आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पु¥याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो । हिजो पार्टी कार्यालयमा बेलुकापख एकजना भद्र मानिसले ‘अत्यन्त जरूरी’ भन्दै क. अशोकको नामको एउटा पत्र छोडेर गयो । हुन त, क. अशोकले हिजै बेलुका पार्टी अफिसमा फोन गरेर भोलि बिहान कोही कार्यकर्ताहरूसँग पनि भेट्न नसकिने हुनाले कसैलाई पनि मेरो घरमा नपठाउनु भनेका थिए । तर रामनाथले सोच्यो – यति जरूरी पत्र लिएर त जानै प¥यो नि, नत्र फेरि पार्टीलाई ठूलै समस्या पर्नसक्छ ।
रामनाथ यो पार्टीको धेरै पुरानो मान्छे । अचेल ऊ पार्टी कार्यालयमा बस्ने गथ्र्यो । शुरूमा कम्युनिष्ट आन्दोलनमा हिँड्दा उनलाई नेपालमा अब नौलो जनवाद आइहाल्छ भन्ने विश्वास लागेको थियो । यही आन्दोलनभित्र हिडेर कपाल पकाइसक्यो । ऊ यो पार्टीको पुरानो पूर्णकालीन कार्यकर्ता । पहिले ऊ जिल्लास्तरको पार्टीको कार्यकर्ता हुँदा क. अशोकलाई साधारण सदस्यता उसैको हातबाट दिएको थियो । पार्टीभित्र क. अशोकको प्रगति देखेर उसले धेरैलाई भनेको थियो – क. अशोकलाई यो पार्टीमा ल्याउन मेरो पनि ठूलो हात छ । त्यसबेला क. अशोक विदेशबाट पढाइ सिध्याएर भरखर नेपाल आएको थियो ।
घरबाट बाहिर निस्कने बित्तिकै एकमनले रामनाथले फेरि सोच्यो – एकपटक टेलिफोन गरेर मात्र जानु राम्रो होला ।
नजिकैको पसलमा गएर उसले टेलिफोन डायल ग¥यो क. अशोकको फोन अत्यन्तै व्यस्त छ, फेरि ग¥यो उस्तै व्यस्त ।
फेरि मनमनै गुन्यो – अब चाँडै गरेर जानुपर्छ, नत्र पार्टीको ठूलै काम बिग्रेला । उसले आफ्नो हिडाइको गतिलाई अत्यन्तै तेज बनायो । अरू दिन एक घण्टा लाग्ने चक्रपथ आज ऊ आधि घण्टामै आइपुग्यो । चक्रपथ निस्केर अरू दिनजस्तो बस पर्खन उसले उपयुक्त ठानेन । उसले आज ढिलो गर्नु हुँदैन भन्ने मात्र बुझेको छ । आजसम्म कहिल्यै यसरी हतार गरेर उसले ट्याक्सी खोजेको दिन थिएन ।
त्यति व्यस्त हुने क. अशोकको घर आज सुनसान थियो । रामनाथले मूल गेटभित्र पसेर क.अशोकलाई सोध्यो । घरमा काम गर्ने मानिसले सबेरै बाहिर गएको खबर सुनायो उसलाई । के आज विहानै नभेटी नहुने ? – यसैबेला एकजना अग्लो मान्छे भित्रबाट बाहिर आएर रामनाथलाई जरुरी कामको बारेमा सोध्यो ।
म त विहानै आइपुग्नु पथ्र्यो । आउन ढिलो भयो, अहिले नै नभेटे कामै बिग्रन सक्छ । रामनाथको जवाफ पाउने वित्तिकै त्यो मानिसले अशोकले एकजना मानिस आइपुग्नु भएको छैन भन्नुहुन्थ्यो, म पर्खिएर बसेको भन्दै मोटरसाइकल स्टार्ट ग¥यो ।
मोटरसाइकल थापाथली–त्रिपुरेश्वर–रत्नपार्क हँुदै अघि बढ्यो । रामनाथले सोझो मनले सोच्यो – यो जरूरी पत्रका बारेमा पहिले नै खबर भइसकेको रहेछ, क. अशोकले मलाई विहान पर्खिएछन् ।
वरिपरि विशाल पर्खाल, ठूलो फलामे गेट, गेटपाले सबैलाई छिचोल्दै मोटरसाइकल भव्य महलको बीचमा पुगेर रोकियो ।
क. अशोकको यत्रो महलमा … । रामनाथले वरिपरि हे¥यो र अचम्म मान्यो । सुन्दर बगैंचा । मोटरहरूको घुइँचो । रामनाथसँगै आउनेसँग भित्र पस्यो । हरियो बत्तीको प्रकाश छरिएको बैठक हल । ठूला ठूला खाइलाग्दा मानिसहरू । भव्य सजाइएको बैठक कक्ष । वियर र रक्सीका परिकारहरू । विशेष प्रकारको सोफामाथि बसेर क. अशोक भन्दै थियो – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्नेछैन । रामनाथले आफूले चिनेका अन्य एकदुईजना मानिसहरूलाई पनि त्यहाँ देख्यो ।
रामनाथ कसरी यहाँ आइपुग्यौ हँ ? – अशोक जिल्लियो ।
कसलाई सोधेर यहाँ आएको ? बेइमान … तल्लो स्तरमा ओर्लिएर कहिल्यै पनि यसरी अशोकले गाली गरेको रामनाथलाई थाहा थिएन ।
रामनाथ चिठ्ठी हातमा फालिदिएर आफू गएको बाटोबाट छिटो छिटो फक्र्यो । रामनाथले मुलगेट नाघ्ने बित्तिकै एकदुईजना मानिसको एकछिन् पख्नुस् एकछिन पख्नुस् भनेको आवाज आउँदै थियो । तर ऊ त्यतिबेला सडकमा आइपुगिसकेको थियो ।
सडकमा निस्किएपछि डरले रामनाथको जीउ हप्प फुलेजस्तो भयो । डरले पछाडि फर्किएर हेर्नसम्म सकेन उसले । सडकमा आफ्नो वरिपरि हे¥यो – थुप्रै मानिसहरू छन् । कता कता डर कम भएको महसुस ग¥यो उसले । मनमनै फेरि डरको पर्वत अग्लियो – कतै ती पछाडि आउनेहरू यहाँसम्म त आइनपुग्लान् ।
बाटोभरि रामनाथले धेरै कुरा सोच्न सकेन । मुलगेटभित्र आफूलाई पच्छ्याउने मान्छेहरू सम्झिरह्यो । डरले जिउ जिङ्गरिङ्ग हुन्थ्यो । आज ऊ बस चढ्न बसपार्क पनि गएन । ठमेलको गल्ली हुँदै हिँडेर घर गयो ।
घर पुग्नेबित्तिकै रामनाथ केही नओछ्याएको बार्दलीको पलङमा डङ्गरङ्ग पल्टियो । उसको अगाडि आफू कम्युनिष्ट आन्दोलनमा हिँड्दादेखिका घटनाहरू नाच्न थाले । सोच्दै जान्छ ऊ – क्रमबद्ध नभएका घटनाका स्मरणहरू उसका अगाडि ओइरो लाग्छन् । कतै सपना त देखेको छैन उसले, फेरि ठण्डा भएर सोच्न शुरू गर्छ । हरियो बत्ती बलेको कोठामा सोफामाथि बसेर अशोकले भनेको उही शब्दहरू उसको दिमागमा ताजा बनेर ठोकिइरहन्छ – अब पार्टीलाई हामीले सोचेको बाटोमा ल्याउन धेरै समय लाग्ने छैन ।
यतिखेरै उसको मनले अर्को कटु पीडाको अनुभूति ग¥यो । एक बखत क. विनयले पार्टीमा राजतन्त्र सामन्तवादको नाइके हो, संसदीय व्यवस्थाले जनताको हीत गर्दैन भन्ने मत राख्दा पार्टीलाई भाँड्न खोजेको आरोप लगाएर निस्कासन गरिएको थियो । रामनाथले अन्तरसम्वन्ध खोज्यो – आजको यो घटना र त्यो तथ्यको ।
काठमाडौंमा गर्मी चढिसकेको छ । ऊ खाटमा शान्तसँग सुत्न सक्दैन । घरि यता घरि उता पल्टिन्छ । ऊ आफ्ना अगाडि आस्था र विश्वास बोकेर बाँचेका थुप्र्रै मान्छेहरू सम्झन्छ । नागार्जुनको जंगलतिरबाट आएको चिसो बतास शरीरमा ठोकिएको अनुभूति हुन्छ उसलाई । उसको आँखाअगाडि फल्याकको भित्तामा झुण्डयाएको ऐनामा पर्छ । अहिलेसम्म उसले यसरी ऐना हेरेकै थिएन । गाला छाम्छ, पोहोरको भन्दा निकै बढी चाउरी परिसकेको अनुभव गर्छ ऊ । कपाल पोहोरसम्म त तिलचामले मात्र थियो, यसपटक त सेताम्ये भएको महसुस गर्छ ऊ ।
आज राति रामनाथ बुइगलमा गएर सुत्छ । सुत्न त नामै न हो । जतिबेला पनि आस्थाको नाममा ढुङ्गाको पहाड अगाडि उभिएको महसुस हुन्छ उसलाई । रामनाथ जीवनको उपलब्धी खोज्छ । आखिर मैले गरेको त राम्रै काम न हो, जीवनको यात्रासँग बेखुशी हुन सक्दैन ऊ ।
राति सपनामा हरियो बत्ती, हरियो बत्ती भनेर किन कहालिएको ? उसकी श्रीमती जानुकाको कडा बोलीले रामनाथ व्युँझन्छ । यतिबेला धरतीमा राम्रैसँग उज्यालो पोखिइसकेको थियो ।
रामनाथलाई आज शरीर भारी महसुस भएको छ । उसले त्यही बेला तल कसैले ढोका ढकढक्याएको आवाज सुन्यो । झ्यालबाट हे¥यो – पार्टीको साथी रमेश रहेछ । रमेश यो पार्टीको आस्थावान कार्यकर्ता । धेरै कष्ट खपेर पार्टीमा निस्वार्थ काम गरेको छ । रामनाथले हतारिदै झरेर ढोका खोल्यो ।
रमेश माथि आउ । ढोका खुल्नासाथ रामनाथले भन्यो ।
म तपाईंलाई क. अशोकले पठाउनुभएको पत्र दिन आएको । कुराकानी गर्न पछि आउँछु । आज पार्टीको अत्यन्त जरूरी काम छ । रमेशले हतारो भाव देखाउँदै जवाफ दियो ।
रामनाथ भित्रको कौतुहलता मनभित्र हुण्डरी बनेर नाच्यो र ठूलो स्वरमा भन्यो – ठगले के पत्र पठाएछ ?
रमेशले अचम्म मानेर उसको कुरा सुनिरह्यो । हरदम अशोकको पक्षधर रहने मानिसबाट यस्तो शब्द कसरी … ?
रामनाथले रमेशको हातबाट चिठी थुत्यो र हतार हतार खाम च्यात्यो । पार्टीको प्याडमा लेखिएको रहेछ – हिजो बसेको पार्टीको जरूरी बैठकले पार्टी हित विरोधी गतिविधिमा तपाईंको संलग्नता देखिएको हुँदा अनिश्चित कालका लागि तपाईंलाई पार्टीका सबै तह र सदस्यताबाट निस्कासन गरिएको छ ।
पत्रबाट आँखा माथि उठाएर रामनाथले हे¥यो – रमेश चाँडो–चाँडो पाइला चाल्दै टाढा पुगिसकेको थियो ।