखाहरू
जो आनन्दको घेराभित्र
र खुसीको सपनाभित्र
आफूलाई हराई राख्न चाहन्छ्न्