Abhas – Suren Babu

सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल बोक्ने गरेका छौ
साँझको गोधूलिमा
तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ
तिमीलाई थाहै छ
ढुकुरको रगत रातो हुन्छ
सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल चलाएका छौ
र अब सरकार पनि चलाएका छौ
सुरेन बाबु
भरखरै तिमीले
भोका आशालालहरूको भीडमा
आधुनिक मट्याङ्ग्रा चलाएका छौ
तिमीलाई राम्ररी दिव्यज्ञान प्राप्त भएको छ
तिम्रो मट्याङ्ग्राले
छाती छेड्दा निस्केको
भीडको रगत पनि रातो हुन्छ
सुरेन बाबु
अब रगतमा रङ्ग परीक्षण जरुरी छैन
प्राणीको धमनी र शिरामा बग्ने तरल रातै हुन्छ
सुरेन बाबु
यो पनि त निर्विवाद छ
भीडबाट कुनै मट्याङ्ग्रो
तिम्रो छातीमा बज्रियो भने
तिम्रो छातीको भुलभुले पानी पनि रातै हुन्छ ।