Sushma Manandhar – Nepal Banda (Nepali Laghu Katha)

सुषमा मानन्धर – नेपाल बन्द (लघु कथा)
(गोरखापत्र)

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि खै ! टायरको तातोले सडक नतताई,भिडन्त र दुइचार तोडफोड नभै कानमा बतासै लाग्दैन । जायज मागहरू पूरा गर्नु त परै जावोस्, सुनिदिने आश्वासनसम्म पनि दिंदैन ।

जीवन घरबाट एकाबिहानै निस्केको छ आज । पार्टीका अन्य साथीहरूसँग ऊ पनि सडकमै छ धर्ना दिंदै । पसलहरू बन्द गराउन र सडकमा सवारी साधन गुडाउन नदिन लागीपरेको छ ऊ र उसका डफ्फा । उनीहरूको जुलुसका अघिपछि गाडी चलाउने हिम्मत कसको ? अरू त अरू, साइकलवालाहरू समेत पनि पन्छिएर हिँड्छन् । भीडको कोपभाजनमा सहिद बन्ने निरिह सवारी साधनको, त्यहाँ क्षतिपूर्ति दिने को ? सवैलाई आफ्नो ज्यानमालको माया हुने नै भयो । सडकतिर आधा खुलेका केही पसलका सटरहरू पनि झण्डा बोकेका र नाराजुलुस गर्दै हिँडेका कार्यकर्ताहरूलाई देखेर पूरै बन्द भए । जुलुस भन्दा अलिकति पर बाटो छेऊ लाठी बोकेका पुलिसहरू तैनाथ थिए, त्यहाँ स्थिति तनावपूर्ण नै थियो ।

हिँड्नु पर्ने बाध्यतामा सडकमा मान्छेको घुँइचो थियो । चना बदामका ठेलाहरू अघिपछि भन्दा अलि बढी नै देखिन्थे । खेल्ने मैदान बनेको सडकमा मोटरसाइकल सिक्नेहरूदेखि केटाकेटीको क्रिकेट म्याच पनि देख्न सकिन्थ्यो । बन्दप्रति सवै आ—आफनैे खाले विचार प्रकट गर्दै थिए । बटुवाहरू केहीमा ‘यस्तो बन्द त हुनैपर्छ, अति भएपछि के गर्ने भन्दै यसप्रति समर्थन गरिएको जस्तो देखिए पनि अधिकाँश बन्दबाट पाइएको दुखबाट आजित देखिएका थिए । त्यत्ति नै बेला टाढैबाट एउटा मोटरसाइकल इमरजेन्सी लाइट बालेर फूलस्पीडमा आएको देखियो । बन्दमा पनि मोटरसाईकल चलाउने ! महशुर रहेछ । “लौ एउटा हिरो आँंदैछ यतै । हान् सालेलाई । “सब केटाहरू आक्रामक र उग्र देखिए । एकैछिनमा उनीहरू हूल बाँधेर कमिला झैँ सडकमा फिँजिए पनि । सडकको भीड देखेर मोटरसाइकल चालक अत्तालियो । फरक्क फर्काउन खोज्यो तर सन्तुलन राख्न नसकेर मोटरसाइकल चिप्लिएर धेरै टाढासम्म घिसि्रयो । चालक भने तीन बल्डयाँग खाएर सडक किनारको बिजुलीको पोलमा ठोक्कियो । हेल्मेट झरेर टाउकोमा नराम्ररी चोट पनि लाग्यो ।

भीडले सीटी फुक्दै थपडि बजायो । यो उनीहरूको विजय थियो । “बन्दको दिन पनि मोटरसाइकल चलाउने, निडरै रहेछ,” भीड भन्दै थियो । जीवनले, भीड हटाई अगाडी गएर घाइतेको अनुहार आफूतिर फर्कायो । “कुमार तँ !” ऊ झङ्सगै भयो । नेपाल बन्द भन्ने जान्दा जान्दै आजैको दिन मोटरसाइकल किन चलाइस् ? के परेको थियो त्यस्तो ? ” उसले भाइलाई हकार्‍यो । “घरमा सानो बाबुको भरेङ्गबाट खसेर हात भाँचिएको थियो, हस्पिटलमा यो दवाइ सकिएकोले लिन हिडेको हुँ ।” उसले हातको एउटा सानो सिसी देखायो । आफनो घाइते भाइ अनि सानो छोरोको भँाचिएको हात ! बेहोस हुन लागेको भाइलाई देखेर ऊ आत्तियो , “ए, हट् हट् ! कुनै गाडी आउन लोगेको छ कि हेर् ।”

एउटा ट्याक्सी गल्लीबाट निस्केर त्यतै आउन लागेको थियो । बल्ल बल्ल भेटिएको ट्याक्सी, घाइतेलाई अस्पताल लान भीडले रोक्न खोज्यो तर झण्डा बोकेका दुइ चार जना मानिस आफूतिर दोड्दै आउन लागेको देखेर नेपाल बन्दको दिन पनि ट्याक्सी चलाएको आरोपमा ढुटो पार्लान् भन्ने डरले विचरा ड्राइभरले ट्याक्सी अन्तै दौडायोे ।

जीवन आफ्नो घाइते भाइको टाउको एक हातले थिच्दै अर्को हातले भीड पन्छाएर कुनै सवारी साधन आइहाल्छ कि भनी अत्तालिएको आँखाले सडकतिर नियाल्दै थियो ।

शनिबार, गोरखापत्र
पौष ११, २०६६