Rajesh Pudasaini – Bhairab Bahan

भैरव-वाहन

बिहानको सुर्योदय संगै उ पनि बुझिन्थ्यो , कहिले चाहे जति सुतेर , त कहिले सुत्नै नपाएर । कहिले सुतेकॊ समयमा कोहि चलाउन आउदैनथ्यो, त कहिले रक्सिले मात खाएर आएका जडियाहरु जुत्ताले उसको ज्यानमा बेस्सरी बजरिदिन्थिये , मानौं कि उसले उनीहरुको बाबु-बाजेको ठुलै ऋण चुकाउन सकेको थियन जसरि । उ बिवस थियो,आतिएर भाग्नु बाहेक उसले गर्न सक्ने केहि थियन ।

आखिर उ एउटा कुकुर न ठहरियो………

हो उ एक कुकुर हो । परम – ब्रह्माकै श्रिस्टि मध्यको एक । हिन्दु धर्म अनुसार देव-भैरवको वाहन , मृत्यु-देव यमराजको राज्यको आडम्बर , अजिंक्य हिम्मतवाला रक्षक । तर आजको दिनमा धनीमानीको लागि एक सोख, मध्यम बर्गीयका लागि एउटा घरपालुवा जनावर र घरबारबिहीनका लागि एक साथि…… सायद । किनकि जसको कोहि हुदैन नि, उनीहरु नै एक-अर्काका आफन्ती हुदा रहेछन । धर्म कसले मान्दछ र आजकल, मानिहाले नि कुकुर-तिहार छदै छ नि , एक दिनको लागि भए नि मूल्यवान ठहराइदिन सायद जगतमा मान्छेले जति कसले जानेका छन् र ?

अरु ५ जना सहित , आफ्नी आमाको एक सन्तान भै, उ पनि भुस्याहा कुकुर समाजको एक महत्वपुर्ण हिस्सा बन्न सफल भैसकेको थियो । अफसोच उसको जन्म न कुनै जर्मन-शफार्ड , न बुलडग, न पग, न तिबेतन-म्यासटिफ लगायतका कुकुरको परिवार मा भयको थियो । उ त एक साधारण भुस्याहा खानदानमा पैदा भयको थियो । अनि यो वर्गीकरण गर्ने अरु को होलान र ?…. मान्छे । उ बिचारलाई त के थाहा? सायद जति बुझ्नु पर्ने हो तेस्को केहि हिस्सा उसकी आमाले बुझेकी होलिन कि ? खायकी होलिन त उनले पनि मुरी का मुरी गालि, केहि पाथी ढुंगाहरु , माना लातहरु र केहि चौथाई माया पनि ; किनकि थोरै मानवता त बाकि नै छ नि अझै ।

चंचल स्वभाव , उफ्रिरहन सक्ने उर्जा , सुन्ने र हेर्ने तेज र तीक्ष्ण एकाग्रता । कालो रंगमा केहि खैरो टाटा , ठुलो वाला मुख , सानो लिप्टो पुच्छर , जो सायद २४औ घण्टा हल्लिरहन सक्थे । कोहि मानिसले केहि अनौठो आवाज निकाल्दा त झन् बेतौड हल्लिने , ज्यानलाइ नै छोडेर फुत्केला जस्तो । आमाले ल्याएको खानेकुरा खादै उ हुर्कदै थियो , उसका भाई -बहिनि मध्ये अब उ र उसकी एक बहिनि मात्र बाकि थि ।कसैलाई मानिसले उठाए, कसैलाई गाडीले उदाइदिय त कसैलाई अरु कुकुरले राम्ररी संसार नै देख्न नपाइ टोकेर मारे । उ भने जिउदो थियो र अहिले सम्म सकुसल पनि ।
समयको वहाव संगै उ ठुलो हुदै गयो । अब उ पप्पी बाट कुकुर भैसकेको थियो । तर उसको रंग र स्वभाब भने उस्तै थियो । पसलमा माझियका भाँडासंगै उब्रेका खाना , रक्षानमा फालियका खाना र डम्पिङ्ग एरिया उसका लागि क्रमश :होटेल, रेस्टुरा र पांच-तारे हुन्थे । अब उसले केहि नया कुरा पनि जानेको थियो, पसल अगाडी केहि मानिस आउदा नजिक गयर पुच्छर हल्लाउने , कि त लात कि त खाने कुरा पाइन्छ भनेर । ‘डु’ अर ‘डाइ’ सिचुएसन जस्तो । तर भोको पेटले लातको भन्दा पनि भातको आस धेरै गर्ने रहेछ , उसले यो कुरा बिस्तारै बुझ्दै थ्यो । उ संगैका केहि अर्कै देखिने कुकुर पनि थिए जो मालिक संग लुट्पुटिदै खेल्थे , उसले ति कुकुर हेर्थ्यो र पुच्छर हलाउथ्यो । नजिक जान खोज्दा, उसले केहि भाटाहरु भेटे देखि उ अलि सजक भने थियो । तर ति सब कुकुर पनि उसलाई आफु जस्तै लाग्थ्यो र नजिक जान मलाग्थ्यो र खेल्न मनलाग्थ्यो पनि , तर उसलाई तेसो गर्दा आफुलाई हानि हुन्छ भन्ने चेत भैसकेको थियो ।

एकदिन…. केहि उ भन्दा ठुला-कुकुर आयर उ लगायत केहि अरु साना कुकुरहरुलाइ त्यस ठाउबाट टोक्दै खेदे । जस्को शक्ति उस्कै भक्ती भनेझै । विचरा! उ त्यस ठाउ छोड्न बाध्य भयो । अब परिवेस फरक थियो, जिउन झन् मुस्किल हुन्छ भन्ने कुरा उसलाई सायद थाहा थियन । नया परिवेसमा उसले दैनिक जसो टोकाई खानु पर्थ्यो । कुकुरले टोकिदिन्थे , मानब नामक केहि औतारीले चाइ ढुंगा र लात बर्साउथे । रात परेपछि , सुत्न सम्म नि नपाइने , जडियाहरु आयर कुटिहाल्ने । बुढीलाई पोख्न नसकेको रिस पोख्ने भाँडो जस्तो भएको थियो उसको ज्यान । ‘कुइङ्क ‘ र ‘हाउ-हाउ’ गरेर उ नमज्जाले चिच्याउथ्यो तर सुनिदिने कोहि हुन्नथ्यो । उनिहरुका लागी उ एक मनोरंजनको श्रोत बनेको थियो…आजित । यो क्रम सधै जसो चलिरहन्थ्यो , उ भोगिरहन्थ्यो ।

सधै झैँ , उसको सयन-स्थानमा उही जडिया आए , फेरी उ माथि लात बजारे । उ सधै झैँ करायो । आँखामा मोति सरहका आँसु टिल्पिलाय , तर देखिदिने कोहि भयनन, अर्को लातले उसलाई बेस्मारी दुख्यो , आँसुका थोपाले भुइँ थोरै भिजे , तर नर-पिसाचहरु रोकिएनन । उसको बिलौना सुनिदिने कोहि थियनन । सायद केहीको निन्द्रा खल्ल्बलियो , उसलाई सरापे अनि फेरी सुते । अत्ति गर्नु अत्याचार नगर्नु भनेझै उसले ति जडियाहरु मध्ये एक लाइ टोकिदियो , सहनसक्नु को स्थिति थियन पनि । रक्सीले मातेका मानबरुपी भुतलाइ अब केहि निउ चाहियन , एता-उता भौतारिदै केहि खोज्न लाग्यो । अरुले उसलाई यसरी घेरे कि उ भाग्न पनि सक्दैनथ्यो । केहि छिन ढुन्मुनियपछी केहि गतिलो र खोजे जस्तै सामान भेटेजसरि जडिया करायो ,”पख कुत्ता , आज तेरो किरिया गर्छु ।” उसका अरु साथीहरु पनि रमाए , आफ्नो जाँड-दोस्तले ठुलै कुरा हात परेजसरी उनीहरुको मुहार पनि उज्यालो देखिन्थ्यो । नजिक आएपछि देखियो , उक्त जडियले एउटा डोरी र थोत्रो बोरा लिएर आएको रहेछ । “मलाई टोक्ने मुख यहि हैन ?” भन्दै उसले कुकुरको मुख यसरि बाध्यो कि उसको आवाज निस्केन । “अनि तलाई टोकेसी भाग्न खोज्ने खुट्टाहरु नि यिनै हो यार , खुट्टा नि बानेर लडाईदे, ला डोरी ।” अर्को जाँडे बौलाहा करायो । सबैजना सहमत भए । ४ दैत्यहरुको अगाडी उ बिचराको केहि लागेन । “अब एस्लाई यतिकै छोड्न हुन्न यार! , फाल्दिम्म एस्लाई । ” तेस्रो जडियाको कुरो, सबै सहमत भए । एक निरिह पशुलाई उनीहरुले झुन्ड्याउदै लगे । चल्न नि मुस्किल हुँदा-हुँदै उसको प्राण गयो । कुकुरलाई एउटा खोला जस्तो ठाउमा फालेर उनीहरु निकै ठुलो युद्ध जिते झ हर्ष-उल्लास मनाउदै गीत गाउदै बाटो लागे । संसारकै बिबेकशील प्राणिको परिचय दिँदै ।

र यसरि एक ‘भैरव-वाहन’ को सुनियोजित हत्या भयो ।

Rajesh Pudasaini – Nautheko Laas

न उठेको लास

सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा भयो । सुनसान मसानघाटमा अरु कुराको आभाष थोडी गर्न सक्थे म । म छु , केवल म, तर उक्त समय म, म भएर पनि म थियिन । बन्द मोबाइल, कालरात्रि , चकमन्नता , सानो हसिया जस्तो देखिने मधुर चन्द्रमा जसको प्रकाश म भएको ठाउमा आइपुगेको थियन, सायद चन्द्रमा पनि मेरो पक्ष्यमा थियन । मेरो पक्ष्यमा उ भएतापनि कालो मडारिरहेको बादलले मलाई उसको प्रकाश को आभाष गर्न नदिने सोचेको थियो सायद । मेरो चस्मामा लागेको वाफले मलाई हेर्न अझै मुश्किल बनाउदै थियो । चिसो वतासले मैले लगाएको कालो T-Shirt खुकुलो पारामा थोरै हल्लिन्थ्यो ।

एता-उता हेरे । न त मैले कसैलाई देखे न कोहि बोलेको सुने, म चिच्याउन चाहन्थे , तर स्वर अड्किन्थ्यो ; म कतै नहेरी बेतौड कुद्न चाहन्थे , तर पाइला चाहेर पनि अडिग थियो ,अब म स्वास मात्र राम्ररी फेर्न चाहन्थे , तर मेरो गला दबिएको थियो , स्वास फेर्न पनि गाह्रो हुने गरि । म साथ चाहन्थे तर साथि थियनन , म आड चाहन्थे तर परिवार नजिक थिएनन् , म अब सिर्फ बाच्न चाहन्थे , तर सम्भव म कतै बाट पनि देखिरहेको थियिन ।

बिस्तारै मेरो अगाडीतिर, स्टेजमा पर्ने जस्तै गाडा रातो प्रकाश छरियो । मेरो अगिल्लतिर सेतो कपडामा छोपियको केहि चिज थियो । म यसै त अन्जान, कसरि पुगे त्यहाँ केहि थाहा छैन , झन् अगिल्तिर त्यो दृश्य । मेरो मुटु खालि भयो , म एकोहोरो हेरिरहे, त्रसित मुद्रामा । मसानघाटमा लास हुनु ठुलो कुरो थिएन , तर त्यो समयमा मेरो अगाडी हुनु निकै नै ठुलो कुरो थियो ।

सिरिर्र बतासको झोकाले सेतो कपडा माथितिरबाट केहि उड्यो, म अटल थिए , गर्न सक्ने केहि भए मरिजानु । बिस्तारै लासको अनुहार देखे , बील्कुल अपरिचित, न कतै देखेको , न त कतै कल्पना नै गरेको आकृति । तर नचाहेरै नियाल्दा पनि स्थिर र सालिन अनुहार,सायद…बरफ जस्तो चिसो गाला, बन्द आँखा, तर केहि खोलिएको ओठ ; केहि भन्दा- भन्दै प्राण फुत्किए जस्तो ।

म एकोहोरो नियालिरहेको थिए , एक्कासी लडिरहेको सालिन लासको बन्द आँखा खुल्दा म भुत्रुक्क उफ्रिन पुगेछु , अब चिसो उ हैन , चिसो त म थिए , मन त मेरो चिसो थियो । आखिर यो सब के का लागि? मेरो होस्-हवास ठाउमा थियन, होस पनि कसरि ? अब एउटा लास जसले मलाई हर क्षण तड्पाई रहेको छ, म त्यस बाट के अपेक्षा राखु?

विस्तारै लास उठ्न खोज्यो, निकै कम्जोर मानिस जसरि । म बेहोस पनि हुन सकिन , होसमा त म थियिन नै ।

‘बाबु ! सहयोग गर्नु हुन्छ? ‘… अब लासको ध्वनि पनि म संग ठोक्किदै थियो ।

म केहि बोल्न सकिन ।

‘हुन त जिउदो छदाँ त कसैले सहयोग गरेनन, लास परेपछि सहयोग के गर्थे?’…… लास आफै उठ्दै गर्न लाग्यो , म उसको कुरा केहि बुझिरहेको थियिन । एकैछिनमा लास खडा भयो ,म उसको सामुन्ने । र मेरो आँखा उसको आँखा को सामुन्ने ।

‘म यहाँ किन छु? मेरो गल्ति के छ ? किन तड्पिरहेको छु म यहाँ? कसले ल्यायो मलाई यहाँ?’….. मेरो मेसिन-गन जस्तो प्रश्नको लहरलाई उसले एकै हातको इशाराले रोकिदियो , आफ्नो हत्केला मेरो अगाडी तेर्स्याईदियर ।

‘यो सब को उत्तर म संग छैन ।’….. डरलाग्दो आवाज ।

‘को संग छ त ? मलाई येहा लिएर आउनुको कारण नि?’ ……कम्पित स्वरमा मेरो अर्को प्रश्न ।

‘ ‘तिमीलाई कसैले लिएर आएको हैन बाबु , तिमि यहाँ आफै आएका हौ ।’

‘के रे ? सुनसान एस्तो चिहान- घारीमा म आए ? मलाई के को रहर थियो?’ ….मेरो हरेक प्रश्न उचित थियो मलाई थाहा थियो तर हरेक सवाल गर्दा म निकै डराएको थिए ।

‘सायद एउटा सत्य को आत्मसाथ गर्न? ‘

‘कस्तो सत्य ? ‘

‘सत्य यहि कि आजकल समाजमा लास पनि उठ्दैन ।’

‘मतलब? समाज अनि लास ? ह्या म केहि बुझ्दिन एस्त कुरा , मलाई घर जानु छ ।’

‘तपाइको पो घर छ , जानुहुन्छ , तर बाबु समाजमा यस्ता मानिस पनि छन् जसका आफन्ती छैनन् , घर-बार केहि छैन , मात्र छ न फाल्नु न पाल्नुको ज्यान ।’

म लासको केहि कुरा बुझिरहेको थियिन । आखिर उसको मतलब के हो? त्रसित मुद्रामा उसको कुरोले मलाई येसरी घोच्दै थियो , मलाई असह्या भैरहेको थियो ।

‘उसोभए म के सत्य खोज्न आएको त यहाँ? ‘

‘समाज परिवर्तनको नाममा यसरि बदलिएको छ कि बाबु, जिउदो हुदा छोडिदिनुस , मुर्दा पर्दा पनि कसैले वास्ता गर्दा रहेनछन । म अलि पर एकान्त ठाउमा एक्लै बस्थे बस्थे , छोरा-बुहारीले घर बाट निकालि दियेपछी म भौतारिदै हिडेको थिए । जिउदो हुदा नि बाच्न चाहने रहर पुग्दै थियो , काललाइ पुकार्थे , एकदिन काल ले मेरो सुन्यो बाबु , म खुसि भए । मैले मृत्युलाइ सजिलै अंगाले , प्राण जान लागेको थाहा हुदो रैछ बाबु , सायद भगवान को नाम जप्दै थिए , म सक्किये । ‘

‘तेस्पछि?’ … थोरै डर र आश्चर्य मिश्रित भाबमा मैले प्रश्न गरे ।

‘तेस्पछि , मेरो लास तेही लडिरह्यो , कयौं दिन सम्म, कतिले देखे र एकपल्ट पछाडी नहेरी कुदे , धेरैलाई डर लायो, थोरैलाइ घिन र केहीलाई वास्ता लागेन ।हुन त लासलाई ठेगान लगाउन चाहिने समान र प्रक्रियामा पैसा खर्च कसले गरिदिने बाबु? कसले गरिदिने? यो स्वार्थी समाजमा , तेसैले देखे पनि नदेखे झैँ गर्न नै सरल लग्यो उनीहरुलाई । आफ्नै छोरा-बुहारीले त नहेरिएको म, अपरिचितले के हेर्थे ? म नउठेको लास भै सडिरहे ।

एकदिन एक मानिसले देखे , उनको हल्ला ले मलाई हेर्न सबैतिर मानिस जम्मा भए , मानौं म विश्वको ८औ आश्चर्य हु , केहि प्रहरी आए र मलाई उठाएर लगे । ग्लानि त तब भयो , मृत्यु लाइ अंगालेर पनि मेरो खिल्ली उड्यो , जुन पहिले घर बाट निकालिदा पनि उडेको थियो । तेस्पछि बेबरिशे लास हरुको घुइचोमा राखी मलाई पनि जलाइयो र खरानी बनाइयो । ‘

म आश्चर्यचकित मुद्रामा उसका कुरा सुन्दै थिए ।

‘बाबु ! तपाई समाज को सत्य बुझ्न येहा आउनु भएको हो , यो समाज को तितो सत्य, परिवर्तन को नाममा हाम्रो समाज कहाँ पुगेको छ थाहा पाउनुभयो । ‘

मैले टाउको हल्लाए । बिस्तारै , वाफ जसरि उक्त लास विलिन भयो । मन अलि हलुङ्गो भय जस्तो लाग्यो ।

“हो ! मेरो समाज यति स्वार्थी बन्दै छ कि, कुनै दिन मलामी जान पनि मान्छे पाइने छैन , यदि पाई हालियो भने नि “कति पैसा दिन्छस” भनेर सोध्ने वाला मलामी पाइन्छन , र सत्य येही हो ।

मेरो समाजको बिग्रदो रुप आज एउटा नउठेको लासले मलाई सिकाएर गयो । समाज यति स्वार्थी छ कि जिउदो मान्छेले त यति सिकाउन नि भुलिसके ।