Kusum Gyawali – Ralo (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – रालो (लघुकथा)

मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ……… मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।

बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।

बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।

टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।

Kusum Gyawali – Nabhanchine Lauro (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नभाँचिने लौरो (लघु कथा)

“हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन । आफू मन्त्रालयमा रहँदा हामी सिङ्गै देशको प्रतिनिधि हो भन्ने संझनु पर्छ । हामीले बिचार, आस्था, लिङ्ग जात, भाषा सम्प्रदाय कसैलाई पक्षपात गर्नु हुँदैन । विशाल हृदय वनाउनु पर्छ ……. ।” कमरेडको भाषणाले सबै गम्भिर भए । ” जोसँग व्यवसायिक क्षमता छ त्यसलाई जिम्मा दिनुर्पर्छ ।” कमरेडले भनेका कुरामा प्रशिक्षणमा आएका कसैले विरोध गरेनन ।


“ए हजुर त्यो गोविन्देले बनाएको पारी गाउँको कुलो दुई महिनामा भताभुङ्ग भयो । भरत कमरेडले ठेक्का लिएर बनाएको माथ्लो गाउँको कुलो १० वर्षभयो एक ठाउँमा पहिरो गा’छैन । कामको गुणस्तर हेर्नु पर्दैन हजुर ! सबै पार्टीलाई समेट्न, अर्को पार्टीको मान्छेलाई पनि समान अवसर दिन्छौं भन्ने सन्देश दिने नाममा त्यस्ता ठग ठेकेदारलाई काम दिन उपयुक्त होला त ? ठगलाई कालोसूचीमा हालेर पो कारबाही गर्नु पर्ने होइन त हजुर ।” कान्छी श्रीमतीले कमरेडको भनाई र गराईको बीचको भिन्नतालाई विरोध गरिन ।


“हेर कान्छी आफ्नै पार्टीका इमान्दार कार्यकर्तालाई काम दिनुहुन्न । तीनलाई काम दिंदा कमिशन माग्यो भने मात्र पनि पार्टी कुरा उठ्छ । अनि राजनीति डामाडोल हुँदैन ? अर्को पार्टीलाई ठगनै भए पनि काम दिंदा कमिशन पनि दिन्छ । पार्टीमा कुरा पनि उठ्दैन । पत्रकारले छापे भने “पार्टीको इमेज बिगार्न अर्को पार्टीले षडयन्त्र गरेको भन्यो बच्यो । साँप पनि मर्ने लौरो पनि नभाँचिने ! बुझिस । कान्छी !” कमरेडको अनुहारमा कुटिल मुस्कान देखा पर्‍यो ।

Kusum Gyawali – Shalik Ko Mukhakriti (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – शालिकको मुखाकृति (लघुकथा)

–“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या’थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।

Kusum Gyawali – Karyakarta (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – कार्यकर्ता ( लघु कथा)

चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।

उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्‍याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्‍याउने मान्छे त अन्धो रहेछ।

अन्धोले नेतालाई डाहोर्‍याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्‍यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्‍याईदै पछि पछि लागिरहे।

Kusum Gyawali – Nari Akarshan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नारी आकर्षण (लघुकथा)

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।