Kumar Kafle – Writ Dayar

कुमार काफ्ले – रिट दायर

न्यायमूर्ति!
प्रेम विश्वास हो कि घृणा
शक्ति भौतिक हो कि आध्यात्मिक
नारी श्रेष्ठ हो कि पुरुष
छोरा ठीक कि छोरी
देह शाश्वत हो कि आत्मा
बुद्ध ठूला कि क्राइष्ट
मोहम्मद पैगम्बर कि नारायण
राम राम्रो कि काम
नाम ठिक कि दाम?

महाशय!
गर्न हुने र नहुने
भन्न हुने र नहुने
ठीक र वेठीक
सत्य र झूटो
देह र आत्मा
नारी र पुरुष
छोरा र छोरी
स्वदेश कि परदेश
रीति कि कुरीति
कुन उचित कुन अनुचित
दुधको दूध पानीको पानी
छुट्टयाइपाँऊ!

महामहिम!
कुखुरा कि अण्डा
भाले कि पोथी
प्रेम कि यौन
विश्वास कि घृणा
सम्मान कि गुलामी
प्रकृति कि परमेश्वर
मान्छे कि पशु
अग्लो कि होचो
धर्म कि कर्म
कुन पहिलो कुन दोस्रो
कुन अब्बल कुन दोयम
सत्य निष्ठापूर्वक प्रमाण पुर्याई
छानबिन गरिपाँऊ!

श्रीमान्!
म सम्माननीय अदालतमा
रिट दायर गर्दैछु
विश्वास छ
तहाँको इजलासले
मेरो यावत्
अनुत्तरित प्रश्नहरूले
न्याय पाउनेछन्
र फेरिफेरि यस्ता प्रश्नहरूले
मेरो मथिङ्गल रन्थन्याउने छैनन्।

ओखलढुंगा