Rajab – Return Ticket

राजव – रिटर्न टिकट
(Source: Himal Khabar)

यताको मौसम सुधि्रएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो।

“घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो।
“तर यहाँको घाममा ताप अझ् बढ्न सकेको रहेनछ, काठमाडौंमा त घाम निकै चर्किन थालिसकेको थियो।”
“यता घामको ताप ढिलै बढ्छ। फेब्रुअरीभरि लगातार परेर थुप्रिएको हिउँ मार्चसम्म पनि पग्लिएको थिएन”, छोरोले सुनायो।
“कार्यक्रम अलि ढिलै राखेको भए हुन्थ्यो कि .?”

“हैन बुबा, त्यस्तो आत्तिनुपर्दैन। अब जाडो हुँदैन। अप्रिल लागेपछि त चिसो घट्न थालिहाल्यो नि।”
“चिसो त मेरो शरीरलाई हुँदैहुँदैन।”
“त्यसैले त मेको प्रोग्राम राखेर अन्तिम अप्रिलको टिकट पठाइदिएको बुबालाई।”

“काठमाडांैमा पनि चैत-वैशाखदेखिकै मौसम प्यारो लाग्छ। कात्तिक कटेपछिका चिसा दिन मलाई कहिल्यै मनपरेन।”
मे लागिसके पनि ठिहीले महिनौँ कठाङ्ग्रिएका रूखमा ज्यान लागेको थिएन। ठिहीले सुकेका तिनका हाँगामा भर्खर पालुवाका गर्भ लाग्न थालेका थिए। त्यसकारण पार्क, सडक र घरबगैंचाका वृक्षहरू मृतजस्ता जर्जर देखिन्थे। नगरमा प्रकृतिको हरित रमाइलो शुरु हुन बाँकी नै थियो।

“जूनदेखि त चारैतिर हरियोपरियो र फूलैफूल देखिनेछ बुबा”, यसरी भावी मौसमबारे मलाई आश्वस्त पार्न खोज्दै छोरोले भन्यो।

त्यस बिहान हामी चाँडै बिउँझ्िएर सडकमा ‘र्लियौँ। सूर्य शहरका गगनोन्मुखी दैत्यभवनभन्दा अझ्ै तलै देखिन्थ्यो। घामका कलिला किरणले ती भवनका शिशाहरू आल्हादक रूपमा टल्किरहेका थिए। हामी फूटपाथमा अनौठो पाइला चाल्दै थियौँ। सडकमा बाहनका गतिहरूको अटुट ‘इरो लाग्न थालेको थियो। म भित्रभित्रै पुलकित भइरहेको थिएँ। तर, मेरी श्रीमती मजत्तिको रमाउन सकिरहेकी थिइन। उसलाई अझ्ै छोरोको कुरोको ह्याङ्ग’भरले छोडेको थिएन। नेपालमै भन्दै थिईः “जानुस् तपाईं मात्रै।”

वास्तवमा मेरै करबल र सम्झ्ाइबुझ्ाइले ऊ आउन राजी भएकी हो। उसको हिसाबले त एक, दुई, तीन नआउनेमा थिई। उसले मलाई रन्केर र सन्केर भनेकी थिईः “म एक जान्न, दुई जान्न, तीन जान्न …।”

६ वर्षअगाडि छोरो पढ्न अमेरिका उडेको थियो। ऊ पीएचडी गर्न यता आएको थियो।जुन विश्वविद्यालयमा फेलो थियो, त्यहीँ प्रोफेसर पनि भयो। बिहे पनि यतै गर्‍यो। ऊ नेपाल फर्किएला र उसको बिहे गरिदिउँला भन्ठानेको थिएँ। मेरी श्रीमतीले त केटी खोजी, रोजी पनि गरिसकेकी थिई। तर, हामी दुवैको योजना र सोच विपरितको कुरो उसले एकदिन फोनमा पोख्यो। त्यस दिनदेखि रन्थनिएकी मेरी श्रीमती शान्त हुनसकेकी थिइन।

उग्र असन्तुष्टि र दुःखी मन बोकेरै ऊ मसँग अमेरिका उडी। त्यसकारण त्यस बिहान पहिलो पटक देखिएको अधुनातन अमेरिकी नगरको वैभवपूर्ण स्वरुपले पनि उसको अनुहार रमाएन। छोरोको बिहे नेपालमा धुमधामसँग गरौँला भन्ने थियो उसलाई। उसले आफ्नै रुचि र विचारकी केटी छानेकी थिई। मैले पनि सहमति दिएको थिएँ। त्यो सहमतिमा ल्याप्चे लाउन हामी छोरो अमेरिकाबाट फर्किने दिन कुरिरहेका थियौँ। तर, छोरोले दुई महिनागाडि फोन गरेर हाम्रो आशमा धक्का दिँदै भन्योः “यस पटक पनि नेपाल आउन सक्दिनँ, विश्वविद्यालयमा भर्खर जागिर लागेको छ।”

“अनि कहिले आउँछस् त?” हामीले सोधेका थियौँ। तर, उसले लटरपटर जवाफ दिँदै भन्यो, “अर्को साल हेरौँला।”
“हेरौँला होइन, आउने ठेगान पनि दे। हामीले यहाँ केटी ठीक …”

तर उसले केटी त अमेरिकामै ठीक पारेको रेछ। त्यो भेद खुलस्त हुनुअगाडिको एउटा फोनमा उसले भनेको थियोः “बुबा तपाईंहरूलाई अमेरिका आउन भिसाको लागि म चिठी पठाउँदैछु, हुन्न?”

उसले हामीलाई अमेरिका डाकिदिए र घुमाइदिए हुन्थ्यो भन्ने आश त हामीले पनि पालिरहेका थियौँ, मुख फोर्न मात्र सकेका थिएनौँ। तर, त्यस दिन उसैले एकाएक त्यसो भनेपछि हामी बूढाबूढी पुलकित नहुने कुरै थिएन। हामीले भनिहाल्यौँः “हुन्छ, कहिले पठाउँदै छस्?”

“पर्सि त्यता आउने मान्छे भेटेको छु, उसैको हात पठाइदिन्छु।”
उसले त्यसो भनेको क्षणदेखि हामी दङ्ग पर्न थालिहाल्यौँ। त्यसको केही दिनमा त हामीले त्यो मान्छेबाट भिसाको लागि उसले पठाएका कागजात पनि पायौँ। त्यसै साँझ् छोरोको फोन पनि आएको थियो। हामीले उसले पठाएको चिठी र कागजातहरू पाएको कुरो सुन्नेवित्तिकै आतुरी नै परे झ्ैँ उसले भन्योः “भोलि नै अप्लाई गरिहाल्नुस् बुबा।”
वास्तवमा हामीभन्दा पनि हाम्रो भिसाको लागि ऊ हतारिएको बुझ्ियो। त्यसको भोलिपल्ट फेरि उसले फोन गरेर भन्योः “हिजो भन्नै बिर्सेछु बुबा, कार्यक्रम चाहिँ मेको दोस्रो हप्ता राखेको छु।”

हाम्रो लागि त्यस्तो विशेष के कार्यक्रम राखेछ भन्ने जिज्ञासाले मैले हत्तपत्त सोधेको थिएँः “के कार्यक्रम बाबु?”
तर जवाफ दिन हिच्किचाउँदै उसैले सोध्योः “भाइले भनेन बुबा?”
“अहँ भनेन त …”, मैले भनेको थिएँ।
त्यसपछि उसले हडबड भएझ्ैँ भन्योः “सबै कुरो भाइलाई भनेको छु, बुबालाई भाइले भन्छ। अहिले मलाई युनिभर्सिटी जान हतार छ, म भोलि कुरा गर्छु।”

त्यसपछि उसले तीन-चार दिन फोन गरेन। उसको कन्थो सबै उसको भाइले सुनायो। कान्छो छोरोबाट ठूलोको सारा वृत्तान्त सुन्नेवित्तिकै उसकी आमा आगो भइहाली। उसलाई निभाउन मलाई हम्मे पर्‍यो। मैले उसलाई भनेको थिएँः “छोराछोरीमाथि जबर्जस्ती गर्ने जमाना छैन। आफ्नो खुशी र भविष्यको हिफाजत गर्ने काम उनीहरूकै हो। मनपराएकी केटी बिहे गर्छ भने गरोस्। नगर भने पनि गर्छ, बरु भनेर हाम्रो इज्जत राखिदियो। त्यसकारण चुप लाग्नु नै बेस।”
“हाम्रो पनि त खुशी, रहर हुन्छ …”, भन्दै ऊ रुन थालेकी थिई।

वास्तवमा उसको रुने, रिसाउने र घुर्क्याउने क्रम जारी थियो। म यात्राको लागि गर्नुपर्ने काम गर्दै, दैनिक उसलाई सम्झ्ाउँदै पनि थिएँ।
अमेरिका आइपुगेको बिहानसम्म पनि उसको अनुहार उजेलिन सकेको थिएन। तर, यहाँ उसलाई सम्झ्ाउने जिम्मा छोरोलाई दिएर म केही हल्का भएँ। मलाई पनि छोरोको निर्णय बिझ्ाउन छाडेको त थिएन, कताकता सामाजिक रूपमा ठगिएको अनुभव भइरहेको थियो। त्यसकारण यहाँ हुन लागेको छोरोको बिहेसँग मेरो पनि उत्साह पूरा जोडिन सकेको थिएन। तर, म छोरोको अगाडि आफ्ना निराशाका भेद नखुलुन् भन्ने कोशिशमा थिएँ।

उसले आफ्नै विश्वविद्यालयमा पढेकी केटी रोजेको रेछ। केटी एमबीए गर्दै रेछे। भेटघाट, चिनापर्ची, आवतजावत, प्रेमजस्ता शब्दहरूसँग उनीहरू जोडिएछन्। र, बिहे पनि गर्ने भएपछि हामीलाई खबर गरेछन्।
हामी बिहेको कार्यक्रमभन्दा १५ दिनअगाडि त्यसरी अमेरिका आइपुग्यौँ। दुई-चार दिन त मेरी श्रीमतीले छोरोसँग बोलिव्यवहार बारिरही। त्यसपछि उसलाई छोरोको ममताले पेल्न थालेछ र ऊ केटीबारे छोरोसँग सोधपुछ गर्न थाली। वास्तवमा ऊ केटीको रङ्गरोगन, घर, जातपातबारे ज्यादै केरकार गर्दै थिई। उसको केरकारले लछारपाटो लाउनसक्ने त केही थिएन, आफ्नो अहम् तुष्ट गर्न मात्र त्यस्तो गरेकी हो। त्यसकारण छोरोको जवाफबाट उसको चित्त केही बुझ्ेको थियो, केही बुझ्ेको थिएन। समग्रमा ऊ खुशी हुनसकेकी थिइन। बिहेको दिनको प्रक्रियाले त झ्न् उसलाई पोलेको थियो।
त्यस दिन हामी छोरोको अपार्टमेन्ट भन्दा एक घण्टा परको एउटा भारतीय मन्दिरमा भेला भयौँ। त्यहाँ हामी ६ वटा कारमा दुई अमेरिकन र नौ नेपाली गरेर ११ जना पुगेका थियौँ।

मन्दिरमा पुगेपछि हामीले दुलही पक्षकालाई अढाइ घण्टा कुर्नु पर्‍यो। दुलहीसहित उनीहरू त्यही बिहान शिकागोबाट युनाइटेड एअरलाइन्सको प्लेनमा आउँदैथिए। एअरपोर्टमा ‘र्लिएपछि उनीहरूले हामीलाई फोन गरेर अब एक घण्टामा आइपुग्नेछौँ भनेका थिए। तर, त्यसो भनेको डेढ घण्टापछि मात्र आइपुगे। कुराइको त्यो लम्बाइले मेरी श्रीमती भित्रभित्रै झ्न् चिढिएकी थिई, तर भन्न केही सकिरहेकी थिइन। एक घण्टा त उसले मन्दिरमा भएका १२-१३ देउता घुम्दै र नमस्कार गर्दै बिताई। त्यसपछिको बाँकी समय ऊ बर्बराई नै रही। मैले उसलाई त्यसरी धेरै नफतफताउन सम्झ्ाई नै रहेँ। उसको फतफत छोरोका साथीले सुन्लान् भनेर मैले उसलाई पटक, पटक मन्दिरको बगैँचातिर लगेको थिएँ।

हामीलाई त्यसरी कुराएर दुलहीसहितको १० जनाको जत्था साढेबाह्र बजे आइपुग्यो। उनीहरूमध्ये कसैले मेरो छोरोलाई नमस्कार गर्दै भनेको थियोः “एअरपोर्टबाट सीधै हान्निएका हौँ, तर जामले गर्दा एकनासको स्पिडमा आउन सकेनौँ। बीच-बीचमा फँस्दै आउन पर्‍यो।”

ढिला हुनुको कारण भन्ने र कुराएकोमा क्षमा माग्ने काम सकिएपछि परिचयको कार्यक्रम शुरु भएको थियो। सबभन्दा पहिले दुलहीलाई अघि सार्दै मामा पर्नेले भन्योः “यी बेहुली मेरी भान्जी।”

त्यसपछि अलि लाज मान्दै मेरो छोरोले हामी बूढाबूढीलाई देखाउँदै बेहुलीलाई भन्योः “ड्याडी, मम्मी …।”
उसले स्वाभाविक लजालु मुस्कानले नमस्कार गरी, मैले फर्काएँ। तर, मेरी श्रीमतीको हात बाँधिई नै रह्यो। उसले दुलहीको पैन्ट-सर्टको पहिरनतिर हेर्दै मुख बङ्ग्याएकी थिई। मलाई चाहिँ उसको रङ्गरोगन र दृष्टि मनपरेको थियो।

छोरोले पनि दुलहीबाहेक अरूलाई चिनेको रहेनछ। त्यसकारण सबैसँग क्रमशः परिचयको सिलसिला चल्यो। केटीका बाबुआमा केही कारणले आउन पाएनछन्। त्यसकारण गार्जियनसमेतको जिम्मेवारी त्यही मामा पर्ने शिवप्रसाद जटायुले लिएको रहेछ। केटीको तर्फबाट आएकामध्ये तीन आईमाई र सात पुरुष थिए।

परिचयको कार्यक्रम सकिएपछि हामी सब मन्दिरभित्र पस्यौँ। आईमाईको ग्रुप चाहिँ दुलही लिएर मन्दिरभित्रको अर्को कोठाभित्र गयो। हामी पुरुषहरू चाहिँ मन्दिरको विशाल भूतल कक्षमा ‘र्लियौँ। त्यहाँ रेडिमेड विवाहमण्डप रहेछ। दुलाहादुलही पक्षका सब त्यही मण्डप वरिपरि राखिएका कुर्सीमा बस्यौँ र कल्याङमल्याङ गर्न थाल्यौँ। लगभग ३५ मिनेटपछि बनारसी सारी, चोलो, घुम्टो र गहनाहरूमा सिँगारिएकी दुलहीलाई लिएर महिलाहरू पनि ‘र्लिए र दुलहीलाई मण्डपको चकटीमा लगेर बसाए।

मण्डपमा भारतीय बाहुन विधिविधान पूरा गरेर मन्त्र जप्दै थियो। दुलही प्रकट भएपछि उसले दुलाहालाई पनि डाक्यो। दुवै दुलाहादुलही मण्डपमा बसेपछि हामी पनि कुर्सी सार्दै घेर्न पुग्यौँ। दुलाहादुलही जग्गे (मण्डप) मा बसेको लगभग २० मिनेटभित्र बिहे सम्पन्न भयो। बाहुनलाई त्यही समयभित्र सक्न भनिएको थियो। त्यसकारण उसले व्यावसायिक चातुर्यका साथ द्रूतगतिमा विवाहविधान पूरा गरिदियो। मेरी श्रीमती यो सब गतिविधि जिल परेर हेरिरहेकी थिई। जग्गेबाट उठेपछि बुहारीले आएर खुट्टामा ढोग्न टाउको निहुराउन खोजेझ्ैँ गरेकी थिई, तर उसले भैगो भन्दै आशीर्वाद मात्र दिई।

बिहेको विधान सकिएपछि हामी भूतल कक्षकै डाइनिङ्ग हलभित्र पस्यौँ। त्यहाँ तोस्कन नामक इटालियन रेस्टुरेन्टको क्याटरिङ्ग सर्भिसबाट राखिएका १५-१६ परिकार थिए। हामी तिनै परिकार प्लेटमा टिप्दै खान थाल्यौँ। खाउन्जेल मेरी श्रीमती बुहारीसँग गफ गरिरहेकी थिई। त्यसपछि बुहारी छोरोसँग एउटा कुनातिर लागेर गफ गर्न थाली। हामी उनीहरूलाई छोडेर माथि मन्दिर परिसरमा उक्ल्यौँर कुर्न थाल्यौँ। दश-आठ मिनेटपछि उनीहरू आएर बुहारीलाई त्यतै छोडेर छोरो हामी भएतिर आयो। बुहारी र अन्य महिला मन्दिर परिसरको पहिलेकै सिँगारिएको कोठाभित्र पसे। त्यसपछि बुहारीको मामा पर्ने उही शिवप्रसाद जटायुले मनजिक आएर गफिन खोज्दै भन्योः
“हजुर आज त बुहारी घर लैजान पाउनुहुन्न, उनलाई आजै शिकागो फर्कनुपर्छ। भोलि बिहान अफिसको मिटिङमा उनले कुनै पनि हालतमा उपस्थित हुनुपर्ने रहेछ, त्यसकारण अहिले चार बजे उड्ने प्लेनको रिटर्न टिकट लिएर आजको बिहेको साइत छोप्न मात्र आएकी हुन्। ५-६ दिनपछि फर्कने छिन्, दुःख नमान्नुहोला। यस्तै हो, यस विषयमा ज्वाइँ-छोरीले सल्लाह गरिसकेका छन्, ज्वाइँले हजुरलाई विस्तार गरिसेला नै, हीँ…हीँ…”
उसको कुरो सकिँदा नसकिँदै बुहारी र अन्य महिला त्यो सिँगार कोठाबाट निस्किए। बुहारी उनीहरूसँग त्यो कोठामा लुगा फेर्न पसेकी रेछे, बाहिर निस्कँदा दुलहीको भेसका लुगाहरू फुकालेर आउँदाकै कमिज-पाइन्टमा बाहिर निस्किएकी थिई। ऊसँग दुलही हुँदाको बेलाको नाक, कान, गर्धनका गहना र अनुहारको कस्मेटिक मात्र बाँकी थिए।
ती महिलाहरूलाई छोडेर फेरि बुहारी छोरोसँग एकान्ततिर लागी। त्यतै एकछिन् उभिएर उनीहरूले गफ गरेको देखियो। त्यसपछि हामी भएतिर आएर छोरो निकै अप्ठेरो मानेर उभिइरह्यो। बुहारीले आदर सम्प्रेषण गर्दै भनीः “दर्शन बुबा, मम्मी …”
त्यसपछि ऊ आफूसँग आएका महिला-पुरुषको डफ्फासँग मन्दिर परिसरपछाडिको पार्किङ लटतिर लागी। हामीहरूको फौज पनि त्यतै लाग्यो। पार्किङ लटमा कतिपयले परस्पर बिदाइको हात हल्लाए। छोरा-बुहारीले पनि आपसमा त्यस्तै गरे। त्यसपछि सब आ-आफ्ना कारभित्र पसे।

पार्किङ लटबाट बिहेमा आएका कारहरू धमाधम सडकमा निस्कन थाले। म आफू चढेको कारको शिशाबाट निकै अगाडि हुँइकिएको दुलही चढेको हरियो कार अनायास च्याउन थालेछु। मेरो त्यो दृष्टि नियाल्दै छोरोले भन्योः “भोलि बिहानै उसले अफिसको महत्वपूर्ण मिटिङ एटेण्ड गर्नुपर्ने रहेछ बुबा, त्यसकारण बिहेको साइत छोप्न मात्र रिटर्न टिकट लिएर आएकी रेछे। फ्लाइट चार बजेकै भएकोले पनि फर्कन हतारो भयो, नत्र …”
म केही बोलिनँ। बरु श्रीमतीतिर हेरेँ। उसको पुरानो अनुहार केही लुटिएजस्तो देखिँदैथियो।
छोरोले फेरि मलाई सुनायोः “ऊ अफिसमा बिदा लिएर सात दिनमा फर्कन्छे बुबा। हामी त्यस दिन उसलाई लिन एअरपोर्ट जानेछौँ।”

अगाडि ड्राइभर सिटमा बसेर उसको साथी कार तीब्र गतिमा चलाइरहेको थियो। कार आठ लेनको व्यस्त हाइवेको देब्रे लेनमा कुदिरहेको थियो। म केही नबोली झयालबाहिर अरू कारका गति हेरिरहेको थिएँ। मलाई बोल्नु आवश्यक पनि थिएन। मेरो मौनको अर्थ लखकाट्न खोज्दै छोरोले भनेको थियोः “के गर्ने बुबा व्यस्त हुनुपर्ने जब छ उसको, ऊ आएपछि बुबामम्मीलाई लिएर हवाइ घुम्न जाने प्लान छ हाम्रो।”

तर म चुप नै रहिरहेँ। ऊ मैले केही बोलिदिए हुन्थ्यो जस्तो गरिरहेको थियोर त्यही हिसाबले बोलिरहेको थियो। वास्तवमा म भित्रभित्रै ऊप्रति अगाध मायाले भरिन थालेको थिएँ। तर, मेरी श्रीमतीले अचानक त्यो पोखिदिईः
“बुबालाई बुहारी मनपरेको छ बाबु!”

हालः अमेरिका

Rajab – Laundry Prem

राजव – लण्ड्री प्रेम
(हिमाल खबरपत्रिका)

घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा आउँला।”

यो कुरो साउनको थियो। भदौमा पर्ल स्ट्रिटको मिस्टिक लण्ड्रो म्याटमा उज्ज्वलासँग उसको भेट भएको थियो। त्यसकारण ऊ मङ्सिरमा नेपाल नजानुको कारण यै बन्यो।

उसको अपार्टमेन्ट पर्ल स्ट्रिटसँगैको समर स्ट्रिटमै थियो। समर स्ट्रिटमै थियो मिस्टिक लण्ड्रो म्याट पनि। उसको अपार्टमेण्ट नजिकको क्वाइन लण्ड्री त्यही नै थियो। त्यसकारण हरेक हप्ताको मङ्गलबार आफ्ना मैला लुगाहरू कोचेको लण्ड्रीब्याग पिठ्यूँमा बोक्दै ऊ त्यही लण्ड्रीमा पुग्थ्यो।

मङ्गलबार उसको बिदाको दिन हुन्थ्यो। त्यो उसले रोजेको बार भने थिएन। बिदाको लागि उसको चाहमा शनिबार र आइतबारका दिन पर्थे। तर, ती दिन उसले रोज्न नपाउने देखियो। किनभने मुख्तार खाँले उसलाई भनेको थियो,
“यु क्यान चुज एनी डे एक्सेप्ट सण्डे एण्ड स्याटर डे…।”

त्यसको कारण किन होला भन्ने आश्चर्यले उसले मुख्तार खाँलाई हेरेको थियो। उसको हेराइको आशय बुझेर मुख्तार खाँले भनेको थियो, “सण्डे र स्याटर डे म स्टेसन आउन पाउन्न, एन्जल्स पनि यी दुवै दिन बिदा लिन्छ, पहिल्यैदेखि ऊ यस्तै गर्दै आएको छ… मलाई सण्डे र स्याटर डे समेत कभर गर्ने मान्छे चाहिएको हो, त्यसकारण मकहाँ काम गर्ने भए बिदा लिने दिन अरू बार रोज… अण्डरस्ट्याण्ड ह्वाट आई मिन?”

उसले लुत्रिएर भन्यो, “यस।”

“गुड, त्यसो भए अरू जुन बार भन्छौ, त्यही बार बिदा दिउँला, यु टेल मी।”

मालिक मुख्तार खाँले यसरी क्लियर कुरा गरेपछि उसले भनेको थियो, “देन ट्युज्डे…।”

“के, नो प्रोब्लेम…।”

मुख्तार ३० वर्ष अगाडि पाकिस्तानबाट अमेरिका आएको थियो। अमेरिकी श्रमबजारमा उसले २० वर्षसम्म होटलको डिसवासर, कन्स्ट्रक्सन कम्पनीहरूको कुल्लीदेखि ट्याक्सी ड्राइभरसम्म भएर जम्मा पारेको डलरले एउटा ग्यासस्टेसन (पेट्रोलपम्प) किन्यो। पेट्रोलपम्पको मालिक बनेको मुख्तारले १० वर्षको बीचमा अर्को पनि ग्यासस्टेसन थप्यो। मुख्तारले हाइवे नाइन्टी वानमा रहेको त्यही ग्यासस्टेसनमा काम गर्न उसलाई राखेको थियो।

वास्तवमा ऊ शुरुमा अमेरिका आउँदा थालेको इण्डियनको रेस्टुरेन्टको काम छाडेर अन्त अर्कै नयाँ किसिमको काम गर्न पाए हुन्थ्यो भन्ने खोजीमा थियो। मुख्तार पनि आफ्नो ग्यासस्टेसनमा काममा दलाउन सकिने मान्छे खोजिरहेको थियोे। यही संयोगमा उसले मुख्तारको ग्यासस्टेसनमा काम र मुख्तारले दलाउन सकिने मान्छे ऊ पाएको थियो। त्यसकारण विगत चार वर्षदेखि ऊ मुख्तार खाँको हाइवे नाइन्टी वनको त्यही स्टेसनमा दैनिक एघार घण्टाको दरले दलिइरहेको थियो। उसको हातमा आफ्नो निजी काम गर्न सातामा सिर्फ एक दिन पर्थ्यो। त्यै दिन ऊ अबेलासम्म सुत्ने, लुगा धुने, साताभरका लागि लन्च, डिनरका बट्टा बनाएर फ्रिजमा राख्ने, इमेलहरूको उत्तर दिने, फेसबुकमा प्रकट हुने मित्रहरूका कुरामा कमेन्ट गर्ने, आइपोडमा नयाँ गीत र भिडियोहरू डाउनलोड गर्ने, हप्ता दिनभरि थुप्रिएका अखबारहरू पल्टाउने, साँझ् रेडबुल वा टनिक वाटर मिसाएर बरबन ह्विस्की पिउने र अन्तमा दुई क्यान बियर थपेर छ्यानमा डङरङ्ग पल्टने गर्थ्यो। यसरी ऊ मङ्गलबार झन बढी व्यस्त हुन्थ्यो। त्यस दिन गरिएका आफ्ना चाहका सब कुराहरू उसलाई अपुरा, अधुरा लाग्न थाल्थे। त्यसैले ऊ अर्को मङ्गलबार आजको जस्तो चटारो नगरी आनन्दले बिताउँछु भन्ने सोच्दै ह्विस्की र बियरले लटि्ठएर बेहोसी निद्रामा डुब्थ्यो।

अमेरिकामा ऊ शुरुका ६ वर्ष भारतीयको रेस्टुरेन्टमा डिसवासर, कुक र वेटर भएर दलिएको थियो। मुख्तारको ग्यासस्टेसनमा काम पाउँदा उसलाई पदोन्नति भएजस्तो लागेको थियो। नयाँ काम पाएपछि ऊ अलस्टन शहरको लेहम्यान स्ट्रिटबाट एभरेट नगरको पर्ल स्ट्रिटको घर नम्बर दुई सय त्रिपन्नको स्टुडियो अपार्टमेन्ट नम्बर आठमा सरेको थियो। रेस्टुरेन्टमा काम गरुन्जेल उसको बिदा बिहीबार हुन्थ्यो। काम बदलिएपछि उसको बिदा, अपार्टमेन्ट, लण्ड्री सब बदलिएको थियो। दुःख, पीडा, चटारो, उदासी र स्मृतिविभोरता चाहिँ पहिलेकै थिए। उज्ज्वलासँग भेट हुन थालेपछि भने उसको मन निमोठ्ने ती सब अन्तर अवयव कम हुन थालेका थिए।

पहिले उसलाई लण्ड्रीमा जानु भनेपछि बिल्कुलै बाध्यात्मक र निरस काम लाग्थ्यो। अब भने कहिले मङ्गलबार आउला र लण्ड्री जान पाइएला भन्ने भइरहन्थ्यो। वास्तवमा लण्ड्रीमा उसको समय वासिङमेसिनले पैँतीस मिनेट, ड्रायरले चालीस मिनेट र तात्तातो लुगा टेबुलमा राखेर पट्याउँदै लण्ड्रीव्यागमा राख्न दश मिनेट गरी पचासी मिनेट खाइदिन्थे। अपार्टमेन्ट-लण्ड्री आउजाउको दश मिनेट र वासिङमेसिनमा लुगा खसाल्न, साबुनको लेदो अड्कल्दै हुँडेल्न लाग्ने समय पनि जोड्दा लण्ड्री कर्मको लागि कुल सन्तानब्बे-अन्ठानब्बे मिनेट खर्च हुन्थ्यो।

लुगा धुने मेसिन र सुकाउने ड्रायरले लिने बीचको पचहत्तर मिनेट उसलाई सारै पट्यारलाग्दो हुन्थ्यो। ऊ लण्ड्रीमा आउने अरू मानिस किताब, अखबार पढिरहेका देख्थ्यो। तर, ऊ ती झैं पुस्तक वा अखबारमा धेरैबेर घोत्लिरहन सक्दैनथ्यो। शुरु शुरुमा ऊ लण्ड्रीब्यागभित्र आफ्ना मैला लुगासँगै कुनै किताब वा अखबार लिएर जान्थ्यो र, वासिङमेसिनमा लुगा धुन हुलेपछि बेञ्चमा बसेर त्यही किताब वा अखबार, जे लगेको छ त्यसमा घोरिन शुरु गर्थ्यो। तर, पाँच मिनेट मात्र। त्योभन्दा बढी ऊ तिनमा एकाग्र हुन सक्दैनथ्यो। उसको मन र आँखा अन्तै डुल्न थाल्थे। त्यसैले ऊ कहिले बाहिर निस्केर फूटपाथमा टहलिन्थ्यो त कहिले मेसिन र अरू मान्छेको गतिविधिमा घोरिन्थ्यो।

तर, उज्ज्वलासँग भेट हुन थालेपछि उसलाई ती समय फुत्तै म्याराथुनको गतिमा बितेको भान हुन्थ्यो। लण्ड्रीको सब काम सिध्याएर पनि ऊ उज्ज्वलासँग लण्ड्रीभित्रै थप एक-डेढ घण्टा तरङ्गित हुँदै बिताउँथ्यो। र, उज्ज्वला पनि त्यही तरङ्गमा ऊसँग समय बिताउँथी। ऊ उज्ज्वलाका कपडा वासिङमेसिनमा हाल्नेदेखि धोइएका लुगा वासिङमेसिनबाट ड्रायरमा हुल्न, ड्रायरबाट सुकेका लुगा झिकेर टेबुलमा राख्न र पट्याउन सघाउँथ्यो। उज्ज्वला पनि उसलाई उसका कपडा वासिङमेसिनमा राख्न, त्यसबाट झिकेर ड्रायरमा राख्न र ड्रायरबाट झिकेर टेबुलमा राख्दै पट्याएर लण्ड्रीब्यागमा राख्न सघाउँथी।

शुरु शुरुमा उज्ज्वला र ऊ अघिपछि गरेर लण्ड्रीमा पुग्थे। तर, पछि दुवै बिल्कुल एकै समयमा पुग्न थालेका थिए। ऊ उज्ज्वलाको सेल नम्बर ८५९३९४७२०५ मा रिङ गर्थ्यो र, सोध्थ्यो, “निस्कने वेला भयो?”

“यस” उज्ज्वलाले यसो भनेपछि ऊ पनि भन्थ्यो, “ल, म पनि निस्केँ।”

र, उनीहरू आ-आफ्नो अपार्टमेण्टबाट लण्ड्रीब्याग बोकेर एकै समयमा लण्ड्रीमा पुग्थे। लण्ड्रीब्याग भुईंमा बिसाएर हग (परस्पर अँगालिने) गर्थे। यसरी हग गर्न उनीहरूले चिनजान भएको दुई महिनापछि मात्र थालेका हुन्।

उज्ज्वलासँग उसको चिनजान भएको धेरै दिन भएको थिएन, सात महिना मात्र भएको थियो। अझ आलिङ्गनसम्मको सम्बन्ध हुन थालेको चार महिना मात्र भएको थियो। पछिल्लो दुई महिनाको चरणमा उनीहरूले परस्पर ठ पनि जोड्न थालेका थिए। लण्ड्रीभित्र उनीहरू जस्तै अरू कुइरे जोडी र भारतीय जोडी पनि यस्तो कर्ममा लिप्त हुन्थे। तिनीहरूको देखादेखीमा पछिपछि उनीहरूले पनि ठ जोड्न थालेका थिए। शुरुमा उनीहरूलाई यो काम गर्न अप्ठेरो लाग्थ्यो, त्यसकारण उनीहरू आफूभित्रको चाहको वेग रोक्दै प्रेमालाप मात्र गर्थे।

सात महिनाअगाडि कुनै एक मङ्गलबार पहिलो पटक उज्ज्वलालाई उसले व्याग बोक्दै लण्ड्रीभित्र पसेको देखेको थियो। उज्ज्वला भित्र छिरेपछि उसको ध्यान उज्ज्वलाको आकर्षक शारीरिक नक्सा र अनुहारको चमक पछि लागेको थियो। उसका दृष्टिहरू उज्ज्वलासँगै चलायमान भएका थिए। ऊ लण्ड्रीको एउटा खाली वासिङमेसिनमा उज्ज्वलाले लुगाहरू हालेको, त्यसमा बिर्कोले नाप्दै लेदो साबुन झरेको र मेसिन अन गरेर कपाल सम्याउँदै अर्को बेञ्चमा बस्न गएको हेरिरहेको थियो। त्यसैवेला पल्लो कुनातिर एउटी बूढी कुइरिनी पनि लुगाहरू ड्रायरमा हालेर कोरम्यान म्याकर्थीको उपन्यास रोड पढ्दै थिई। केही अगाडि उसको ध्यान त्यै फुलेकी बूढीले पढिरहेको म्याकर्थीको उपन्यासको आवरणमा पुगेको थियो। तर, अहिले उसलाई लण्ड्रीमा आफू र उज्ज्वलाबाहेक अरू कोही छैन जस्तो भएको थियो।

उसका कपडा राखेको ड्रायर बन्द भइसकेको थियो। तर, ऊ लुगा निकाल्न उठेको थिएन। एकछिनपछि उज्ज्वलालाई ऊ आफूतिर ध्यानस्त छ भन्ने थाहा भएछ क्यार, उज्ज्वला अमेरिकी शैलीमा मुस्कुराएकी थिई। उज्ज्वला नाकमा फूली टल्काउँदै मुस्कुराएपछि उसलाई उज्ज्वला नेपाली कटकी सुन्दरी रेछे भन्ने खुसी लागेको थियो। त्यसरी ऊतिर औपचारिक मुस्कान छरेपछि उज्ज्वला फेरि आफ्नो केस्रे कपाल तह लगाउँदै लण्ड्रीका अरू कुरातिर ध्यान दिन थालेकी थिई। ऊ पनि ड्रायरबाट लुगा निकाल्न उठेको थियो।

वासिङमेसिनले धोइसकेका लुगा ड्रायरभित्र हुलेर त्यसको खुत्रुकेमा एघार वटा क्वाटर (सुका) हालेर अन गरेपछि उज्ज्वला बेञ्चमा बसेकी थिई। उसले पनि लुगा व्यागमा हालिसकेको थियो। उसलाई अझै उज्ज्वलालाई घुरेर हेर्न मन भएकाले ऊ अलमलिँदै लण्ड्रीव्यागको डोरीमा परेको गाँठो फुकाउने बहानामा उभिइरहेको थियो। त्यै वेला उज्ज्वलाले उसलाई सोधी, “दाइ नेपाली हो?”

भित्रभित्र चहकिँदै उसले भन्यो, “हो…।”

उसले लण्ड्रीव्यागको गाँठोसँग खेल्न छोडेर उज्ज्वलालाई सोध्यो, “यो लण्ड्रीमा मैले तपाईंलाई देखेको थिइनँ, अरू बार आउनुहुन्थ्यो कि?”

“हैन, आजै मात्र आएकी, पहिले म यता बस्दिनथेँ … भर्खर एक हप्ता भयो सरेको …।”

“ए! काँ बस्नुहुन्थ्यो त?”

“ब्राइटनको प्रोस्पेक्ट स्ट्रिट, स्टारबक भएको दुई घर उताको घरमा बस्थें।”

“अनि यता किन सरेको?”

“काम यता छ।”

“काँ काम गर्नुहुन्छ?”

“होमर स्ट्रिटको एभरेट पिजा सपमा।”

“त्यो त इण्डियनको हैन?”

“हो।”

“अनि कुन वेला जानुहुन्छ काममा?”

“आज मेरो डे अफ हो, त्यसैले लण्ड्रीमा आएको …।”

उज्ज्वलाको अफ डे पनि मङ्गलबार नै रेछ भन्ने थाहा पाएपछि ऊ खुसी भएको थियो।

ड्रायरभित्र उज्ज्वलाका ब्रा, पेन्टी, टपफिट, टवेल, जिन्स लगायतका कपडा भयानक रापिलो चक्रमा सुकिरहेका थिए। ती कपडा हेर्दै उसले सोध्यो, “अनि यता काँ बस्नुहुन्छ?”

“होमर स्ट्रिटमा।”

“तपाईं?”

“पर्ल स्ट्रिटमा।”

उज्ज्वलाले ड्रायरबाट लुगा झिकेर पट्याउन्जेल ऊ कुरिरहे झैं लण्ड्रीभित्रै थियो। त्यसपछि दुवै जना आ-आफ्नो लण्ड्रीव्यागका साथ सँगै बाहिर निस्केका थिए। त्यसपछि उज्ज्वला दक्षिण लागेकी थिई भने ऊ उत्तर।

बाह्र वर्ष अगाडि पढ्न अमेरिका छिरेकी उज्ज्वला होमर स्ट्रिटको घर नम्बर तीन सय चौतीसमा बस्थी। शुरुको दुई वर्ष उसले पढ्ने कोशिश गरेकी पनि हो तर, कमाएको सबै युनिभर्सिटीमा इराए पनि नपुग्ने देखेपछि उसले फुलटाइम काम थालेर पढाइ हापेकी थिई। ऊ फेरि पढाइतिर फर्किन, नेपाल फिर्ने पनि सोचिन। बाउआमाले उसलाई फर्की छोरी पनि भनेका थिएनन्। ऊ बाउआमालाई सालमा चार/पाँच हजार डलर पठाएर खुसी पारिरहेकी थिई।

दोस्रो मङ्गलबारको भेटमा उनीहरू अझ बढी खुलेका थिए। त्यसपछिको तेस्रो, चौथो, पाँचौं भेटसम्ममा आत्मा मिलाउने वार्ता थालिसकेका थिए। एकले अर्काको लुगा पट्याइदिने, वासिङमेसिन र ड्रायरमा राखिदिने, धुने र सुक्ने समयभर बेञ्चमा टाँसिएर गफिन थालेका थिए। कुनैवेला एकाध घण्टा बिताउन लुगा ड्रायरमा राखेर बाहिरको कफीशपतिर पनि जान्थे। त्यसपछि एघारौं, बाह्रौं मङ्गलबारसम्ममा त उनीहरूको प्रेमले त्यसरी आलिङ्गन र चुम्बनको मुद्रा धारण गर्न थालिसकेको थियो।

भौतिक रूपमा उनीहरू साताको एक बार लण्ड्रीमा भेट्थे तर सेल फोनमा दैनिक दशौं पटक कुरा गर्थे। उज्ज्वलासँगको प्रेमले यसरी गति पाएपछि मङ्सिरमा नेपाल फर्कने उसको निर्णय उल्टियो। बाउले मङ्सिरको कति गते आउँदैछस् त भनेर सोध्दा उसले ढाँटेको थियो, “ख्वै, आउन सकिएला जस्तो छैन।”

“किन?”

“पित्तथैलीमा पत्थरी रेछ, डाक्टरले अपरेसनको लागि माघ अठारको समय दिएको छ …।”

“त्यसो भए वैशाखमा आइज।”

बाउसँग भएको त्यो ढाँट कुरो उसले उज्ज्वलालाई पनि सुनाएको थियो। र, प्रेमालापको त्यै गतिको मुद्रामा उसले उज्ज्वलालाई भनेको थियो, “दुई-चार जना साथीभाइलाई बेलमोन्टको सत्यनारायण मन्दिरमा डाकौं र…।”

त्यो भनाइमा उसको बिहे गरौं भन्ने आशय थियो। तर, त्यसको जवाफ दिनुसट्टा उज्ज्वलाले उसलाई ठ दिई। ऊ तिनै ठमा अलमलियो।

त्यसपछिको मङ्गलबारको लण्ड्री भेटमा उसले फेरि उज्ज्वलालाई त्यै कुरो गम्भीरतासाथ भनेको थियो, “माघको कुनै हप्ताको उपयुक्त दिन अफ लिएर जाऊँ मन्दिर, म चार-पाँच जना साथीहरू डाक्छु, तिमी पनि डाक्नु… सिन्दूर हाल्ने औपचारिकता पूरा गरौं…।”

यसको जवाफमा पनि उज्ज्वलाले ठ दिन खोज्दै थिई। तर, ऊ ती ठबाट टाढै बस्यो। आफ्ना विफल ठ लिएर उज्ज्वला बेञ्चबाट उठी र वासिङमेसिनभित्रका धोइसकिएका आफ्ना लुगाहरू झिकेर ड्रायरमा राख्न थाली। त्यस दिन उज्ज्वलाले उसको कुरो ड्रायरमै भुटी।

भोलिपल्ट पहिलो फोनमा उसले उज्ज्वलालाई सोध्यो, “अनि, कुन दिन जाने त मन्दिर?”

“ख्वै…!”

“किन?”

“के भन्ने, हामी दुवै यहाँ इल्लिगल बसेका छौं …।”

“त्यसले हाम्रो बिहे रोक्छ र?”

“रोक्दैन, तैपनि…!”

“के तैपनि? … बिहे गरेपछि झन हामीलाई धेरै किसिमले सजिलो हुन्छ… बिहे गर्ने भनेर न तिमीले नफर्किने गरी अमेरिका छोडेर नेपाल जानुपर्छ, न मैले। बिहेपछि हामी इल्लिगल भए पनि चाहुन्जेल बस्न पाउने छौं, त्यसमाथि हाम्रा जन्मिने सन्तान लेगल हुनेछन् …।”

“हो! तिमीले त सन्तानसम्मको कुरा सोचिसक्यौ …।”

“किन हाम्रो सन्तान हुँदैनन् र?”

तर उसले हुन्छ, हुँदैन केही भनिनँ। सिर्फ के को हतार मात्र भनेर फोन अफ गरी। त्यसपछिको मङ्गलबार लण्ड्रीको भेटमा उज्ज्वलाका लुगा वासिङमेसिनमा राखिदिँदै उसले भन्यो, “माघ त नघाउन हुन्न है।”

“हेर, हामी दुईमध्ये एउटाको पनि ग्रीनकार्ड भएको भए कत्ति राम्रो हुन्थ्यो…।”

“त्यो नभएर के भो त? हाम्रो प्रेम त राम्रो छ …!”

“हाम्रो स्टाटस पनि राम्रो होस् भन्ने सोचेको हो मैले …।”

“नभएको कुरो सोचेर के हुन्छ, हुने कुरो गरौं न।”

“त्यै त भन्दैछु। एउटा इण्डियन अमेरिकी नागरिक भेटेकी छु, त्यो म काम गर्ने पिजाशपमा आइरहन्छ …।”

“अनि…!”

“त्यो मसँग बिहे गर्न चाहन्छ, त्यसले मसँग बिहे गर्‍यो भने म सजिलै ग्रीनकार्ड पाउँछु। त्यसकारण आजकल म त्यसलाई पगाल्दैछु, त्यो पनि मसँग भेट्न हरेक साँझ् पिजाशपमा आउँछ… वास्तवमा म अमेरिकामा आफ्नो भविष्य सुनिश्चित पार्न चाहन्छु…।”

उज्ज्वला अरू थपथाप यस्तै बोल्दै थिई। ऊ चुपचाप ड्रायरबाट हात डाम्ने आफ्ना ताता लुगा फटाफट झिकेर लण्ड्रीव्यागभित्र कोच्न थाल्यो। एकाएक घृणा लाग्न थालेको उज्ज्वलाको अनुहारतिर बिल्कुल नफर्की ऊ तातो लण्ड्रीव्याग बोकेर बाहिर निस्क्यो।

अपार्टमेन्टमा आएर उसले पहिलो काम आफ्नो सेलफोनबाट उज्ज्वलाको कन्ट्याक्ट नम्बर डिलिट गर्‍यो। र, उज्ज्वलाको सेल नम्बर ८५९३९४७२०५ को कल ब्लक गर्‍यो। कम्प्युटरमा फेसबुक खोल्यो र त्यसमा साथीको रूपमा स्वीकार गरेको उज्ज्वलालाई हटायो। उज्ज्वलाको इमेललाई स्पाममा चढायो। कम्प्युटरको पिक्चर फाइलमा सेभ गरेका उज्ज्वलाका फोटोहरू एक-एक डिलेट गर्‍यो। र, मनबाट पनि उज्ज्वलालाई डिलेट गर्ने उपायहरू तनावग्रस्त सोच्न थाल्यो।

त्यसवेला ऊ छ्यानमा पल्टिरहेको थियो। र, टेबुलको बकार्डी रमको लाम्चो बोतल हेरिरहेको थियो।

हिमाल खबरपत्रिका पूर्णांक २७३