रामकुमार बस्नेत – दृश्य
(मधुपर्क बैशाख, २०६७)
नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए ।
बाबुबाट अंशको रूपमा पाएका घरका केही कोठामा छोराहरूले आ-आफ्नै तरिकाले रङरोगन गरे । केही दिनमा नै त्यो घर रातो, पहेलो, हरियो, कालो, सेतो रङले रङ्गीचङ्गी भयो । नेपालनाथले जिन्दगीभर रङरोगन गर्न नसकेको घर रङी विरङ्गी देखेर केही पीडाबोध गरे ।
दिन बित्दै जाँदा छोराबीच वैमनैश्यता बढ्यो । छोराहरूले आफ्नो कोठा-चोटा आँगन सबैतिर पर्खाल लगाए । आवतजावत गर्न नै मुस्किल भयो । नातिनातिनी एउटै आँगनमा खेल्न पाएनन्, यो दृश्य दे्रख्नु अघि नै नेपालनाथले यहाँबाट विदा लिए ।