Philos Sharma Paudel – Awashadh

“त्यो पत्रमा मलाई धेरै कुरा लेख्नु थियो तर त्यो पत्र लगभग रित्तो नै रह्यो। लेख्न लाग्दा सुरुमा मेरा लालित्य काँपे, त्यसपछी शब्द काँपे, अनि हात काँपे। कसैगरी पनि लेख्न सकिन।

लेखेको भएपनी के नै लेख्थेँ हुँला र खै! आफ्नो नैराश्यता न पोख्थेँ। त्यो पढेर ऊ पनि निराश हुन्थी…

आ…! केही कुरा आफैभित्र दबाएर राख्दा ठिक हुन्छ।(केही कुरा होइन, सबै कुरा भनौँ न)। अरुको सामु व्यक्त किन गर्नुपर्यो? त्यसो हुँदा ती कुराले कमसेकम बिगार गर्छन् नि। होइन र? तँ के भन्छस्?

ती कुराले म भित्र कति बिगार गर्दैछन्, हरेक पल मलाई कुन गहिरो खाडलभित्र धकेल्दैछन् भन्ने कुरा मैले मात्र जानेको छु। अरुले जानिराखुन् भन्ने चाहन्न पनि।

सायद यो खाल्डोबाट बाहिर निस्कने उपाय छैन। म शान्त रहनुपर्ने होला तर त्यसो गर्न म सक्दिनँ। मेरो दिमाग सधैं दुखिरहन्छ। मन डराइरहन्छ। के सँग? आफू बाहिरको दुनियाँसँग। मलाई आफू भित्रको दुनियाँमा नै निहित रहन मन छ। त्यसै गरे ठिक होला जस्तो लाग्छ… तर म कसैगरी पनि खुशी हुँदिन। पहिले पहिले आफू निराश हुँदा ‘यो मुड बदलेर म खुशी हुन पर्छ’ भन्ने लाग्थ्यो, तर अचेल नैराश्यता साधारण भइसक्यो।

डायरी, बाबाले मलाई, हामीलाई छाडेर जानुभन्दा केही समय अघि देखि तँ मसँग छस्। तेरो मेरो भेट बाबाले नै गराइदिनु भएको थियो। याद छ नि है तँलाई? आजसम्म तँ मेरो साथी भएको छस्। मसँग रोएको छस्…

हेर्, आज म तसँग कुरा गर्दैछु, भोलि मपनि बाबाको बाटो लागेर गईजान सक्छु।…अबको उपाय नै त्यही हो जस्तो मलाई लाग्न थालेको छ। तँ तयार रहनुपर्छ। मैले ॠतुसँग बिदा मागेको छैन। ऊसँग यी कुरा गरेको छैन तर उसले बुझेकी छे। मलाई मद्दत गर्न खोजेकी छे, माया गरेकी छे। तर म नै ऊ सामु खुल्न सकेको छैन। तँलाई रुवाएझैँ उसलाई रुवाउन म सक्दिनँ। म गएपछी कुनैदिन ॠतुसँग तेरो भेट भयो भने, म उसलाई एकदम माया गर्छु भन्दे है।”

उसले लेखेका अन्तिम वाक्यहरुमा मेरा आँखा गडिरहे, धेरै बेरसम्म। आँखा उठाएर ॠतु तर्फ हेर्न नै सकिनँ। नजर झुकाइरहेर नै त्यो डायरी ऊतर्फ बढाएँ।

   उसका आँखाबाट अश्रुधारा छुटे। संवेदनहिन आँखाले डायरीतर्फ हेर्दै डायरीका पानाहरुमा कुँदिएका शिशिरका अक्षरमाथी उसले आफ्ना हत्केला चलाउन थाली। संबेदनहिन आँखा, सपनाले साथ छाडेका आँखा यस्तै त हुँदा हुन्।

– स्पन्दन।