कोभिड-१९
बिनु अस्पतालको मेटर्निटि हलमा झुन्डिएको केलेंडरलाई निकै बेर देखि ध्यान गरिरहेकी हुन्छिन्। घडीको काँटा घुमेको घुमै छ। हिजो जहाँ बाट सुरु भएको थियो आज फेरि त्यहींबाट अघि बढिरहेको छ। यो समय पनि कहाँ जान हतारिएको हो खोइ कस्ले बुझ्न सक्ने र? आज घरिघरि प्रसवको बेदनाले छट्पटी हुँदै छ। एक एक पल कटाउन मुस्लिम भएको छ। सास फेर्न त झनै गाह्रो छ। खोइ कति दिन सम्म यसरी समय कुर्नु पर्ने हो थाहा छैन। डाक्टरले दुई दिन पछि मात्र भनेको थियो। उनलाई संसारको सबैभन्दा धेरै भाग्यमानी हुँ भन्ने लाग्छ । रबिन र सासुआमाले धेरै हेरचाह गरेका छन्। समय समयमा ख्याल राख्दै आएका छन् । प्रेग्नेंसीको समयमा राम्रो सोच विचार, मुल्यवान किताब पढ्दा नानीलाई त्यही प्रभाव पर्छ भनेर उनले सधैं राम्रा-राम्रा किताब पढ्ने बानी बसालेकी थिइन्। यस्तै कुराहरु सोच्दा सोच्दै समय बित्दै जान्छ । फेरि प्रसव वेदनाले छट्पटी हुन्छ। एक एक पल उनको गाह्रो हुन्छ।
रबिन , उनको श्रीमान टिफिनमा खाने कुरा लिएर आउँछन्। आज ऊ निकै हताश देखेर बिनु भावुक हुन्छिन्। रबिन भन्छन्, यो अस्पताल अब हाम्रो लागि सुरक्षित देखिन। यहाँका नयाँ पेसेन्ट पनि पोजेटिभ निस्किएछन्। अब छिटै सुरक्षित ठाउँमा जानु पर्दछ भन्दै मात्रै थिए। अचानक बिनु छट्पटाऊन थाल्छिन्। टिफिन टुंगोमा राख्न नभ्याइ हातबाट खसेको आवाजले छेउछाउका महिलाहरु पनि आत्तिएर आउँछन् । लगत्तै बिनुलाई अप्रेसन थिएटरमा पुराइन्छ।
बिनुले झिमझिम गर्दै बिस्तारै आँखा खोल्दा अर्को बेड अर्कै केलेण्डर देख्छिन्। भित्तामा हाँसिरहेका नानीका चित्रहरु थिएनन् । उ छट्पटाऊन पनि सकेकी थिइनन्। पेट भित्रको नानीले लात्तीले हानेको छैन। आफैंलाई निकै हलुङ्गो लाग्यो।
लामो सास फेर्दै आँखा चिम्लेर बालस्मृतिमा हराउछिन् । कुनै पनि नारी आमा भै सकेपछि आफ्नो सबै थोक बिर्सेर त्यही वात्सल्य प्रेममा रमाउँने गर्छन् ।ऊ पनि रमाउन थालेको धेरै दिन भयेको थियो । कल्पनाको आकाशको दिगन्तमा लामो उडान भर्छिन्। नानीलाई रबिनको काखबाट खोसेर आफ्नो अङ्गालोमा राख्ने कोशिश गर्छिन् । दुबैको बीचमा खुशीले रमाउने र बेला-बेला झगडा गर्ने कारण नानी छ। रबिन हिजो आज बालसुलभ व्यवहार र चन्चले स्वभावका भएका छन्, आफ्नो अनुहार संग नानीको अनुहार मिलेको जिद्दी गर्छन् । रबिनले नानी ऊ बाट खोसेर लगेको लगै ओझेल हुँदा सहन नसकी चिच्चाउँदा चिच्चाउँदै झसङ्ग झस्किएर आँखा खोल्छिन्।
एता उता आँखा डुलाउँदा सारा सपना लाग्छ। पछि थाहा हुन्छ ओल्टे कोल्टे फेर्न नसकेपछि अरुको गुहार माग्न पुग्छिन्। तर कोही पनि बोल्दैनन् । ऊनको टेम्परेचर हेर्न आउने नर्सहरुलाई ऊनले बारम्बार धेरै प्रश्नहरु गरेकी थिइन् । उनीहरुको केही प्रत्युत्तर नपाउँदा झनै दुखि हुन्छिन्। कुन बिहान कुन राति केही थाहा छैन। छेउमा कोही छैनन्। परैबाट खाना राखेर जान्छन्। राम्रो गरी कोही पनि बोल्दैनन्। बस्न उठ्न गाह्रो हुन्छ।
बिहे भएको सात बर्ष सम्म कोख खाली हुँदा धेरै ताना-बाना सुन्नु परेको थियो । तर आज उनको कोखमा आएको खुसीलाई पनि छेउमा पाएकी छैनन्। भित्तामा झुन्डिएका कोभिड-१९का तस्बिरमा आफ्नो बिरामीको लक्षणहरु छुट्याउन सक्ने भएकी छन् ।अछूत बिरामले च्यापेपछि को पो उनलाई सुम्सुम्याउँदै आउँछ र ? कस्ले पो सुत्केरी भन्दै स्याहार सुसार गर्ने।आँखाबाट बरबर आँसु झार्दै मृत्युको परिभाषाका तस्बिरहरु पलपल छेउमै घुमिरहेको देख्छिन् । यस्ता सोचहरु मानसपटलमा वरिपरि मौरी जसरी घुम्न थालेका छन्। नानी पनि सुरक्षित छ भन्ने कुरा थाहा पाए पछि आफ्नो इमिउनिटी शक्ति बढाएर बिरामलाई जित्नु परेको छ। सकारात्मक सोच संग जिउने साहसिक मानसिकताको मुना पलाउँदैछन्। । छेउ छाउका बिरामीहरुलाई प्रोत्साहन गर्छिन् । आमा भै सकेपछि उनीमा धेरै जिम्मेवारी भएको अनुभव हुन्छ। नारीको कर्तव्य एउटा झ्याङ्गिएको ठूलो रुख जस्तै हो, जस्को शितलताको सहाराले छेउ छाउका निकै बोट बिरुवा, जनावर र चरा चुरुङ्गीहरुले आश्रय लिएका हुन्छन्।
बिनुलाई थाहा थियो कि यो कोभिड-१९ संक्रमणको उपचारका औषधी आविष्कार हुन सकेको छैन। यसबाट बाँच्नलाई र यसलाई हराउँनलाई आत्मबल साह्रै दर्बिलो हुनुपर्छ। डर मानियो भने आफू कमजोर होइन्छ र त्यसले आफूलाई नाश पार्न पनि सक्छ। त्यसैले ऊनी सबेरै उठी आफ्नै बेडमा सुति सुति ईश्वर ध्यान, सकारात्मक सोच, तातो पानी पिउन, तनाव होइन हाँसेर अरु संग बात चित गर्ने, अरुलाई हौसला दिने, नियमित ज्वरोको औषधी सेवन गर्ने गरिन्। आफ्नो सन्तान परिवार र देशकै लागि केही गर्नुपर्छ भन्ने आँटिको सोच अनवरत सोचिरहन्थिन्। सायद त्यसैको परिणाम होला पछिल्ला दिनमा भएको स्वास्थ्य परीक्षणहरुमा कोभिड-१९ का भाइरसहरुको मात्रा घट्दै घट्दै रिजल्ट नेगेटिव निस्किएको बिनुको उपचारमा खटिएका डाक्टर र नर्सहरुको हँसिलो अनुहार पढेरै ऊनीलाई थाहा लागि सकेको थियो। नभन्दै एक दिन अस्पताल बाट औपचारिकरुपमै बिनु कोभिड-१९ बाट मुक्त भएको पत्र हातलागि भयो। ऊनीलाई यो सपना झैं लागि रह्यो। नभन्दै उनीलाई त्यहाँबाट अर्को सेन्टरमा सारियो। जहाँ १४ दिन सम्म फेरि पनि क्वारेन्टाइन् गरी हेरचाहका साथ एक्लै राखियो। मनमा सागरको भेल जस्तै हजारौं प्रश्न उठ्ने गर्थ्यो। दिन-रात सपना विपना सबै एकै बनाउँदा थाहै नपाई त्यो अवधि पनि सकिएछ।
आज त्यस सेन्टर बाहिर केही.कोलाहल छ। सरकारी बिषया आएर आफूलाई घर जाने अनुमतिको पत्र थमाइदिये। हर्षले होला फेरी सबै हात गोडानै बिलाए। सबै सपना झै लागिरह्यो।
बिनु बाहिर आइन, सबैले कोभिड-१९ लाई पराजित गरेकोमा धन्यवाद दिए, फूल बर्षाएर स्वागत गरें। आँखा रसाए। आमा-बाबा, सासू- ससूरा, दिदी-बहिनी, रबिन अनि ऊनको नयाँ प्राणलाई भैटि अंगालोमा लिई हर्षका आँसुले सबै पीडा धोइ रहिन्।
इन्दिरा गौतम
ओदालगढी, असम