श्रीधर शर्मा – सङ्कटकाल
(मधुपर्क बैशाख, २०६७)
दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो ।
हत्या कम भएन । फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए । सरकारले साइकलमा चढ्ने हरेकलाई साइकल नचढ्न आदेश दियो । सबै साइकलवालाहरूले आ-आपmना घरमा साइकल थन्क्याएर पैदल हिँडे ।
जब तेस्रोपल्ट हत्या भयो तब हत्याराहरू नीलो पोसाकमा देखिए । अब पुलिसले फेरि नीलो लुगा लगाउने जतिलाई पक्डिँदै थुन्दै गर्न थाल्यो । त्यसपछिको हत्याकाण्डमा हत्याराले मात्रै गन्जी र कट्टु लगाएको पाइयो । अब बिचरा, गन्जी र कटटु लगाउने मात्रै हैसियत भएकाहरूले गन्जी पनि लगाउन छोडिदिए पुलिसले पक्डिएला भन्ने डरले ।
हत्याराहरूलाई अझै पुलिसले पकड्न सकेको थिएन अब हत्याराले कतै अर्को हत्या कट्टुमात्रै लगाएर गरे भने आफू पुलिसको भयङ्कर कुटाइबाट बच्नको लागि कहाँबाट लुगा ल्याएर आफ्नु शरीरलाई ढाक्ने ? अति विपन्नवर्गका जनतालाई चिन्ता पर्न थालेको छ ।