वैद्यनाथ उपाध्याय – सम्झनाको झ्यालबाट
म हेरिरहेछु
तिमीले वेवारिस
लाचार बनाएर छोडेका
एक एक शब्दहरूलाई।
तिमी अरूलाई
जातीय हितको कुरो सम्झाउथ्यौ
भाषा साहित्य र संस्कृतिको
जगेडा गर्नुपर्छ भन्थ्यौ
शब्दहरूको जाल बुन्दै
घोक्रो सुकुन्जेल
भीडमा चिच्याई चिच्याई
भन्दै हिडथ्यौ
हामीले जातीय चेतनाको
विकास गर्नुपर्छ।
म आज
तिमीलाई तिम्रै शब्दहरूको
शोक सभा देखाउन चाहन्छु।
भाषा साहित्य संस्कृति प्रति
तिम्रै निर्लिप्तताले
लाचार, विवश र हीन भयेका
ति शब्दहरूले
आश्रयहीन, बुभूक्षु र निर्वस्त्र
दोबाटोहरूमा
जिजीविषाहरूको मृत्युशोक
मनाइरहेको यो दृश्य
मेरो सम्झनाको झ्यालबाट
च्याइरहेछ।
संवेदनाको खडेरी परेको
संक्रमणको
यो समयमा
म अति लाचार छु
म मेरो संझनाको झ्याल
बन्द गरिरहेछु।