गीता केशरी – समर्पण
(मधुपर्क २०६६ चैत)
हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईँले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”
उनीहरू जति हाँसे पनि हरिले कविता पढ भन्न छोडेन र आफू पनि कविताका पुस्तकहरू किन्दै पढ्दै गरिरहन्छन् । एक साँझ उनी घुम्दैघुम्दै उही किताब पसलभित्र छिर्छन् र यताउति हेर्न थाल्छन् । पारखी पसलेले कुरो बुझ्छ र ऊ एउटा कविताको किताब हातमा लिँदै त्यसको धूलो पुस्दै हरि नजिकै आइपुग्छ र त्यो किताब ‘बिर्सिएका ती पाइलाहरू’ उनलाई दिँदै भन्छ “यो हालसालै विमोचित कवितासङ्ग्रह हो । साह्रै राम्रा कविताहरू यसमा छन् । हजुरलाई मन पर्छ भनेर राखिदिएको छु ।” “कसरी थाहा पायौ मलाई यसका कविताहरू मन पर्छ भनेर ? यसको स्रष्टा को हो ?”, एकैपटक दुइटा प्रश्न राख्छन् ।
ऊ पनि के कम, भनिहाल्छ, “म पनि पढ्छु नि । तपाईँले कस्तो कविता छानेर पढ्न लैजानुहुन्छ भन्ने मैले थाहा पाइसकेको छु । मेरो र तपाईँको चाहना मिल्छ । पहिले यो पढी त हेर्नुस् । लेखक नयाँ भए पनि विचार र भावना गहिरा छन् । शीला दली हुन् यसका लेखक । पेसामा डाक्टर रहिछन् ।”
“ए, त्यसो पो । ल्याउनुहोस् । यही लैजान्छु र म पनि हेर्छु तपाईँको र मेरो चाहना कति मिल्दो रहेछ । त्यसपछि यो छान्ने झन्झट पनि जान्छ, होइन त मित्र ?” भनेर हाँस्छन् । उसले “तपाईँको टेलिफोन नम्बर दिनोस् म अझ नयाँनयाँ पुस्तक आएको बेला घरैमा खबर गरिदिन्छु । अब त के मित्र भइहाल्यौँ” भन्दै हाँसोमा हाँसो थप्दै मित्रताको सहृदयता व्यक्त गर्छ । त्यहाँबाट निस्केको हरि घरमा पुग्नासाथ एक कप चियाको साथमा त्यो कवितासङ्ग्रह पढ्न थाल्छन् ।
पसलेले भनेजस्तै त्यसमा सङ्कलित कविताहरू उनलाई पनि निकै राम्रो लाग्छ । जति उनी पढ्दै जान्छन् उनको मस्तिष्क तरङ्गति हुन थाल्छ र स्मृतिका पानाहरू पल्टिन थाल्छन् । उनलाई लाग्न थाल्छ, कसैले उनकै व्यथा लेखिदिए जस्तो । फेरि एकपटक लेखकको नाम किताब पल्टाएर नै हेर्छन् । सोच्छन् पनि, यी कविताहरू त झन्डै २०/२५ वर्ष पहिले नै लेखिएका रहेछन् । कहाँ हाम्रो जीवनसँग मेल खान गएको भन्ने सोचेको हुँला ? म पनि…। भन्दै मनलाई सम्झाउन खोजे पनि मस्तिष्कले औँल्याउँछ- सत्यले वर्षको गणना कहाँ गर्छ र ? प्रेम सत्य हो ? यसको व्यथा सत्य हो । जीवन त गति मात्र त हो । यस सोचले उनी भ्रममुक्त हुन्छन् र सम्झन पुग्छन् आफ्नो प्रेमिकालाई, जो अघोषित रहिरहिन् र पीडा दिइरहिन्- प्रेमको । सायद ऊ पनि मजस्तै छट्पटाइरहेकी होली- मैले पनि त व्यक्त गर्न सकेको थिइँन मेरो मनमा पलाउन थालेको प्रेम । यो अव्यक्त भावनालाई हामीले बुझ्नै सकेनौँ र बुझ्ने कोसिस पनि गरेनौँ । किन…? धेरै पटक मैले उसको मन बुझ्ने मौका पाएको रहेछु भन्ने कुरा अहिले आएर बुझ्दैछु र पश्चात्तापमा जिउँदैछु ।
मेरी नयना कविता लेख्थी र भेट भएपिच्छे सुनाउँथी नयाँनयाँ आफ्ना रचना । राम्रो लेख्थी र भन्थी- मैले नेपाली विषय लिएर पढ्नुपर्ने, कहाँ विज्ञान लिन गएँछु । अब मेरो यो लेख्ने इच्छा अतिरिक्त क्रियाकलाप भएर मात्र रहने भएपछि यसमा के प्रगति ल्याउन सकिएला खै Û तर जे होस् म यसलाई छोड्न त सक्दै सक्दिन । तिमी मलाई भन्छौ नि कस्ती बौलाहीजस्ती भएकी Û हो, म कविता लेख्न बसेपछि त्यस्तै हुन्छु । अरू त के तिमीलाई पनि बिर्सन्छु । त्यसैसँग प्रेम गर्न थाल्छु । थाहा छ, किन म त्यसो गर्छु ? त्यसले मेरो मनलाई बुझ्छ । मेरो साथ दिन्छ । तिमी जस्तो कपटी त्यो छैन ।”
यति सुनेर पनि म हाँसी मात्र दिन्थेँ । सोद्धिनथिएँ के कसो भनी । न त भन्थेँ, “मैले पनि तिम्रो मन बुझेको छु । तिमी मलाई प्रेम गर्छौ ।”
हामी सानै उमेरदेखिका साथी थियौँ । खाली हाम्रो जात मिल्दैनथ्यो । त्यसको वास्ता हामीलाई थिएन । हामीबीचको बालमित्र प्रेम पनि हामी सँगसँगै हुर्किंदै जवान भयो । हामी अझ नजिक हुन चाहन्थ्यौँ भने बाआमालाई हाम्रो सम्बन्धप्रति दिन प्रतिदिन सतर्क हुँदै जान थाल्नुभयो । भन्न थाल्नुभएको थियो, अब तिमीहरू केटाकेटी छैनौ । धेरै घुलमिल गर्ने होइन । यस्तै के केको अर्ति आउन थालेपछि हामी यस सम्बन्धमा अझ बढी जिज्ञासु हुन थाल्यौँ । बाआमाको कुरालाई नै उठाएर आपसमा भन्थ्यौँ, “के भएको होला हाम्रा बाआमा पनि ? पहिले आफँै खेल्न जाओ । साथै मिलेर पढ भन्ने अहिले भने यस्तो भन्नुहुन्छ ।” के गरेका छौँ र हामीले होइन, हरि ? ऊ भन्थी भने म त्यसको समर्थन गर्थें ।
नयना राम्री छैन भनेर सबै भन्थे । ऊ पनि भन्थी, “म कस्ती नराम्री हगी ?” कहिले त लाग्छ भगवान्ले मेरो रूप बनाउँदा सबै सामग्री सकिएको बेलामा परे जस्तो छ । म पनि ठट्टैठट्टामा भनिदिन्थँे “त्यस्तो त होइन होला । बरु झोक चलेको बेलामा पर्यो
कि ?” योभन्दा बढी म उसको रूपबारेको कुरो पन्छाउन अरू केही पनि भन्दिनथिएँ किनकि मेरो ध्यान त्यसतर्फ छँदै थिएन । उसका कुरा मलाई मन पथ्र्यो, हाम्रो विचार मिल्थ्यो, बस् यत्तिमै सीमित थियो । स्कुलको शिक्षा पूरा गरेपछि नयनालाई उनको बाआमाले छात्रवृत्ति मिलाएर भारतमा इन्जिनियरिङ पढ्न पठाइदिए भने मेरो विषय म्यानेजमेन्ट भएकाले यहीँ बसेर पढ्ने भएँ । हाम्रो पत्राचार भइरहन्थ्यो र छुट्टीमा आएको बेला भेटघाट हुन्थ्यो र उही कविता र मित्रताको कुरा भइरहन्थ्यो । ऊ भन्थी, “हेर हरि त्यहाँ कत्तिसँग भेट भयो । धेरै घनिष्ठ मित्र पनि भएर कुरा गरियो तर कसोकसो तिमी जस्तो कुनै पनि लाग्नै सकेन, सत्ते ।” म पनि दङ्ग परेर भन्थेँ, “हो र भन्या । त्यस्तो मसँग के छ र ?”
ऊ भन्थी, “छ, यो प्यार प्यार चल्ने मुख ।” अनि ऊ त्यो कमिजभित्र लुकेको मन पनि भनिहालन भनेर मैले भन्दा ऊ भन्थी, “अहँ त्यसको त मलाई विश्वास छैन । तिमी चाहिनेभन्दा बढी चञ्चल छौ र आफ्नो विचार खोलेर राख्न सक्दैनौ । त्यसैले त्यो मन बदलिरहन सक्छ । मेरो जस्तो छैन तिम्रो मन । मेरो हेर, यो टाँसिएपछि फुत्कँदै फुत्किन्न ।” हामी दुवै हाँस्थ्यौँ र स्वीकार्थ्यौं पनि ।
त्यसबेला उसले मलाई एउटा कविता सुनाएकी थिई, जुन कवितासङ्ग्रहको जस्तै थियो-
तिमीलाई प्रेरणा भन्न रुचाउँछु
सधैँ सधैँ छातीमा समेट्न चाहन्छु
मेरो हरेक पाइलामुनि
तिम्रो छाप परेको धरती देख्न रुचाउँछु ।
मैले त्यसबेला उसको कविता सुनेर भनेको थिएँ
“ओहो त्यो त अति राम्रो प्रेममयी कविता पो लेखिछौ । तर यो ‘तिमी’ को हो ?”
“त्यो… तिमी पनि हुन सक्छौ र म आफँै पनि ।” आफ्नो विचार र भावनासँग प्रेम गर्ने प्रेमिका ।
“ए त्यसो भए ठीक छ । म त अर्को कुनै हो कि भनेर डराएको…।”
तिमी डराउनुभन्दा अरू के नै गर्न सक्छौ र ? आफ्नै छायाँलाई देखेर डराएर भागेको मैले कहाँ बिर्सेकी छु र भनेर ऊ हाँसी । मलाई लाज लाग्यो त्यो घटना सम्झेर ।
दुई वर्षजति यस्तैमा बित्यो । मेरो घर परिवारले मलाई विवाह गर्नुपर्छ भनेर एउटी केटी ल्याएर देखाउनुभयो । केटी तस्बिरकी देवीजस्तै राम्री थिई, पढेलेखेकी र हाम्रो व्यापारमा पनि साझेदारी रहेको परिवारकी छोरी थिई । परिवारको दबाब ममा अति नै पर्न थाल्यो । म के भनुँ के गरूँमा परेँ । एकपटक नयनाको विचार यसबारे के छ भनेर सोधुँ कि जस्तो पनि लाग्यो । फेरि अर्को मनले भन्यो, “त्यसले पनि अझसम्म खुलेर केही भनेकी छैन । मैले यस्तो कुरा राख्दा यो त कस्तो रहेछ मित्रता र प्रेम पनि नबुझ्ने ? अहिलेसम्मको हाम्रो मित्रतालाई विवाहमा पुर्याएर टुङ्ग्याउन पो खोज्दोरहेछ भन्ने ठानी भने ? म त जनावरीय प्रेमको इच्छुक भइहाल्छ नि ?”
अर्को कुरा उसले म विवाह गरेर प्रेमको अवमूल्यन गर्न चाहन्न भन्न पनि सक्छे । त्यो साह्रै भावुक छे । यता बाबुआमा आजै भन के छ तेरो विचार भन्न थालेका छन् । एकपटक त भनी पनि सके नयनालाई पर्खेको होस् भने त्यसलाई हाम्रो परिवारसँग गाँसेर वंश नै बिगार्ने पक्षमा हामी छैनाँै र अर्को कुरा यता हाम्रो व्यापार पनि यो विवाह भएन भने बिग्रन सक्छ । सबै कुरा सम्बन्धको नै त हो भनेर पिट्टा दिएकाले लौ तपाइर्ंहरूलाई जे मन लाग्छ गर्नोस् भनिदिएको थिएँ ।
विवाह भइहाल्यो । त्यसपछि के कस्तो अवस्था आइपरेर मैले विवाह गर्नुपर्यो भनेर सबै कुरा खोलेर साथीको रूपमा नयनालाई चिठी पठाएँ । उताबाट न बधाई आयो, न त घृणाको फूलझरी नै ।
विवाह गर्न पाएँ भनेर उमेर पुगेका दुलाहाहरू जति रमाउँछन् म हुन सकेको थिइनँ । सपनामा जीवनले गति लिएको जस्तो लागिरहेको थियो । म यन्त्रवत भइरहेँ । मेरो अगाडि नयनाको छायाँ मात्र आउँथ्यो । विचलित भएको मनलाई थाम्न सकिनँ र मैले उसलाई ट्रङ्कल गर्न खोजेँ । त्यहाँको लेडिज होस्टेलमा हत्तपत्त टेलिफोनमा बोलाइदिँदैनन् । बरु नयना बिरामी भएकी छे भन्नेसम्मको खबर दिए । झन् यस खबरले एक्कासि उसलाई के भयो त्यस्तो भन्ने कुरा मनमा उठ्न थाल्यो र मलाई पोल्न थाल्यो । म हेर्न जान चाहन्थेँ तर घरबाट यसमा पनि रोक लगाए । नयनाको बाबुआमालाई पनि यसबारे केही थाहा छैन जस्तो लाग्थ्यो । उनीहरू हाम्रो घरमा उस्तै गरी आइरहेका थिए र विवाहमा पनि सहभागी भएका थिए । भनेको सुनेको थिएँ, “नयनाको पनि पढाइ सकेर र्फकनासाथ यस्तै गरी विवाह गरिदिनुपर्छ । के गर्नु त्यसले विवाह गर्छे कि गर्दिन भन्ने लागिरहन्छ । यहाँ हुँदा कति केटाहरूको कुरा आएको थियो । राम्रो घर खानदानबाट । गर्दिन, मलाई पढ्नु छ भनेर पठाई । हामीलाई भन्थी, मेरो विवाहको चिन्ता तपाईंहरूले लिने होइन । म आफैँ लिन्छु र कोसँग गर्छु समय आएपछि बताउँछु । भन्छे, जीवन र प्रेमसँग मेरो सम्बन्ध भइसकेको छ । के भनेकी हो त्यस्तो ? म त केही पनि बुझ्दिन । जुनबेला पनि यसो हेर्यो लेखिरहेकी हुन्छे । पढाइबारे लेखेकी होइन, कविता लेखेकी रे । लौ सुना त के लेखिस् भन्यो, सुनाउँछे पनि । तर के गर्नु बुझ्नै नसकिने के भनेकी हो के त्यस्तो पनि कविता हुन्छ र मलाई त कताकता पढाइ नै बिगार्ने हो कि भन्ने लागिरहन्छ । त्यस्तो पढ्ने मान्छे । छात्रवृत्ति पाएर त्यहाँ पढ्न गएकी हो । लौ अहिले त के भएकी हो के ?”
यस्तो सुन्दा म अरू दुःखी हुन्थेँ । सोच्थेँ, छुट्टी आउन लाग्यो, त्यस बेला त नेपाल आउली । त्यही बेला पारेर सबै कुरा खोलेर सोध्ने र भन्ने गर्नुपर्ला भनी महिना गनेर बसेको म फेरि पनि छक्किएँ । ऊ आउँदै आइन । त्यहीँबाट एउटा साथीको घरमा छुट्टी बिताउन गइछ । अब मलाई निश्चय भयो, ऊ मलाई मन पराउँथी सायद जीवनसाथी बनाउन चाहन्थी । मैले विवाह गरेको खबर पाएर नै ऊ विरक्त भई । नेपाल आउन चाहिन । एउटा नेपाली साहित्यिक पत्रिकामा कविता पनि छपाएकी रहिछ । त्यो मैले पढ्न पुगेँ । कविता झन्डै यो जस्तो थियो ।
मेरो कल्पनाको मरुभूमि छ
तिमी कल्पित लास छौ
म जिउँदो एक्लिएकी लास हुँ
तिम्रो र मेरो अन्तहीन मिलन छ त्यहाँ
कथाको सुरुआत र अन्तको रूपमा ।
यी कविताका हरफ पढेपछि मेरा आँखा रसाए र मनले पनि स्वीकार्यो, “हो त यहाँ वणिर्त कल्पित लास मात्र होइन साँच्चिकै लास नै त म भएको छु । यी कविताले कसरी मेरो जीवनबारे बोल्दैछन् । के यस्तै हुन्छ सबैको जीवन ?” पाना पल्टाउँछन् र त्यहाँ कोरिएको अर्को कविता पढ्छन्-
तिम्रो मुटुमा गढेको तस्बिर हेर्ने रहर छ
तिम्रो सानु संसारको मायालु भेट्ने मेरो मन छ ।
यो कविताले मलाई नयनाको मनस्थिति सम्झाउँछ र म सोच्छु, उसले यस्तै भनिरहेकी होली । म न मेरो मुटुभित्र लुकेको तस्बिर देखाउन सक्छु, न त भताभुङ्ग हुँदै जान थालेको मेरो जीवनका पाटाहरू । यसैले त मैले आफूलाई लासमा स्वीकारेको छु, यो कवितामा लेखेको जस्तै । होइन, यो बिर्सिएका ती पाइलाहरू कसरी मलाई नै उभ्याएर लेखेजस्तो भएको । कहीँ शीला दली नयनाको साथी त होइन ? नत्र हामी दुवैको स्थिति बुझेर किन यस्तो लेख्थिन् ।
गुनासो कसलाई पोख्न सक्छु र
आफैँले बाँधेको बन्धनको
व्यथा कसलाई सुनाउन सक्छु र
आफूले लगाएको चोटको ।
हो, मेरो यस्तै स्थिति भएको छ । उनी पढ्दापढ्दै रोकिन्छन् र मनमनै भन्छन्- के थाहा नयनाको पनि मेरो जस्तै मनस्थिति भएको छ कि ?
जाऊ तिमी मलाई शून्यतामा बिलाउन देऊ
इच्छा आकाङ्क्षाहरू सँगसँगै अनि मुटुसँगै फुट्न देऊ
त्यो तस्बिर नरहोस् मभित्र केही नरहोस् मभित्र
सबैलाई बिर्सेझैँ त्यसलाई पनि मेट्न सकुँ मभित्र ।
यसमा व्यक्त भएका भावना जस्तै नयनाले पनि आफ्नो यस्तो मौन व्यवहारले प्रेमप्रतिको आफ्नो प्रतिकार जनाएकी त होइन ? यस पुस्तकभित्रका कविताहरूले मलाई निकै अकमकायो र नयनालाई बुझ्ने थुप्रै दृष्टि त्यसमा पाएँ । सुनेको थिएँ, नयना पढाइ पूरा गरेर छिट्टै फर्किँदैछे । त्यसैले केही दिन उसले आएर टेलिफोन गर्छे कि भनेर पर्खिरहेँ । अहँ, उसले गर्दै गरिन । एक दिन हाम्रो एउटा साथीले ऊसँग भेटेको खबर ल्यायो र भन्यो, “नयना नेपाल आएकी रहिछे । तिमीहरूको भेट भयो ? क्या बदली छे त्यो त । अहिले पो त यसो हेर्दा कवयित्री भन्न सुहाउने भइछ । गम्भीर त्यस्तै भइछ ।”
ए हो र ? मेरो कहाँ भेट हुन पाएको छ र ? उसलाई अरू साथीहरू भेट्दैमा फुर्सद छैन होला भनेर आˆनो लाज छोपेँ ।
उसको त बाल्यकालदेखिको मित्र होइनस् ? फेरि अरूलाई प्राथमिकता कसरी दिई ? सोच है । यसमा केही रहस्य छ जस्तो मलाई लाग्यो । हामीले भेटेर कुरा गर्दा पनि त्यसले केही पनि भनिन, न त सोधी नै । मित्रता मित्रता भन्थ्यौ कहीँ प्रेमवियोगको पीडामा त छैनौ ? तैँले राम्री र धनी केटी पाएँ भनेर हाम्फालेर विवाह गरिहालिस् अनि…? तैँले विवाह गर्नुभन्दा पहिले सोधेको थिइस् उसको विचार के छ भनेर ? भन्ने प्रश्नहरू साथीले सोध्दा उनी हतप्रभ हुन्छन् र भन्छन्, “अहँ त्यो त सोधिन, ऊ बाहुनी केटी परी त्यसैले झट्ट सोध्न अनकनाएँ । टेलिफोन गरेँ तर विवाहको प्रस्ताव राख्न सकिनँ । सोचेँ हाम्रो मित्रताको सम्बन्ध स्वार्थपूर्ण हुने त होइन भनेर हच्किएँ । उसले पनि कहिल्यै भनिन, म माया मात्र होइन तिमीलाई प्रेम गर्न थालेको छु । भूल हामी दुवैको भयो । हेर न यार अहिले म पनि कहाँ खुसी छु र ? नयनालाई नै सम्झन्छु । एउटा सानो भूलले कत्रो असर हामी दुइटैमाथि पारेको छ ।”
“दुइटामाथि मात्र होइन तेस्रीमाथि त्यो तेरी स्वास्नी पनि भन । गल्ती तिमीहरू गर्छौ, त्यस नतिजाको सहभागी ऊ पनि हुनु परेको होला । अब यस कुरालाई बिर्सेर आफ्नो नयाँ जीवन अगाडि सार ।” यसो भनेर साथी आफ्नो बाटो लाग्यो । मेरो मनको छटपछी शान्त भएन । मेरा पाइलाहरू नयनाको घर भएतिर बढ्न थाल्छन् । अव्यक्त प्रेम त्यही स्थितिमा रहोस् तर हाम्रो साथीको माया र सम्बन्ध जुन पहिलेदेखि थियो, त्यो मात्र भए पनि कायम राख्नुपर्छ । मैले उसको पढाइको सफलतामा ‘बधाई’ दिनैपर्छ । यस्तै कुरा मनमा खेलाउँदै म उसकहाँ पुग्छु । धेरै बेर मलाई कुराएपछि नयना देखा पर्छे । उसको ओठमा न भेट भएकोमा खुसीको मुस्कान छ, न त आँखामा दुःखको आँसु । न रिसले तमतमाएकी छे । नजिक आएर बस्नलाई भन्छे र म “तिमीलाई हार्दिक बधाई” भन्छु । ऊ पनि भन्छे, “तिमीलाई पनि ।” म अर्थ बुझेर टक्क अड्छु र सम्झन्छु, भरखर पढेको कविताका ती पङ्क्ति, जो आफैँ बोलिरहेका छन्-
तिमी र म
यस्तै थियो सुरुको जीवन
आज पनि तिमी र म
फरक केही देख्दिन
फेरि पनि भन्छन्
जीवनको सुरुआत युगौँ बितिसक्यो रे ।
केही क्षण चुप लागेपछि मैले नै कुरा उठाउँछु र सोध्छु, “आजभोलि तिम्रो कविता लेखाइ कस्तो चल्दैछ ?”
ऊ मेरो प्रश्नको जवाफ दिन्न । मेरो मुखमात्र हेरिरहन्छे । मलाई असजिलो अनुभव हुन्छ र मनमनै दोहोर्याउँछु ती कविताका पङ्क्तिहरू-
म के लेख्दैछु म के चाहँदैछु
तिमी कोट्याएर हेर्न नखोज
हेरेर त्यसलाई बुझ्न नखोज
यो अनन्त आकाशजस्तै छ मेरो चाहना
सागरको गहिराइजस्तै छ मेरो कल्पना ।
मौनताको कुरा बुझेर प्रसङ्ग बदल्ने चाहना राखेर भन्छु, “नयना जे हुनु हुँदैनथ्यो त्यो भइहाल्यो । के हामी यी सबैलाई पन्छाएर फेरि एउटा नयाँ जीवन सुरु गर्न सक्दैनौँ, निःस्वार्थ-अमर मायाको ?”
ऊ बल्ल हाँसी र भनी, “तिमीले मलाई पीडा दिएँ भन्ठानेको रहेछौ । यो सोच्नु तिम्रो भूल हो । मैले त्यसलाई टिक्नै नदिएर फर्काइसकेको छु । बरु जाँदाजाँदै त्यसले मलाई एक्लै आफैँलाई प्रेम गरेर बाँच्ने शक्ति आशीर्वादस्वरूप दिएर गएको छ । तिमी पनि शान्त हुन चाहन्छौ भने आफैँभित्र प्रेम खोज, आफैँलाई प्रेम गर र सो प्राप्त गर । त्यसैले आनन्दानुभूति दिन्छ । स्वप्रेमको नयाँ दृष्टि निकाल्न सक्छौ । यसले मानवको हृदय छाम्न सक्छौ । पि्रया र प्रीतम तिमी आफैँ बन्न खोज, अनिमात्र कसैले प्रेममा धोका दिन सक्दैन, न त पश्चात्ताप नै भोग्नुपर्छ । जीवन अमूल्य छ । शान्ति र प्रेमले बाँच्ने प्रयास गर ।” यति कुराकानी भएपछि म त्यहाँबाट हिँड्छु र हिँड्दाहिँड्दै सम्झन्छु, उही कविता, जसका पङ्क्तिहरूले भनिरहेका थिए-
एक थोपा पानी एक टुक्रा आकाश एउटा सानो तारा
मलाई सीमितताभित्र बाँध्ने परिधिहरू
म उछिट्टनि खोज्दैछु
सिङ्गै धरतीमा आकाशको टोपी लगाई
बाँच्न खोज्दैछु ।
हो नयनाले ठीक भन्दै छे । ऊ अब कसैसँग पनि बाँधिन चाहन्न । उसले आफँैमा सबै प्राप्ति पाइसकेकी छ । स्वप्रेम गरी मुक्त भइसकी । ती अव्यक्त प्रेमका पीडाहरूबाट अर्कै जीवन पाइसकी, जसलाई अरू कसैले छल्न सक्दैन- मैले पनि । उनी फेरि त्यही ‘बिर्सिएका ती पाइला’भित्रको अर्को कविता सम्झन्छन् । त्यो यस्तो भावनाले भरिएको थियो-
म प्रकृतिकी छोरी एक्ली छोरी
मेरोलागि जन्मेको छैन जीवन
जसको उष्णता म पोल्टामा राख्न रुचाऊ
जाऊ त्यसैले र्फक मेरो पिछा छोड
आफ्नो मुटुको मायालु धड्कन
आफैँमाथि सजाउन सकुँ
पि्रय र पि्रयतम म आफैँ बन्न सकुँ ।
हरिलाई लाग्छ, नयना भनिरहेकी छे, “पुग्यो मलाई सांसारिक लीला । म सत्य, प्रेम र शान्तिमा समर्पित हुन चाहन्छु ।
-यस्ता कविताहरूले भरिएका कवि डा. शीला दलीको कवितासङ्ग्रह ‘बिर्सिएका ती पाइलाहरू’ बाट अरू थुप्रै राम्रा कथाहरूको कल्पना गर्न सकिन्छ । मेरो यो कथा पनि उनका ती कविताहरूले कोरेका काल्पनिक एक टुक्रा जीवनको आकार मात्र हो । प्रेमपीडा र मुक्तिको परिधिमा घुमेका यी कविताहरूले के कस्तो दृष्टि प्रवाह गर्न सक्छन्, एकफेर यो सङ्ग्रह पढेर हेर्नोस् । यी कविता धेरै वर्ष पहिले लेखिएका भए पनि सत्य अमर रहन्छ भनेझैं आज पनि सान्दर्भिक रहेको छ ।)