दियेश रत्न शाक्य – आगो बन्दैछु म
तिम्रो सत्ता उन्माद
र उत्पीडनमा
हदैसम्म पिल्सिएर
असहमति
र चरम असहमतिमा
म आगो भएको छु आगो
किनकी मलाई जलाउनु छ
निहत्था
मतिर सोझिरहेको बन्दुक
निमुखा
मलाई घोचिरहेको कानुन
केवल दुई छाक चुल्होचौकाकोलागि
आगो खोज्न हिडेको म
आज आफैं आगो बनेर फर्केको छु
आगो भएको छु आगो
म त शान्त हिमाल
हाँसेको देशको मान्छे
हिमनदी ,झरना र पानीको देशको मान्छे
यहीँको चिसोमा रम्न चाहेको मान्छे
यहीँको शितलतामा जम्न चाहेको मान्छे
रहर नहुँदा नहुँदै पनि
तिम्रो ब्यवहारले आज
झिल्कोबाट फिलिंगो भएको छु
आगो भएको छु आगो
म कहिल्यै स्वीकार गर्न सक्दिनँ
तिम्रो
-जयनेपाल परिभाषाभित्र
लुकेको भागशान्ति
-लालसलाम परिभाषाभित्र
छिपेको मुर्दाशान्ति
-परिवर्तन परिभाषामा
जमेको सत्ता समीकरण
हरेक दिन तिमीले सुनाउने गरेको
राष्ट्रबादभन्दा कयौं गुणा बढी
मलाई मेरो देशको माया छ
यसैले डर लाग्छ
कतै यो देशको पानीको
आयतनभन्दा बढी
म आगो बनेर फैलिएँ भने
कतै थोरै बचेको
” हरियो बन नेपालको धन”
डढेलोमा सकिए भने
कतै हिमाल पग्लिएर होचिएर
कालो कुरुप बने भने
र संगसंगै हाम्रो अग्लो स्वाभिमान
सर्लक्क ढले भने
त्यो गल्ती तिम्रो हुन्छ कि मेरो ?
त्यो पराजय तिम्रो हुन्छ कि मेरो ?