श्रृजित – लिभिङ्ग म्यान
धेरै भएको रहेछ, म घरबाट कतै ननिस्किएको, आज फोनको रिमायन्डर हेर्दा पो पत्तो पाए । लेख्न पनि त्यति लेख्दिन, के मा पो ब्यस्त हुन थालेछु ? “कतै घुम्न जानुपर्यो, सायद पानामा केहि उतार्ने बिषय पो भेटिहाल्छु कि !” आफैंसित बात मार्दै तयार हुन बाथरुम पस्छु । नुहाउँदैगर्दा तल फिँजहरु गुजुमुजु परेर बसेको देख्छु, त्यस्तो के हतार यिनिहरुलाइ गन्तब्यमा पुग्न ? आफुलाइ हेर्छु, के म पनि हतारमा बाँचिरहेछु ? म खुब लेख्थेँ गन्तब्यको बारेमा, लेख्दालेख्दै आफैँलाइ बिरक्त लाग्न थालेको थियो, मेरो अन्त्यहिन गन्तब्य सोचेर । के समय त्यति सजिलै चिप्लिन्छ होला र ? हातबाट साबुन चिप्लेर तल खस्छ, म झसंग हुन्छु । “चिडियाघर घुम्न जानुपरो ।”
घर नजिकै भएपनि मेरो ध्यान कहिल्यै त्यतातिर गएन, दसदुनियाँ हेर्यो सब उस्तै लाग्छ, केहि फरक थिएन चिडियाघर भित्र–बाहिर । सोच्दै गेटैमा पुगिसकेको हुन्छु, गेटमा रोबोट बोल्छ, “स्वागत छ । टिकटको लागी दाहिनेपट्टिको मेसिनमा ए.टि.एम. स्वाईप गर्नुहोला । धन्यबाद ।” म उसको निर्देशन पालना गर्दै भित्र पस्छु, उसैले बताएको बाटो हुँदै पुग्छु जन्जिरहरुको दुनियाँमा । अब कता जाने ? म अलमल्ल पर्छु । त्यहाँको बातावरण बेग्लै छ, तर त्यो बातावरण मेरो मनभित्र चल्नेझैं लाग्छ । मनमा अनेकन कुरा खेलाउँदै गति चालिरहन्छु, बच्चैदेखी सिंबोट हेर्ने खुब रहर थियो, त्यतै पो जानुपर्ला । बाँबोट, मृबोट पनि देखिएला नि ! सिंबोट गर्जिएको टाढैबाट सुन्छु, कस्तो गहिरो आवाज । यो सिंबोट कहाँबाट ल्याएका होलान् ? एक्कासी तर्सन्छु, एउटा बाँबोटले झन्डै झोला उडाइदिएको । धन्न ! जनाबोटहरुको रमिता हेर्दै अगाडी बढ्छु, अलि पर भिँडजस्तो छ, के भएछ ?
सबैजनाको ध्यान एक अजिब बस्तुले तानेको छ, मैले पनि पहिलो चोटि देखिरहेछु त्यो चिजलाइ, “के बस्तु हो यो ?” कसैलै जवाफ फर्काए त मर्नु । त्यो बस्तु भुइँमा लडिरहेछ, अचल । कस्तो रमाइलो दृश्य, म पनि भुलिन्छु त्यो अजिब बस्तुको रमितामा ।
. . . . . . . . . . . . . . . . . . .
“म कहाँ छु ? कसरी यो ठाउँमा आईपुगेँ?” मेरो शिर भारी भएको छ, यो के हुँदैछ म अनबिज्ञ छु । मेरो अगाडी अजिब बस्तुहरुको भिड देखेर म झन् अचम्म परेको छु । किन यसरी मलाई घुर्दैछन्, म पत्तो पाउन सकिरहेको छैन । मलाई बारभित्र थुनेर राखिएको छ, म पुरा बेसहारा छु, एक्लो । ति बस्तुहरुको भिड झन्झन् बढिरहेको छ, म जोडजोडले चिच्याउँदा ति झन् अचम्म मान्दै मलाई घुर्छन् । ति बस्तुहरु कस्तो निर्जिव जस्तो, तर चलमल त गरिरहेछन् फेरी । म झन् डराईरहेको छु, मेरो मुटु फुट्लाजस्तै भएको छ । किन दया गर्दैनन् यिनिहरुले ? के यिनिहरुको मन छैन ? अर्थहिन छ सब ।
ओडारको परतिर उज्यालो देख्छु, हत्तपत्त जोड लगाएर भाग्न खोज्छु, “खल्र्याङ्ग !” खुट्टामा बाँधेको साङ्लोले जोडले थचार्छ त्यहि । उठ्ने प्रयास गर्दिन । एउटा साने बस्तु मेरो अगाडीको बोर्ड पढ्छ “लिभिङ्ग म्यान !”