कुसुम ज्ञवाली – भगवान (लघु कथा)
सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो – पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा ‘……….. पिछे क्या हे’ भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । ‘किन लजाको सन्ते ?’ हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्यो ‘म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन ‘
‘तैँले बियर पनि खान पाइनस – हिक्क ! हिक्क !!’
‘एक गाँस पनि खान पाइनँ हजुर !’
‘ला, खा ! भोड्का खा’ उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो – ‘मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल ‘