Kumud Adhikari – Andhakar Ananta

कुमुद अधिकारी – अन्धकार अनन्त
(साहित्य सरिता)

मस्तिष्कले शून्यतामा पौडिरहेका बेलामा न केही लेख्‍न सकिन्छ न त केही सोच्न नै। सोचको शून्यता यति सारो भयावह लाग्दो रहेछ मैले यतिखेर अनुभव गरिरहेको छु। बितेका केही हप्ताहरूमा मैले केही लेख्‍न सकिरहेको छैन। भावशून्यताको पोखरीमा डुब्दाडुब्दै केही देखिन्छ कि, केही आउँछ कि किनारमा जसको सहाराले म पौडिन सकूँ भन्ने लागिरहेको थियो कैयौँ दिनदेखि। पढाउने-पढ्ने पेसा अँगालेको मलाई, यस्तै क्रममा एक दिन पहिलो घण्टी सकिएर दोस्रो घण्टी लाग्न लागेका बेलामा भीमदाइले आएर भन्नुभयो – “सरलाई भेट्न कोही आउनुभएको छ।”

मैले पनि सामान्य कोही होला आखिर मानिसहरू आइरहन्छन् भेट्नलाई भन्ठानेर भनेँ –“लाइब्रेरीमा बस्तै गर्न भन्नुहोस् न है, भीमदाइ !”

दोस्रो घण्टी सकिएर लाइब्रेरीमा छिर्दा एकजना मान्छे बसिरहेको थियो। कहिल्यै नदेखेको मान्छे, रोगीजस्तो, लाचारजस्तो, अनुहारबाट कान्ति हराएजस्तो, जीवनको लडाईँ हारेजस्तो मान्छे बसिरहेको छ। उसले पनि मलाई चिनेजस्तो लागेन। छेउमा गएर परिचय नदिई उभिइरहेँ। सायद उसले नचिनेकैले होला मसँग केही बोलेन, मैले त चिनेको थिइनँ तर निकैबेर उसको अनुहार हेरेपछि कताकता यस मानिससँग निकै लामो सङ्गत गरेझैँ लागिरह्यो। अन्यमनस्क स्थितिमै उसलाई हेरिरहेँ।

धेरैबेर त उभिने समय पनि थिएन। त्यसैले सोधेँ – “तपाईँले मलाई खोज्नुभएको हो ? मै हुँ सञ्जीव कट्टेल।“

उसले बिस्तारै नमस्कार गर्‍यो र भन्यो- “सर नमस्कार ! सर म साह्रै अन्यायमा परेँ। ममाथि अन्यायमात्रै भएको छ। जसोतसो मृत्युको मुखबाट बाँचेर आएको छु। सरले मेरो उद्धार गरिदिनुपर्‍यो !”

अचानक उसका त्यस्ता कुरा सुनेर मेरो झन्डै सातो गयो। यसो हेर्दा मर्न आँटेको मान्छे छ, उद्धार गरिदिन भन्छ। अब यसले निकै पैसा कुम्ल्याउने भयो भनेर म मनमनै निकै अत्तालिएँ । आजभोलि सहायताको नाममा माग्न आउने जस्ता पनि मानिसहरू भेटिन्छन्। को साँचा हुन् र को झुटा पत्ता लगाउनै गाह्रो। फेरि मृत्युको मुखबाट बाँचेर आएको भन्छ, के भएको छ यसलाई ? कि युद्धपीडित हो या साँच्चैको घातक बिरामीको चपेटामा परेको छ कि ? कि विशुद्ध ठग हो। मैले धेरै यस्ता ठगहरूलाई देखेको छु जसले दुःखको सजीव अभिनय गरेर साधारण मानिसलाई सजिलै थाङ्‌नामा सुताइदिन सक्छन्। अझ आफूले काम गरेकै कलेजमा त त्यस्ता ठग व्यापारीहरू आरामले ‘ट्रेनिङ’का नाममा व्यापार गरिरहेका हुन्छन्। केही बोल्यो भने यो ‘बाठो भयो‘ भन्ने भनाइ पाइएला भन्ने डर।

तर मान्छे भेट्न आएपछि बोल्न त परिहाल्यो। ठग वा जे भए पनि यति भित्रसम्म आइपुगेको मान्छेलाई त्यसै पठाउन त सकिन्नथ्यो। आँटिलो देखिने अभिनय गर्दै भनेँ- “तपाईँ पहिले आफ्नो परिचय दिनुहोस्, के दुःख परेको छ त्यो भन्नुहोस्, तपाईँलाई परेको अन्यायको बेलिविस्तार लाउनुहोस् अनि मात्रै न म केही भन्न सक्छु। त्यसै पनि म उद्धारकर्ता त होइन। हेर्नुहोस् ! यही कलेजमा पढाएर आएको तलबले मैले म र मेरो परिवारलाई भरणपोषण गर्नुपर्छ। तपाईँलाई देश, काल र परिस्थिति त थाहा छँदै छ। तैपनि मानवीय नाताले धेरथोर मैले सकेको अवश्य गर्नेछु।“ केही रकम दिएर टार्नुपर्ला भन्ने गम्दै थिएँ म।

उसका अनुहारमा अवसादका रेखाहरू देखापर्न थाले, उसले मानौँ वेदना ओकल्यो- “सर ! माफ पाऊँ। मैले परिचय नै नदिई यसरी सरसँग सहायता माग्न हुँदैनथ्यो। म पनि कस्तो हुस्सु। सर ! म भर्खरमात्र कीर्तिपुरको मेरो डेराको मृत्युशय्याबाट निस्केर आएको हुँ। ममा जीवन राम्रोसँग छिरेकै छैन। सरले मेरा बोली र लवजहरू केही अनौठा मान्नुभयो होला। सर म त्यही कीर्तिपुरको डेराबाट सुकरात सरलाई पनि नभेटी सीधै तपाईँलाई भेट्न आएको हुँ।“

“अरे………..!” म अवाक् भएँ। घोर आश्चर्यमा परेँ। यो के सम्भव छ र ? कि म सपना देख्तै छु। यो मान्छे त ‘सुकरातका पाइला’को नायकजस्तो पो छ त। अनन्तजस्तो। हिजोमात्र मैले डा. गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ पढिसिध्याएको थिएँ। पढेको एक मिनेट पनि नबिती उहाँलाई फोन गरेर बधाई दिएको थिएँ। खुसी व्यक्त गरेको थिएँ। ‘देशमा घटेका घटनाहरूको यति सजीव चित्रण मैले यसभन्दा अघि कहिल्यै नेपाली साहित्यमा पढ्न पाएको थिइनँ सर !’ भनी भनेको थिएँ। यसरी भोलिपल्टै उपन्यासको पात्र मेरा सामु पाउँदा मैले कसरी विश्वास गर्नु ? मेरा आँखाहरू उसबाट हटेनन्। म मानौँ जड़ भएँ उसका सामु। यो उपन्यासको पात्र कसरी आयो त ? उसले मानव रूप कसरी लियो ? कि ऊ भ्रममात्र हो ? मेरो जड शरीरभित्र प्रश्न र जिज्ञासाहरूको भुमरी नै परेको थियो।
मनमा अनेकखाले विचार खेल्न थाले। यो मान्छे ममाथि अन्याय भयो भन्दै आएको छ। मैले यसमाथि के न्याय गर्नु र ? कथा बुनेर उपन्यासको पात्रलाई न्याय गर्न सकुँला र ? आख्यानकर्ममा त म छु तर मेरा श्रद्धेय दाजु गोविन्दराज भट्टराईको पात्रलाई मैले कसरी प्रयोग गर्नु ? मैले उहाँको पात्रमाथि खेलवाड गर्दा मलाई मुद्दै पो लाग्ने हो कि। म नाथे अड्डा-अदालत कहिल्यै नधाएको मान्छे। मैले फेरि उहाँलाई के मुख देखाउनु। यस्ता विचारै विचारका आँधीहरूबीच म रुमल्लिएको बेला ऊ फेरि बोल्यो –
“हो सर ! हजुर छक्क नपर्नुहोस्। म त्यही ‘सुकरातका पाइला’को अनन्त हुँ। म नर्फोकबाट बी.ए. पास गरेर काठमाडौँ आउँदा ठूलो उमङ्ग बोकेर आएको थिएँ। तर मलाई गोविन्दराज सरले साह्रै अन्याय गर्नुभयो सर !”

मैले भनेँ- “हेर्नुहोस् अनन्त भाइ, म तपाईँ अर्थात् ‘सुकरातका पाइला’को नायक मेरा सामु मान्छेकै रुपमा छ भन्ने कुराको आश्चर्यबाटै मुक्त हुन सकिरहेको छैन। यस्तो अन्योलको स्थितिमा तपाईँलाई कसरी न्याय गर्न सक्छु र ? फेरि मैले कसरी न्याय गर्ने तपाईँलाई ? तपाईँ गोविन्दराज सरको पात्र। तपाईँलाई मैले आफूले चाहे जसरी हिँडाउन सक्तै सक्तिनँ। एउटा त प्रतिलिपि अधिकार, त्यसमाथि पनि गोविन्दराज सरजस्तो आदरणीय व्यक्तित्व। म केही गर्न सक्छु जस्तो त लाग्दैन। तपाईँमाथि न्याय गर्न त ‘सुकरातका पाइला’को पुनर्लेखन गर्नुपर्‍यो, जुन मेरो अधिकारबाहिरको क्षेत्र हो। अनि सबभन्दा मुख्य कुरो तपाईँले ‘सुकरातका पाइला’मा एउटा जीवन बाँचिसक्‍नुभयो र पात्रको इच्छाअनुसार उपन्यास पुनर्लेखन भएको कतै मैले थाहा पाएको छैन। अनि फेरि एउटै जीवन दुईपल्ट बाँच्न त सकिँदैसकिँदैन।“
ऊ फेरि अगाडि बढ्यो- “होइन सर ! म ‘सुकरातका पाइला’मा एउटा छोटो जिन्दगीमात्र बाँचेको छु। त्यो पनि अन्यायपूर्ण जिन्दगी। मैले सरलाई अघि पनि भनेँ नि म फेरि ‘सुकरातका पाइला’को मृत्युशय्याबाट त्यहाँ फर्केर नजाने गरी सुकरात सरलाई पनि नभेटी सीधै सरकहाँ आउँदै छु। सरहरूले मान्छेको दुई-तीन वर्षको जिन्दगीलाई नै उसको सम्पूर्ण जीवन ठान्नुभएन। मान्छे परिवर्तन त हुन्छ नै, त्यस्तै जीवन पनि त परिवर्तनशील छ। म ‘सुकरातका पाइला’को अनन्त हैन अब। तर मैले त्यसो भन्दैमा दुनियाँले त त्यो भन्दैन। ठान्छ अनन्त मरिसक्यो। सरले मलाई नयाँ परिचय दिनुपर्‍यो। ममाथि न्याय गर्नुपर्‍यो।”

म अझै पनि सामान्य हुन सकिरहेको छैन। सपना हो कि विपना हो ? तर सजीव पात्र आफ्ना सामु उभिएपछि उसका कुराको जबाफ त दिनै पर्‍यो- “अनन्त जी ! म यो कसरी गर्न सक्छु र ? यो काम त सर आर्थर कोनान डोयलले आफ्नो पात्र सर्लक होम्सलाई ब्यूँताएजस्तै तपाईँलाई पनि गोविन्दराज सरले मात्र पुनर्जीवित पारेर अरू कृतिहरूमा सम्मानजनक ठाउँ दिन सक्‍नुहुन्छ। तपाईँ उहाँको पात्र, यसमा मैले के गर्न सक्छु र ? हेर्नुहोस् कपिराइटको मुद्दा पर्‍यो भने मेरो त जिन्दगी नै खत्तम हुन्छ। केही सपनाहरूको खेती गरेर बाँचेको छु। तीनै सपनाहरूमा पनि बाढी आयो भने मैले के गर्नु ? भन्नुहोस् त ?”

मलाई मेरो भाषामै याचना लुकेजस्तो भान भयो। केही बेर अलमलिएँ पनि। मैसँग केही माग्दै आएको मानिस पात्रलाई हेरेँ, त्यसै माया लागेर आयो, लज्जाबोध भयो। माग्‍नेसँग के मागेको हुँला भन्ने लागिरह्यो। तर स्थिति बडो विचित्रको थियो। यो विचित्रताले अनौठो अनुभूति पनि दिइरहेको थियो। वरिपरि हेर्दा पनि कुनै अर्कै ठाउँजस्तो, फेरि त्यही परिचित ठाउँ पनि लाग्‍ने। आफूलाई हावामा तैरिरहेकोजस्तो लाग्‍ने कोहीबेला, कोही बेला झ्यालबाट छिरेको हावा नै मादक लाग्‍ने। यस्तै अनुभूतिका बीचमा फेरि कक्षामा जाने घण्टी लाग्यो। म मानौँ धरातलमा पछारिएँ।

ऊ त्यहीँ बसेर मलाई हेरिरहेको थियो। मैले भनेँ- “हेर्नुहोस् अनन्तजी ! अहिले मैले क्लास जानु पर्‍यो। तपाईँसँग म फेरि कुरा गर्छु।” भनेर मित्र राजेशमानजीलाई अनन्तको वासको व्यवस्था गरिदन अनुरोध गरेँ। अब बी.ए. तेस्रो वर्षमा गएर ‘इलिमेन्ट्‍स अफ फिक्सन’मा मैले अनुभव गरेका कुरालाई कसरी समायोजन गर्ने भन्ने कुरा मनमा खेलाउँदै म लाइब्रेरीबाट बाहिर निस्केँ।

***

अर्को दिन राजेशमानजी सहित अनन्तलाई भेट्न भनी उसलाई राखिएको गेस्टहाउस कञ्चनजङ्‌घामा पुग्यौँ। छुट्टी थियो, हतार थिएन। आज चाहिँ अनन्तलाई के अन्याय परेको रहेछ भन्ने बुझेरै मात्र जाने विचारले आएका थियौँ। राजेशमानजी त बेलाबेला बौलाएको जस्तो गरिरहनुभएको थियो।हिजो अनन्तजी उपन्यासको पात्र हो भने पछि त उहाँ झन्डै बेहोस हुनुभएको थियो। तर मैले नै उहाँलाई आफू कति छक्क परेको छु भन्ने कुरो बताउँदा पनि उहाँको व्यवहारमा सनक आउन छाडेको थिएन। मैले बडो मुस्किलले उहाँलाई आज अनन्तलाई भेट्न जाऔँ भनी मनाएको थिएँ। खै किन हो मलाई एकजना साथी भैदिए हुन्थ्यो भन्ने लागेर हो कि वा अनन्तले मलाई केही गर्छ भन्ने लागेर हो, यसै भन्न सक्तिनँ। त्यसैपनि यो हाम्रो साक्षातकार यस प्रकारको पहिलो नै थियो। सबै मान्छेलाई वास्तविकता बताउने कुरा पनि भएन। आफैँलाई पत्याउन गाह्रो परिरहेका बेलामा, अरूले त के भन्लान् भन्ने लागिरह्यो।

हिजो भन्दा अनन्त निकै बदलिएको रूपमा देखियो। दारीजुँगा काटेर कपाल कोरेर चिटिक्क परेको। तर अनुहारको ओज भने हिजोको जस्तो नै थियो। उसले देखाएका सोफामा बसिसकेपछि मैले नै कुरा अगाडि बढाएँ- “ल अनन्तजी ! अब सुनौँ तपाईँलाई परेको अन्याय। मैले उपन्यास पढ्दा त केही त्यस्तो लागेको थिएन। तपाईँका काम र भावनासँग, तपाईँको प्रेमसँग, तपाईँका गुरु सुकरातसँग, तपाईँका हरेक पाइलाका अप्ठ्याराहरूसँग हिँड्‌दा मलाई पटक्कै तपाईँमाथि अन्याय भयो जस्तो लागेको थिएन।देशकै त्यस्तो दुर्दशा भएका बेला त्यसरी माया गर्ने प्रेमिका गुमाएपछि, विदेश जान लाग्दा दलालका पञ्जामा परेपछि र कुसङ्गतमा लागेपछि, निराशाका चरम विन्दुहरू पार गर्दा मान्छेले मुक्तिको बाटो रोज्छ र तपाईँले पनि त्यही रोज्नुभयो। फरक त्यति मात्र हो कि तपाईँले आत्महत्यासम्बन्धी त्यति धेरै खोजबिन गरेर त्यही बाटो रोज्नु भयो, अरू कसैले मुक्तिको अर्कै बाटो रोज्थ्यो होला। खै मैले त केही अन्याय भएको देखिनँ। अनि फेरि अर्को कुरा, यदि अन्याय नै भएको हो भने पनि तपाईँ सिधै, आफ्ना लेखक गोविन्दराज सरकहाँ जानुपर्ने थियो। सिधै नगए सुकरात सरलाई भन्न लगाएको भए पनि हुन्थ्यो। तपाईँको साथी गोपीलगायत अरूहरू पनि त थिए होलान् ! तपाईँ मकहाँ यति टाढा किन आउनुभयो ? काठमाडौँमा पनि अनेक लेखक थिए होलान् ? तपाईँलाई इटहरी नै आउनुपर्ने कारण के त ? अनि फेरि मेरो ठेगाना र परिचय तपाईँले कसरी पाउनुभयो र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई मैले उद्दार गरिदिन्छु भन्ने कसरी लाग्यो ?”

मैले सम्भवतः मेरा मनभित्र उब्‍जेका धेरैजसो जिज्ञासाहरू एकैचोटि ऊमाथि खन्याएँ। मेरा यी कुराहरू सुनिँरहदा ऊ केही विचलित पनि देखियो। तर केही बेरमा शान्त भएर भन्न थाल्यो- “सर ! माफ गर्नुहोला। मैले तपाईँलाई भन्ने कुरा धेरै छन्। र मैले भनेका कुराहरू सबै सिलसिलेवार नहुन पनि सक्छन्। तैपनि म तपाईँलाई तपाईँका सबै प्रश्नहरूको जबाफ दिने कोसिस गर्नेछु। यतिका दिनसम्म, नर्फोकबाट काठमाडौँ आएपछि लेखकको हातको कठपुतली भएर बाँचिरहेँ। लेखकले जसो चाह्यो त्यसै गरिरहेँ। मैले विद्रोह गर्न सकिनँ। सकिनँ पनि कसरी भन्नु पात्रले लेखकसँग विद्रोह गर्नै सक्तोरहेनछ। पात्र भनेको लेखकद्वारा निर्मित चरित्र, जसरी चाह्यो त्यसरी नै नचाउन सक्‍ने।
सर ! म नर्फोकमा पढ्दैदेखि काठमाडौँमा हुने क्रियाकलापहरूसँग परिचित थिएँ। विश्वविद्यालयमा भर्नाको मिति सकिएको पनि मलाई नर्फोकमै थाहा भैसकेको थियो। सधैँ सोझो मान्छे म छक्कापन्जा नजान्ने, मलाई लेखकले कुसमयमा विभागीय प्रमुखकहाँ पुर्‍याइदिनुभयो। मैले भर्नाको मिति सकिएपछि विभागिय प्रमुखलाई दबाव दिन चाहेको थिइनँ। अझ एकपल्टको असफलतापछि राजनीतिक हस्तक्षेपको सहायतामा रणसङ्ग्रामसँग त्यसरी धम्क्याउने त मेरो पटक्कै इच्छा थिएन। केही महिना पहिले नै काठमाडौँ आउनुको मेरो उद्देश्य आफूलाई सूचनाप्रविधिसँग अझ बढी परिचित गराउनु थियो।

मैले यही एउटा काम लेखकसँग लुकेर गरेँ सर। मैले कम्प्युटर सिकेँ। क्याफेमा धाउन थालेँ। इन्टरनेट सर्फ गर्न थालेँ। खोइ किन हो, उच्च शिक्षा हासिल गर्न नर्फोकबाट आएको ठिटोले कम्प्युटर सिक्छ र इन्टरनेटमा खोजीनीति गर्छ भन्ने कुरो लेखकले चाल पाउनुभएन। यही कुरो मैले उहाँबाट लुकाएँ। भनौँ न उहाँबाट जोगिन सफल भएँ। सरको नाम र ठेगाना मैले इन्टरनेटबाटै लिएको हुँ। सरलाई केही प्रश्नहरूको जबाफ मिल्यो कि ?”

उसले टेबलमा राखेको जगबाट गिलासमा पानी सारेर दुई गिलास पानी पियो र फेरि भन्न थाल्यो- “तर सर ! मैले अरु कुराहरूमा लेखकलाई केही गरी झुक्याउन सकिनँ। मनमा जे भए पनि यन्त्रमानवजस्तै लेखकले जे चाहनुभयो त्यही गरिरहेँ। मलाई अस्तित्वमा ल्याउने त उहाँ नै भएकाले होला मेरा इच्छा र आकाङ्‌क्षाहरू मेरा कर्मभन्दा गौण हुन पुगे ।

तर मैले चाहेको त्यो थिइनँ। पढ्नमा मलाई साह्रै रुचि थियो। विशेष अङ्ग्रेजी साहित्यमा साह्रै रुची भएकैले नर्फोकमै मैले प्रमुख विषय अङ्ग्रेजी राखेको थिएँ। विशेष आख्यानमा रस पसेकाले मैले बीए दोस्रो वर्षको पुस्तकमा भएका प्रायः सबै कथाहरू पढिसिध्याएको थिएँ। त्यसमा पनि मुपासाँ र चेखभका कथाले म अत्यन्त प्रभावित भएको थिएँ। अनि पढ्ने क्रममा खोजी गर्दै जाँदा अरू कथासाहित्यहरू पढ्न थालेँ। रस भिज्दै गयो, पढ्दै गइयो, अर्थात् पढाइको नसा जस्तो लाग्यो। कथासाहित्यको खोजी गर्दै जाँदा मलाई सबैभन्दा बढी लु सुनका कथाहरूले प्रभावित पारे।
अझ लु सुनको कथासङ्ग्रह ‘सेलेक्टेड स्टोरीज अफ लु सुन’मा उनका केही शब्दहरू पढेपछि त मलाई उनको बाटो पछ्याउनुमा नै जीवन सार्थक छ जस्तो लाग्यो। उनले समाजमा परिवर्तन ल्याउनका लागि साहित्य नै सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा पत्ता लगाएर लेख्‍न थालेका थिए। उनका कथाहरू पढ्दा लाग्छ, उनको लेखनीले मानिसको चेतलाई यसरी कोट्याउँछ कि मानिस सोच्न बाध्य हुन्छ, घोरिन बाध्य हुन्छ र केही गर्न बाध्य हुन्छ।
भो धेर कुरा गरेँ हुँला सर। मैले धेरै पढेको छु भन्न चाहेको हैन। तर म उच्च शिक्षा हासिल गरी लेखक बन्ने चाहनाले चाहिँ पक्कै काठमाडौँ आएको थिएँ। नेपाली साहित्यकै पनि प्रभावशाली लेखकहरूलाई पढ्दा मलाई लेखनको महत्त्व र प्रभाव राम्रैसँग थाहा भैसकेको थियो।”
अनन्त यति भनेपछि उठेर टोइलेटतिर लाग्यो। म र राजेशमानजीले मुखामुख गर्‍यौँ। उहाँले पनि ‘सुकरातका पाइला’ त पढ्नुभएको थियो। अनन्तको कथा सुनेपछि उहाँको अनुहारमा विचित्रका भावहरू आउन थालेका थिए।

म पनि सामान्य थिइनँ अर्थात् भनौँ सामान्यता र असामान्यताको बीचमै थिएँ। उपन्यासको पात्र वास्तविक जीवनमा मानिसको रूपमा आएपछि म ट्रान्समै थिएँ। अझ राजेशमानजी त झुमिरहनुभएको थियो। यस्तै स्थितिमा अनन्त फर्केर आएपछि मैले फेरि प्रश्न राखेँ- “अनि अनन्तजी, पूर्णिमाको मृत्यु, जनयुद्ध र वैदेशिक म्यानपावर कम्पनीका कुरा चाहिँ के हुन् नि ? कि ती पनि तपाईँले चाहे विपरीत नै भएका हुन् या गोविन्दराज सरले त्यता पनि अन्याय गर्नुभएको छ ?”

पूर्णिमाको मृत्युको प्रसङ्गले अनन्तको अन्तःस्करणमा कतै चस्स घोचेछ क्यारे, कागतीलाई घोच्दा रस निस्केझैँ उसका आँखाहरू रसाए। तिनै आँखाका वेदनाहरूलाई लुकाउन खोज्दै अगाडि उसले भन्यो – “सर ! पूर्णिमाको मृत्यु एउटा त्राशद सत्य हो। जनयुद्ध यो विचरो देशले भोगेको यथार्थ। इतिहासको यो कालखण्डबाट न म नै मुक्त छु न मजस्ता अरू पात्रहरू। नेपालमा बस्‍ने वा बाहिर बस्‍ने नेपाली जो कोही होस् उसले जनयुद्धको त्राश उत्तिकै भोगेको छ, हामीहरू सबै एउटै हिसाबमा पिल्सिएका छौँ, डढेका छौँ। यही जनयुद्धले मेरी प्रेमिकालाई खोस्यो, यो भन्दा बढी सत्य के हुन सक्छ र ?

यो जनयुद्ध सुरु गर्दा सायद यसका पछाडि राम्रै कारणहरू पनि थिए होलान्, कुनै पवित्र उद्देश्य बोकेरै युद्ध लडिएको हुनुपर्छ। तर सर युद्ध युद्ध नै हो, युद्ध गर्नुभन्दा अघि जेजति भने पनि युद्ध गर्दा ती भनेका कुराहरू गौण हुन जाँदा रहेछन्। मानवाधिकार, सार्वजनिक सम्पत्ति, सर्वसाधारणको ज्यान सबै युद्धका बाधकहरू हुँदा रहेछन्। जित्‍नुपर्छ र जित्‍नैपर्छ। युद्ध जित्‍नका लागि चाहे जे गर्नु परोस्। सायद गुरिल्लायुद्ध भनेको यही हो क्यारे। मलाई त त्यति थाहा छैन। तर यही गुरिल्लायुद्धले मेरी पूर्णिमाको ज्यान लियो।”
अनन्त भावुक भयो। केही क्षण मौन रह्यो। यो मौनतालाई म र राजेशमानजीले पनि तोड्न सकेनौँ। हामीले पनि केही न केही त्यही भोगेका थियौँ जो अनन्तले भोगेको थियो। साझा भोगाइका अनुभूतिहरू मिलेछन् क्यार, हाम्रा पनि आँखा रसाए।

अनन्तले अगाडि भन्यो – ” सर ! जनयुद्धबारे र सुकरात सर बारे मलाई गोविन्दराज सरसँग कति पनि गुनासो छैन। देशले जे भोग्यो त्यही मैले पनि भोगेँ। सुकरात सरप्रति त अझै पनि कृतज्ञ छु, उहाँले जिन्दगीभरको कमाइ मलाई विदेश पठाउन खर्च गर्नुभएको छ। उहाँका जीवनदायी वाक्यहरूले मलाई कहिलेकाहीँ घोर निराशाको सागरबाट उद्दार गरेका छन्। म जबजब आपत् पर्थ्यो त्यति बेला सुकरात सरकामा नै जान्थेँ। मैले त्यसरी म्यानपावर कम्पनीलाई पैसा दिएर विदेश काम गर्न जाने बारे कहिल्यै सोचेको थिइनँ। मलाई त राम्ररी पढेर एमए पास गरेर कुनै विदेशी विश्वविद्यालयमा ससम्मान पढ्न जान मन लागेको थियो। तर यहाँ पनि म लेखकद्वारा ठगिएँ, सर। मलाई लेखकले पहिलो वर्षमै भर्ना गराइदिएर एमए फेल गराइदिनुभयो। यहाँ मलाई अर्को अन्याय भएको छ। सायद यही अन्यायलाई ढाकछोप गर्न हो क्यार पछि मलाई लेखकले सुकरात सरकहाँ लिएर जानुभयो। सायद लेखकलाई सुकरात सर मेरा लागि के हुन् भन्ने कुरो पत्तो लागेरै होला उहाँले त्यसो गरेको।

यो कामप्रति चाहिँ म लेखकसँग साह्रै आभारी छु। लेखकले नै हो मलाई सुकरात सरजस्तो दार्शनिकसँग भेटाइदिनुभएको। सुकरात सरको ऋण त म आजन्म तिर्न सक्तिनँ। आफ्नो रहेसहेको सञ्चयकोषको रकम झिकेर एउटा मजस्तो एमए फेल भएको विद्यार्थीलाई विदेश पठाउने कोसिस गर्नुभयो। त्यसभन्दा माथि सुकरात सरका कुराहरू साह्रै जीवनदायिनी थिए। निराशाका चरम बिन्दुहरूमा पनि उहाँको कुनै कुरालाई हेर्ने दृष्टिकोणले मलाई अत्यन्त ऊर्जा थपेको छ सर !”

अनन्तका कुराहरू सुनेर म अचम्भित भैरहेको थिएँ। यस्ता कुरा मानिसका जीवनमा सम्भव छन् जस्तो लागिरहने। मलाई त अझै ट्रान्सको गहिरो खाडलमा परेको भान भैरहेको थियो। उपन्यासको पात्रले यसरी लेखकको विरोध गरेको, कतै समर्थन पनि गरेको र उपन्यासकै अर्को पात्रसँग यसरी कृतज्ञता व्यक्त गरेको प्रत्यक्ष अनुभव गरिरहेको थिएँ। उपन्यासको पात्र मानिसकै रूपमा सजीव भएर मेरो सामु थियो।

“सर ! सुकरात सरको सङ्गतले गर्दा मैले धेरै कुराहरूमा सतर्कता अपनाउन थालिसकेको थिएँ। विदेश जाने क्रममा पनि मैले म्यानपावर कम्पनीको वैधता जाँच गरिवरि मात्र कदम चालेको थिएँ। गाउँका दुई भाइहरूसँग उड्न लागेकै बेलामा इराकमा नेपालीहरूको हत्याले सल्काएको आगोले हामी धेरैको सपना पनि डढायो सर। यसमा गोविन्दराज सर एकदम ठीक हुनुहुन्छ। यस ठाउँमा उहाँप्रति मेरो गुनासो के भने, म राम्रै म्यानपावर कम्पनीमा गएको थिएँ। त्यो ठग डेभिडकहाँ गएको थिइनँ। यहीँ मलाई अर्को सानो अन्याय भयो सर। तर पछि अझ अर्को ठूलो अन्याय गर्नुभएपछि मलाई यी साना तिना कुरामा केही भन्नु छैन सर !”

“सर ! भन्छन् राम्रा मान्छेहरूका बीचमा एउटा नराम्रो मान्छे आयो भने, राम्राका प्रभावले त्यो पनि राम्रै बन्छ रे ।तर नराम्राहरूका बीचमा सोझो र इमान्दार मान्छे बाँच्न सक्तो रहेनछ। ऊ पटकपटक मर्दो रहेछ सर। मलाई कहिले काहीँ त्यस्तै लाग्छ, म दुष्टहरूको बीचमा छु र कहिल्यै त्यहाँबाट उम्कन सक्तिनँ। ‘सुकरातका पाइला’मा पनि सायद गोविन्दराज सरको त्यस्तै बाध्यता हुँदो हो। मलाई नराम्राहरूको बीचमा फँसाइसकेपछि उहाँले मलाई फेरि उद्दार गर्न सक्‍नुभएन।”

अनन्तका कुरा सुन्दा लाग्थ्यो ऊ गोविन्दराज सरप्रति शतप्रतिशत नकारात्मक छैन। कताकता मलाई खुसी पनि लाग्यो। मेरा आदरणीय दाइ र लेखकप्रति अनन्तको व्यवहारले म निकै बिचलित पनि भएको थिएँ। मलाई यहाँ के लाग्यो भने, अनन्तले गोविन्दराज सरको लेखकीय बाध्यता बुझेको छ। त्यति बुझ्न ऊ सक्षम छ। यतिका कुराकानी पछि राजेशमानजी र म अनन्तलाई केहीबेर आराम गर्न भनेर होटल बाहिर निस्कियौँ।

सगुन स्विट पार्लरमा बसेर बन्दाकोपीको मोमो र रसमलाई खाँदै गर्दा मैले राजेशमानजीलाई सोधेँ- “के छ राजेशमानजी ! कस्तो अनुभव भैरहेको छ त ?”

राजेशमानजीले निकैबेर ट्‍वाल्ल परेर मलाई हेरे र भने- “मलाई त चार बोतलको नसा चढेझैँ भएको छ हौ सञ्जीवजी। सपना हो कि बिपना ? म अल्झिएको अल्झियै छु। हेर्नुहोस् न त्यो भाइ त्यही अनन्त हो त ? मैले त अर्कै अनुहारको कल्पना गरेको थिएँ। उपन्यास पढ्दा जुन चित्र उसको मेरो मनमा थियो यो बिलकुलै मिल्दैन नि त? अनि फेरि त्यो मान्छे किताबबाट निस्केर कसरी तपाईँका सामु आयो ? मान्छे कहिल्यै त्यसरी किताबबाट निस्कन सक्छ र?”

मैले सामान्य हुनुको अभिनय त गर्नै थियो। म आख्यान लेखक थिएँ र लेखकहरू केही यस्तै स्तिथिमा नफँसी आफूलाई सुधार गर्ने मौका पाउँदैनन् भन्ने लागिरहेको पनि थियो। मैले राजेशजीलाई भनेँ – “ल राजेशमानजी पनि ! त्यो त कहाँ हुन्छ र तपाईँले सोचेजस्तो पात्रको रूपरङ मैले सोचेको कहाँ मिल्छ त। कुनै पनि कृति पढ्दा मानिसहरूले आफ्ना मस्तिष्कमा कृतिका पात्रहरूलाई आफ्नै सुविधा र सोच अनुसार मानवीकृत गरेका हुन्छन्। यो मानवीकृत गर्ने कार्य, व्यक्तिगत स्वभावमा भरपर्ने कुरा हो अनि फेरि तपाईँले कृति कुन मनोभावले पढ्नुभयो त्यसले पनि निकै महत्त्व राख्छ। अनि पात्र मान्छेको रूपमा आएको कुरा त के भयो र ? एक्काइसौँ शताब्दी हो यो त यार ! यहाँ जे पनि हुन सक्छ। अहिले त किताबको पात्रले हामीसँग आएर अनुरोध मात्रै गर्दै छ। हेर्नुहोस् केही वर्ष पछाडि तपाईँले खबर सुन्नुहुनेछ – ‘फलानो पात्रले सर्वोच्चमा फलानो लेखकविरूद्ध ज्यानमुद्दा हालेको छ रे !”

राजेशमानजी फेरि घोरिन थाल्नुभयो। मलाई केही डर पनि लाग्यो। सोझो मान्छे मैले अप्ठ्यारोमा त फसाइँन ? उहाँ निकै बिचलित पनि देखिइरहनुभएको थियो। तर हामीले यो स्थितिबाट भाग्न त मिल्दैनथ्यो। फेरि भनेँ- “ल जाऔँ राजेशमानजी ! अनन्तजीको आराम पनि निकै भयो।“

राजेशमानजी र म फेरि होटल पुग्दा अनन्त आराम गरिवरी तरोताजा भएर हाम्रै प्रतीक्षा गरिरहेका थियो।

ऊ अगाडि बढ्यो – “सर ! मेरो लेखक बन्ने सपनालाई चकनाचूर पारिएको त सरलाई थाहै भयो होला। यसरी लेखक बन्नका भनेर मैले पढ्नुपर्ने धेरै थियो। मैले मेरै छिमेकीहरूको साहित्य पढ्नु थियो। समुद्रपारिको साहित्य पढ्नु थियो। कथा, कविता, नाटक र उपन्यास पढ्नु थियो। मैले पढ्नै पर्ने लेखकहरूको सूची यहाँ छ सर !”

मैले देखेँ उसको डायरीमा सयौँ लेखकका नामहरू छन्। नेपाली, हिन्दी, अङ्ग्रेजी, चिनियाँ, रुसी, फ्रेन्च, उर्दू, फारसी, बङ्गाली, जापानी, जर्मन, आदि भाषामा लेखिएका लेखकका अनगिन्ती किताबहरूका नाम छन्।

“सर यी सबै लेखकका किताबहरूमध्ये मैले धेरै पढेको पनि छु। तर म ‘सुकरातका पाइला’को तानाबानामा यसरी बुनिएँ कि मैले आत्महत्याको उत्कृष्ट साहित्य पढ्नुपर्‍यो। जीवन रोज्न हिँडेको मान्छेले मृत्युका तरिकाहरूमा शोधार्थीलेझैँ खोजी गर्नु पर्‍यो। त्यो पनि लुकाएर। हेर्नुहोस् मेरो नियति ! सर यहीँ मलाई गोविन्दराज सरदेखि साह्रै दुःख लागेको छ। उहाँले मलाई ती मृत्युसाहित्य पढाउनुभयो, मैले स्वीकारेँ तर उहाँले मलाई त्यसको प्रभावबाट मुक्त गर्न सक्‍नुभएन र मेरो इहलीला मेरै आत्महत्याबाट समाप्त हुने भएपछि म विवश भएँ।

तर सर मैले बाँच्नु रहेछ। मैले ‘ग्लुमी सन्डे’ जस्तो गीत- जो सुनेर कैयौँले आत्महत्या गरेका छन् – सुनेर पनि आत्महत्या गर्न सकिनँ। म मर्न सकिनँ सर ! किनभने ममा जीवन बाँकी थियो। गोविन्दराज सरले छाडेपछि म त्यहाँबाट हिँडे र यहाँ आएँ।”
मैले फेरि प्रश्न गर्ने हिसाबमा मुख खोलेँ- “अनि मै किन ……………….?”
उसले फेरि हतारहतार भन्यो – “सर ! मैले बुझेँ सरको प्रश्न। इन्टरनेट सर्फ गर्दा तपाईँका कथाहरू दोहोर्‍याइ तेहेर्‍याई पढेँ। मलाई लाग्यो तपाईँले तपाईका कथाका पात्रहरूलाई जुनसुकै कथामा पनि न्याय गर्नुभएको छ। चाहे नायक हुन् या खलनायक उनीहरूको गरिमामय उपस्थिति छ सरका कथाहरूमा। त्यसैले मलाई पनि पक्कै न्याय गर्नुहुन्छ भन्ने ठूलो आसले आएको हुँ सर म तपाईँकहाँ।”

मेरा प्रश्नहरूको जबाफ त अनन्तले दियो। तर मैले उसलाई कसरी न्याय गर्ने त्यो उपाय बताएन। सायद ठान्यो होला पात्रले लेखकलाई सबै कुरा सिकाउने हो भने त्यो के लेखक भयो र ? तर मलाई अहिले कथाकार हुनु सजिलो पटक्कै रहेनछ जस्तो लागिरहेको छ। अब मेरा दिनहरू सामान्य हिसाबले व्यतीत हुने खालका छैनन्।

अनन्तसँग बिदा मागेर राजेशमानजी र म फर्कियौँ। राजेशमानजी त भरे गएर दसौँ पेग लगाउने कुरा गर्दै हुनुहुन्थ्यो भने म चाहिँ अनन्तलाई कसरी न्याय गरूँ अनि गोविन्दराज सरलाई के भनौँ भन्ने कुराको दोसाँधमा अल्झिरहेको थिएँ। मेरो भावशून्यताको पोखरीबाट निस्किने त्यान्द्रो त के डोरी नै भेटियो तर किनारामा भने प्रकाशको एउटै किरण पनि थिएन।

Kumud Adhikari – Mukti

कुमुद अधिकारी – मुक्ति

अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु मेरा सिद्धार्थ मलाई हत्केलामा कुतकुती लगाइरहनुभएको छ। म खित्किएको एकछिनपछि उहाँले कुतकुती लगाउन छाड्नुभयो र सोध्नुभयो- “यशू ! अहिले दुखाइ कस्तो छ?”

मैले आँखा खोलेँ र चारैतिर नजर घुमाएँ।
“अरे ! म कहाँ ?” प्रश्न फुत्कियो मेरा मुखबाट। मलाई राम्रै गरी थाहा थियो म अचेत हुनुअगाडि आफ्नै डेरामा थिएँ। बेलुकी छ बजेतिर खाना खाइवरी म धन्दा गर्न लागेकी थिएँ र उहाँ खाटमा पल्टिएर ‘नेपाल’को कुनै पुरानो अङ्क पढ्न लाग्नुभएको थियो। अचानक मलाई प्रसव वेदनाले च्याप्यो। धन्दा गर्नै सकिनँ र उहाँका छेउमा गएर खाटमा पल्टिएँ। वेदना असह्य हुँदै गयो, त्यसपछि मैले केही चाल पाइनँ।
मेरो प्रश्नको वास्तै नगरी उहाँले फेरि सोध्नुभयो- “यशू ! दुखाइ कस्तो छ ?”
मैले भनेँ- “अहिले त दुखेको छैन।”
उहाँ मुसुक्क हाँस्नुभयो। म फेरि खुसीले लपक्क भिजेँ। मैले देखेँ म कुनै नर्सिङ होमको म्याटर्निटी वार्डमा रहेछु। मेरा दायाँबायाँ अरू बेडहरू रहेछन्, मजस्तै आमा हुनलागेका महिलाहरू रहेछन्। मेरा अगाडि सिसैसिसाको पर्खाल रहेछ र त्यसमा लागेका पर्दामा हँसिला र स्वस्थ बच्चाका तस्बिरहरू रहेछन्। उहाँले मलाई फेरि हत्केलामा कुतकुती लगाउनुभयो र म खित्का छोड्न थालेँ। देखेँ छेउछाउका महिलाहरूका ओठमा पनि मुस्कान छरिएको थियो। मलाई लाग्यो म र मेरा श्रीमान्बाट छचल्किएर पोखिएको हर्षले उनीहरूलाई थोरैमात्र पनि भिजायो नै होला।
मैले उहाँको अनुहार हेरेँ, उहाँको मुस्कान यथावत् थियो। अचानक मेरो नजर उहाँको सर्टमा पर्यो। उहाँले नीलो नीलो सर्ट लगाउनुभएको रहेछ। त्यही नीलो सर्ट जुन उहाँले लगभग अठार महिना पहिलेको त्यस सुनौलो दिनमा पहिलोपल्ट लगाउनुभएको थियो। म डेराको बरन्डामा निस्केर रेलिङमा जीउ अड्याएर उभिएकी थिएँ र अगाडिपट्टिको बाँसको झ्याङमा विगतका पन्नाहरू पल्टाउँदै थिएँ। मेरा दुईवटै हातहरू पछाडि थिए। देब्रे हातले दाहिने हातको नारी समातेकी थिएँ। सायद मेरा अनुहारमा विषादका बादलहरू छाएका थिए होलान्। के गर्नु जति नै नराम्रो भए पनि जिन्दगीको किताबलाई फाल्न सकिँदो रहेनछ। आफूसँगै भएपछि हुरीबतास, हावापानी, घामछायाले किताबका पन्नाहरूलाई पल्टाइरहँदा रहेछन्। उहाँले छेउमै बसेर मलाई निकैबेर हेरिरहनुभएछ। अचानक उहाँले मलाई दाहिने हातको हत्केलामा कुतकुती लगाउनुभयो र म खित्का छोडी हाँसेँ। मेरा अनुहारबाट विषादका बादलहरू हटे र मैले पढिरहेका जिन्दगीको किताबका पानाहरू पनि आराम गर्न लागे।
तर खित्का छोड्दाछोड्दै मलाई आश्चर्य लाग्यो। मलाई हँसाउन हत्केलामा कुतकुती लगाउनुपर्छ भन्ने कुरा त मेरी आमालाई मात्र थाहा थियो। फेरि उहाँलाई कसरी थाहा भयो। कि आमाले नै बताउनुभयो कि ? तर बताएको भए हाम्रो बिहे भएको पनि छ महिना भैसकेको थियो तर अहिलेसम्म त उहाँले त्यसो गर्नुभएको थिएन। कि यो नीलो सर्टमा नै केही रहस्य छ? मैले केही बुझ्न सकिनँ। सोधेँ- “सिद्धार्थ ! मलाई हँसाउन हत्केलामा कुतकुती लगाउनुपर्छ भन्ने कुरा तपाईँलाई कसरी थाहा भयो ?”
त्यसबेला मलाई तीनछक्क पार्दै उहाँले भन्नुभएको थियो- “यशू ! तिमीलाई थाहा छ, माया गर्ने मान्छेको सिक्स्थ सेन्स हुन्छ नि क्या, छैठौँ इन्द्रिय ! त्यसैले चाल पाएको।” म अझै रनभुल्ल नै छु यो सिक्स्थ सेन्स भनेको के हो !
अहिले पनि नीलो सर्टमा सिद्धार्थ त्यत्तिकै आकर्षक देखिइरहनुभएको छ। उहाँको उपस्थितिले नै मेरा दुखाइहरूलाई आधा घटाइसकेको थियो। देखेँ उहाँको हातमा ‘नेपाल’ साप्ताहिकको नयाँ अङ्क रहेछ। पढ्नमा साह्रै रुचि राख्ने मेरा श्रीमान् ‘नेपाल’ नियमित रूपमै पढ्नुहुन्थ्यो। विशेष उहाँलाई मनपर्ने स्तम्भ डा. अभि सुवेदीको समयरेखा थियो। तर यसपल्ट मैले देखेँ उहाँको अनुहारमा केही मलिनता छाएको छ। हो त ! ठ्याक्कै यस्तै मलिनता केही महिनाअगाडि मैले उहाँको अनुहारमा देखेकी थिएँ। ठाउँ त्यही थियो- हाम्रो दुईकोठे डेराको बैठक भने पनि बेडरुम भने पनि मिल्ने कोठा। उहाँ खाटमा पल्टिरहनुभएको थियो। उहाँका हातमा ‘नेपाल’को कुनै पुरानो अङ्क थियो। म छेउमै बसिरहेकी थिएँ।
अचानक उहाँले रसिला आँखा पारेर भन्नुभयो- “यशू ! अहिले भगवान् प्रकट भएर एउटा इच्छा पूरा गरिदिन्छु भन भन्नुभयो भने म के वर माग्छु थाहा छ ?”
मैले अबोध भएर भनेँ- “थाहा छैन त !”
उहाँले भन्नुभयो- “म माईखोलालाई उल्टो बगाइमाग्थेँ।”
मैले फेरि सोधेँ- “किन ?”
मुखले जबाफ दिनुको साटो उहाँले पल्टिइरहेको ‘नेपाल’को पातो मतिर सारिदिनुभयो। त्यस पातामा छापिएको थियो कृष्णभूषण बलको कविता “इलाम तिम्रो काख छाडी चिसो बगेँ।” मैले कविता पढेँ। मलाई जबाफ चाहिएन।
***
उहाँले सायद मेरो मन पढ्नुभएछ क्यार, सोध्नुभयो- “के भयो यशू ?”
मैले भनेँ- “खै केही भएको छैन त !”
भन्न त भनेँ तर मभित्र केही न केही त अवश्य भै नै रहेको थियो। उहाँले फेरि भन्नुभयो- “यशू उः त्यो झ्यालबाहिर हेर त !”
मैले मुन्टो फर्काएर दाहिनेतिर भएको झ्यालबाहिर हेरेँ। आहा ! सुनाखरी ! सुनाखरी देखेर त मैले झन्डै आफैँलाई पनि बिर्सेँ। नबिर्सुँ पनि कसरी, सुनाखरी र म लगभग पर्यायवाची नै भैसकेका छौँ।बिर्सेँ म सुत्केरी हुन लागिरहेकी छु। झ्यालबाट बाहिर देखिएको दृश्यमा मेरो जिन्दगी अटाएको थियो। झ्यालबाहिर बरन्डामा काठका गमलाहरू झुन्ड्याइएका थिए जसबाट झुन्डिएका सुनाखरीका लहराहरूले आफ्नो सुन्दरता छरिरहेका थिए। सुनाखरीका दुईवटा लहराहरू झुन्डिएर मालाको रूप लिएका थिए। अरे ! यो के ? त्यो माला त सिद्धार्थले पो लगाउनुभएको छ। विश्वास लागेन, आँखा मिचेर फेरि हेरेँ। अहँ भ्रम त होइन ? फेरि आँखा मिचेर हेरेँ। अबचाहिँ पक्का विश्वास भयो । उहाँ सिद्धार्थ नै हो भनेर। यो कस्तो अचम्म लागिरहेको छ मलाई ! घटनाहरू नै त्यसरी घटिरहेका छन्। मलाई लाग्यो मैले यो खुसीलाई नियन्त्रण गर्नुपर्छ। कसैले भनेको सुनेकी थिएँ अनियन्त्रित खुसीको बाढीले त राम्रो गर्दैन है, तर के गर्नु भेल भनेको भेल नै हो, त्यसको पनि अर्को रङ हुन्छ र ? भेललाई पनि नियन्त्रण गर्न सकिन्छ र ? बाहिर हेरेँ – आहा ! कति राम्रो दृश्य ! सुनाखरीको माला सिद्धार्थले लगाएको। सिद्धार्थ मलाई सुनाखरी देखाएर बाहिर निस्कनुभएछ र सुनाखरीको गमला उतापट्टि उभिएर मलाई झ्यालबाट हेर्नुहुँदो रहेछ। मेरा आँखाहरूबाट खुसीका आँसुहरूले फुत्किने मौका पाइहाले।
सुनाखरीको माला ! हो, सुन्दा अचम्मै लाग्छ सुनाखरीको पनि माला बनाउँछन् र ? तर मैले बनाएँ र त्यही माला सिद्धार्थलाई लगाइदिएर मैले उहाँसँग बिहे गरेँ, दुई वर्षअगाडि। दुई वर्षअगाडि हामी बिहे गर्न दार्जीलिङ आएका थियौँ। महाकाल बाबालाई साक्षी राखेर हामीले बिहे गरेका थियौँ। हामी दुई बेहुलाबेहुली मात्र उपस्थित भएको बिहेमा मैले उहाँलाई सुनाखरीको माला लगाइदिएकी थिएँ भने उहाँले मलाई सुनको औँठी। बस, अब हामी पतिपत्नी थियौँ । त्यसपछि हामी सुनाखरी हेर्न भनेर बोटानिकल गार्डेन झरेका थियौँ।
***
मेरा अगाडि नर्सहरू सेता लुगा लगाएर आएकाले मैले वर्तमानमा त फर्किनै थियो। नर्सहरूको सेतो लुगामा नीलो अक्षरमा लेखिएको थियो- प्लान्टर्स नर्सिङ होम। अबमात्र मलाई मेरो यथास्थितिको ध्यान भयो। मलाई त दार्जीलिङको प्लान्टर्स नर्सिङ होममा पो ल्याइएको रहेछ र पो त्यति राम्रा सुनाखरी रहेछन् बरन्डाभरि। वर्तमानले मलाई सचेत गरायो। अब हाम्रो जिन्दगीको किताबमा नयाँ अध्याय लेख्ने बेला भएको छ। पन्नाहरू खाली छन्। खै ! कुन्नि हो कसरी जिन्दगीका खाली पानाहरू भर्ने ? मैले र सिद्धार्थले चाहेजसरी नै कलम चल्ने हो कि होइन ? विधिको विधानले हात समाएर जिन्दगी लेख्दा हामी कहिल्यै नकार्न सक्तैनौँ। त्यो दिव्य हातले आफूले चाहेजस्तै कलम डोर्याइदेओस् भन्ने मात्रै चाहना हो।
सिद्धार्थ फेरि भित्र पस्नुभयो। गुलाफी सुनाखरीको एउटा थुँगो लिएर। उहाँको बानी पनि अनौठो छ। मेरो मनलाई कति सजिलै पढ्नुहुन्छ। खास भन्नुपर्दा अहिले मलाई त्यही सुनाखरीको थुँगो हातमा लिएर खेलाउन मन लागिरहेको थियो।
“सिद्धार्थ ! सिद्धार्थ !” म थामिनै सकिनँ। लाग्नेलाई नाम काढेर बोलाउनुहुन्न भन्ने मान्यतालाई मैले कहिल्यै मान्यता दिन सकिनँ। मेरा मनमा मायाका लहरहरू उर्लेका बेला जहिल्यै म उहाँलाई नाम काढेरै बोलाउने गर्थेँ र अझै गर्छु पनि।
त्यस्तै गुलाफी फूल फुलेको सुनाखरीको बिरुवा बोकेर त सिद्धार्थ पहिलोपल्ट मैले पढाउने गरेको फिक्कलको एमरेल्ड एकेडेमीको कार्यालयमा पस्नुभएको थियो। सुनाखरीको फूल बोकेका सिद्धार्थ कुनै बाधा बिना मेरा आँखाहरूबाट हृदयमा छिरिसक्नुभएको थियो। मलाई मेरो सोचप्रति ग्लानि भएको थियो तर सुनाखरीजस्तै प्रस्फुटित उहाँको व्यक्तित्वमा मैले केही खोट देखाउन सकिनँ। उहाँ त्यस क्षेत्रको स्रोतव्यक्ति हुनुहुँदो रहेछ र एमरेल्ड एकडेमीमा तथ्याङ्क सङ्कलन गर्न आउनुभएको रहेछ।
त्यसपछि त सुनाखरीको नाताले भएको परिचय पछि गएर प्रणयसूत्रमा परिवर्तन भयो।जिन्दगीको एउटा नयाँ अध्याय खुल्यो र लेखिन थाल्यो।
सिद्धार्थको हातबाट फूल लिएर म खेलाउन थालेँ। हेरेँ उहाँको अनुहार।त्यही ओजयुक्त र आकर्षक अनुहार। अचानक पेटमा केही अप्ठ्यारो अनुभव भयो र देब्रे कोल्टो फेरेर सुतेँ। आँखाहरू फेरि वरिपरिका दृश्यमा झुम्मिन थाले। देब्रेतिरको झ्यालबाहिर बरन्डामा पनि काठका गमलामा सुनाखरीहरू झुन्याइएका रहेछन्। तर किन हो एउटा सुनाखरी ओइलाएको रहेछ। लौ ! किन हो त्यो ओइलाएको ? यसले त राम्रो सङ्केत गरेन भन्ने कुराले मेरो मनमा चिसो पस्यो।
त्यो दिन सम्झँदा मलाई अझै पनि कहाली लागेर आउँछ। त्यसबेला त म सायद बुझ्ने नै भइसकेकी थिइनँ होला। त्यस दिन म बिहानै उठेर आफूलाई मनपर्ने सुनाखरी ओइलाएको देखेर स्याहार्न लागिरहेकी थिएँ। भुटानको राजधानी थिम्पूनजिकैको पहाडी बजार टासी छो डोङको एउटा कुनामा हाम्रो घर थियो। बुबा सबैरै पसलतिर लागिसक्नुभएको थियो। फूलबारीमा सुनाखरी स्याहार्न व्यस्त रहेकी दस वर्षकी केटी थिएँ म त्यसबेला। मेरा लागि संसार भनेको रमाइलो मात्र थियो। अझ त्यसमाथि सुनाखरीले त सुनमा सुगन्ध थपेको थियो।
अचानक आमा कराएको सुनेँ- “यशोदा ! यशोदा ! छिटो भित्र आइज।” म दौडेर भित्र गएँ। आमाले हतारहतार भित्री कोठामा लगेर भन्नुभयो- “जा मेरी छोरी, पछाडि गएर धानको भकारीमा लुक्। जिग्मेका सेना आउँदैछन् रे ! बलात्कार गर्छन् रे।” आमाले भनेको बलात्कार त मैले बुझिनँ तर आमाको आज्ञाको अवज्ञा गर्न मैले सिकेकी थिइनँ। त्यसैले घरपछाडि कटेरामा गएर धानले भरिएका दुईवटा ठूला भकारीका बीचमा आधामात्र भरिएको भकारी थियो। त्यसमा चित्राले बुनेर बनाइएको बिर्को थियो। म त्यही भकारीभित्र पसेँ र आफूलाई त्यही बिर्कोले छोपेँ। धानमा लाग्ने पुत्लीहरू मेरा साथीहरू भए। धानको धूलोले मलाई माया गर्यो। आमाले मैले नबोलाई ननिस्कन भनेकाले सहेरै बसिरहेँ धानको थुप्रामाथि। मनमा कुतूहल थियो के होला त बलात्कार भनेको !
केहीबेरपछि बुट बजारेको आवाज सुनियो। मैले नबुझ्ने भाषामा उनीहरू कराइरहेका थिए। भकारीमै बसेर भए पनि मैले उनीहरू चारैतिर घुमेको चाल पाएँ।
त्यसपछिका केही दिन निकै कष्टकर बिते। मैले मेरो ओइलाएको सुनाखरीलाई स्याहार गर्न पाइनँ। धेरैजसो समय लुक्न र निस्कनमै बित्यो। बुट बजार्नेहरू आएर आमालाई नानाथरीका प्रश्नहरू सोधेर हैरान गरेको म भकारीबाटै चाल पाउँथेँ, उनीहरूको भाषा नबुझे पनि लवज भने राम्ररी बुझ्दथेँ। अनि एक दिन हामीलाई ट्रकमा हालेर थिम्पू हुँदै फुन्सोलिङमा ल्याएर पछारियो।
***
“के हेरेकी यशू ?” सिद्धार्थको प्रश्नले मलाई झस्क्यायो। मैले उहाँतिर नहेरिकनै भनेँ- “संसार हेरिरहेकी छु सिद्धार्थ। कति विचित्रको छ हगि यो संसार ? सुखको ताना र दुःखको बाना।”
सिद्धार्थको जबाफ थियो- “यशू ! तिमी ती आँखाबाट संसारका तानाबाना हेर्छ्यौ र म चाहिँ हाम्रो जिन्दगी हेर्छु।” अब मैले उहाँको अनुहार नहेरी सकिनँ। आहा ! कति मनमोहक मुस्कान !
देखेँ उहाँले एउटा किताब बोक्नुभएको रहेछ। कतिबेला चोकबजार झरेर किताब किन्न भ्याउनुभयो, मलाई त पत्तै भएन। मनमा खुल्दुली लाग्यो र सोधेँ- “के किताब हो ?”
उहाँले मलाई किताबको अगाडिको भाग देखाइदिनुभयो। “कथास्था” आहा ! क्या मजा ! मैले कथास्थाको खीर कथाबाहेक अरू कथाहरू पढेकी थिइनँ। अब फेरि सबै कथाहरू पढ्न पाइने भयो भनेर मन खुसीले बुरुक्क उफ्र्यो। मैले फेरि सोधेँ- “इन्द्रबहादुर राईको घर देख्नुभएको छ ? एकपल्ट भेट्न पाए हुन्थ्यो।” यो के भएको मलाई ? साहित्य भनेपछि म आफू आमा बन्न लागेको पनि बिर्सन थालेँछु। उहाँले भन्नुभयो- “तिम्रो डेलिभरी सकिएपछि एकपल्ट घर खोज्दै आशीर्वाद लिन जाउँला नि, हुन्न ?” मैले स्वीकृतिमा टाउको हल्लाएँ।
अचानक बाहिर हल्लाखल्ला भयो। मैले मेरा अगाडिको सिसाको भित्ताबाट बाहिर हेर्ने प्रयास गर्न लागेँ तर नर्सहरूले हतारहतार पर्दा लगाइदिए। बाहिरको आवाज हल्का सुनिए पनि स्पष्टसँग बुझिँदैनथ्यो। मैले सिद्धार्थलाई के रहेछ बुझेर आउनू न भनी इसारा गरेँ। उहाँ एकछिनपछि कालो अनुहार लिएर आउनुभयो र भन्नुभयो- “दुईवटा केटा मिलेर तल मुर्दाहट्टीनेर एउटी दस वर्षकी बालिकाको बलात्कार गरेछन्। मान्छेले कुटेर तिनलाई अधमरो बनाएपछि पुलिसले उपचारका लागि ल्याएको रहेछ।”
यो सुनेर त मैले केही गरे पनि आफूलाई थाम्नै सकिनँ। ग्वाँग्वाँ रुन थालेँ। आँसुको भेल केही गरे पनि रोकिएन। त्यस भेलसँगै केके बग्यो केके। अहिले मलाई वास्तविक रूपमा बोध भयो किन मेरी आमाले मलाई भकारीमा लुकाउनुभयो भनेर। बिस्तारै उमेर बढ्ने क्रममा मैले बलात्कार केही त बुझेकी थिएँ तर त्यससम्बन्धी भावनाहरू बेलाबेलामा मात्रै उर्लिने गर्थे। मलाई मेरी आमाप्रति अगाध श्रद्धा जागेर आयो। साथै मैले ती दिदीलाई पनि सम्झेँ जसले मलाई गुन्डाहरूका हातबाट बचाउनुभएको थियो। स्त्रीको अस्मिताको महत्त्व मैले राम्ररी नै बुझिसकेकी थिएँ र मलाई भुटानी शरणार्थी भएकै कारणले कतिपय ठाउँमा बेइज्जती खप्नुपरेको थियो। पाँच वर्षअगाडिकै मात्र त घटना थियो त्यो। म खुदुनाबारी शिविरबाट जङ्गलको बाटो हुँदै शनिश्चरे आइरहेकी थिएँ। करिब दुई किलोमिटर हिँडेकी थिएँ होला। अचानक तीनजना बदमासहरूले मेरो पिछा गर्न थाले। उनीहरूका अनुहारमा कामुकता त थियो नै, साथै थियो घृणाभाव भुटानीहरूप्रति। म अत्तालिएर कुद्न थालेँ। शरणार्थी भनेर हियाउने समाजका उपज थिए ती बदमासहरू। मेरो अस्मिता अब त लुटियो है भन्ने लाग्न थालेको थियो मलाई, ठीक त्यसै बेला मलाई कसैले च्याप्प समायो। हेरेँ, एकजना अधबैँसे दिदी। छेउमा एउटा झुप्रो छ। दिदीका हातमा एउटा लठ्ठी पनि थियो। के भयो कुन्नि दिदीलाई देख्नासाथ ती बदमासहरू फनक्क फर्किए। त्यसपछि ती सहृदयी दिदीले आफ्नो झुप्रामा लगेर मलाई पानी खुवाउनुभयो र सम्झाउन थाल्नुभयो जङ्गलको बाटो एक्लै नहिँड्नू भनेर। म दिदीप्रति नतमस्तक भएँ।
***
मलाई ग्वाँग्वाँ रोएको देखेर सिद्धार्थले मेरा हातहरू च्याप्प समाउनुभयो। सायद मैले सुरक्षाको गहिरो अनुभूति गरेँछु क्यार, म बिस्तारै शान्त हुँदै गएँ। लाग्यो जिन्दगी फेरि उकालो चढ्दै छ। हेरेँ सिद्धार्थका आँखाहरूमा दृढताको ढाल थियो। अब मलाई डर रहेन।
मेरो पेटमा रहेको शिशुले निकै दुःख दिन थाले पनि भावनाहरूको उतारचढावलाई रोक्न सकिरहेको थिएन। मैले दाहिने कोल्टे फेर्न खोज्दा सिद्धार्थले सघाउनुभयो। दाहिने फर्केर अगाडि हेरेँ, राम्रा अनुहारका करिब सात वर्षका जम्ल्याहा बालकहरू रहेछन् आफ्नी आमाका छेउमा बसिरहेका। मलाई उनीहरूसँग बोल्न मन लाग्यो- “बाबुहरूको घर कहाँ हो ?”
“मङ्पु।”
“हो र ? त्यसो भए मोहन ठकुरीलाई चिन्छौ ?”
“किन नचिन्नु ? हाम्रै घरको छेउमा पर्छ उहाँको घर।”
मैले भनेँ- “उहाँले सारै राम्रा कविता लेख्नुहुन्छ नि, हैन ? ” मलाई लाग्यो यी दुई बालकहरू मोहनदाइकै कविता भएर मेरा सामु उभिएका छन्।
बेथाले फेरि च्याप्न थाल्यो। खै के हुने हो ? यस हाम्रो शिशुलाई संसार देख्न कति हतार लागेको होला। ऐया ! खै अब के हुने हो ? आखिरी यो पनि त जिन्दगीको किताबको एउटा पाना नै रहेछ। म कसरी खुदुनाबारी शिविर आइपुगेँ, किन र कसरी एमरेल्ड एकेडेमीमा शिक्षिका भएँ, शरणार्थी तरुणीका रूपमा कति धेरै दुःख कष्ट झेलेँ भन्ने अध्यायलाई अहिले मलाई पल्टाउन मन लागेन। कमसे कम मेरो र सिद्धार्थको उत्तराधिकारीले यो धरती टेक्दा त यी कुराहरू मेरा दिमागमा नरहुन् भन्ने लाग्यो। अहिले म जति पीडा भए पनि असाध्य खुसी छु। मेरा पछाडि अहिले ‘शरणार्थी’ झुन्डिएको छैन, मेरो सन्तान अब नेपाली हुनेछ र शिर ठाडो पारेर बाँच्न सक्नेछ। तर हत्केलामा कुतकुती, खित्का र सुनाखरीचाहिँ ? ती त जिन्दगीको किताबका गाता अर्थात् कभर नै भए नि, हैन र ?

Kumud Adhikari – Jiwan Ek Yatra

कुमुद अधिकारी – जीवन एक यात्रा

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा ठान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै ठीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।

म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्‍याउला नै।… अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।

उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हैनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- “बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न !” म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ कि भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्क आउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ “चाउचाउ…..चाउचाउ….!” हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- “तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?”

उहाँको उडेको अनुहारले बतायो- “बाबुले ‘बाबा’ भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।”

“थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्‍ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दै बग्दैन।” लाग्‍नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। बिचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।

घ्यार्र….घ्यार्र…. ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्‍याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।

बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नुपर्ने थियो।

म दुई वर्षपहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।

लक्ष्यहीन जिन्दगी घचेट्दाघचेट्दै एक दिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्‌छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भइसक्यो मैले कहिल्यै यो कोठा खोलेको देखेकी थिइनँ। कोठाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा लठ्ठी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्‍जामा खिया लागेकाले निकै बल लगाउनुपर्‍यो। खातका खात किताबमाथि मेरो नजर पर्‍यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्‍निमा रहेछ। किताब लिएर त्यस कोठाको ताला लगाएर निस्केँ र पढाउन कक्षा कोठातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।

बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्‍निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भइरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्‍निमाको यात्रा आरम्भ गरेँ। सुम्‍निमा….सोमदत्त….सुम्‍निमा…सोमदत्त…। समय बगेको थाहै भएन। तीन घण्टा बितिसकेछ, मेरो सुम्‍निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीन घण्टाअघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भइसकेको थियो। सुम्‍निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो…………….।

म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बसभित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसे कम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।

बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने, केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्‍न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।

बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरै सिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक बिहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्‍ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने ठाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्‍नका लागि मात्र हुन्थ्यो।

अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारिरहेछु। एक छाक भात-तिउन राम्ररी पकाउन नसक्‍ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्को जन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भइदिएको भए मेरो यो हालत हुन्नथ्यो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएँ कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्‍नुभएको थियो,आफ्नो समय बाँच्नुभएको थियो र समाज देख्‍नुभएको थियो।

मैले त्यस दिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्‍ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्‍निमापछि मेरो यात्रा नरेन्द्रदाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरीषको फूल, डायमन समशेरको सेतो बाघ, वसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।

यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्‌चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्‍नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ……?

म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्‍ने यो क्रम यही बसमै मात्र त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्‍ने त कल्पनामै सीमित रहने भयो।

बसको कुदाइ जारी छ। एकतमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु, बाहिर ठाउँ त उराठलाग्दो छ। फुस्रो जिन्दगी र त्यस ठाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एक हूल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे ! मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्‍न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभई नहुने चीज बनूँ।
म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान-शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्‍ने ठाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्‍ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। ठीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एकतमासको भइरहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।

ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिनँ। त्यसै बेलादेखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।
मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई कोठा थिए। एउटामा भान्सा थियो र अर्को पूजाकोठा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई कोठा थिए। एउटामा बुबाआमा सुत्‍नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा कोठा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।

मेरो कोठामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढिरहेँ। मलाई पढ्नमा पटक्कै रुचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। बिस्तारै म सरका छेउमा गएर बस्‍नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्‍न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एक दिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्‍नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा ! जिन्दगीभरि यस्तै गरिराख्‍न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यस बेला।

हामी सधैँ त्यसै गरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उठ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?
त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म सायद अहिले गर्न सक्तिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भइहाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तुडाँडाको परिदृश्य हेर्‍यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्‍यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?

राजदुवालीको कन्काईमाईको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मीठो पार्दा मायाभन्दा मीठो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा, जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदै छ।

अचानक बसलाई केही झट्‌का लाग्यो र मेरो दृष्टि फेरि पर्‍यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्‌छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।

उफ ! मैले ‘म’लाई हेरिरहन सकिनँ। दृष्ठि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिइरहन सक्तिनँ। बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।

त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्‍यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।

म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्‍नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्‍नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्‍नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्‍न कैयौँ केटाहरू आए। तर मैले ठाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जावश केही गर्न सकिनँ तत्कालै। तर बेलुका केटाले दिएको सबै सरसामान एक घण्टा लाग्‍ने केटाको घरमा पुर्‍याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- “निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्‍छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।” मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यस दिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यस दिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्‍नुभयो। त्यस दिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।

केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काढ्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्‍यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा कोठामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- “मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?”

अब मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपत् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्‍ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बालेपछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र कोठामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भने र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्‍नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यस बेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी ‘गर्भवती म’लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।

त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराई जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।

उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्‍नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्‍नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनै बेला लाग्छ यही त हो जिन्दगी ?

कोसी तरियो।एउटा खड्‌गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नु छ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसीपारि नै छाडेर अगाडि बढ्नु छ। यो कोसी-तराइलाई मैले ठूलो खड्‌गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौठो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मै पनि आत्मनिर्भर बनिरहनु छ।

यी सबैभन्दा धेरै मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नु छ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ ठाकुरका गीत, कथा र कवितामा नुहाउनु छ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नु छ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोदका खानु छ। मोपासा, ओ हेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनु छ। मिर्जा गालिबलाई पिएर मातिनु छ।

विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नु छ । जनकपुरबाट विराटनगर पुग्‍न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्‍तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।

Kumud Adhikari – Mero Baranda Ko Kukur

कुमुद अधिकारी – मेरो बरन्डाको कुकुर
(मधुपर्क २०६६ माघ)

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।

घर बनाउने भगीरथ प्रयत्नमा जम्मा भएका थरीथरीका व्यक्ति­-व्यक्तित्वहरूसँगको भलाकुसारी र उहाँहरूको राय-सुझाव, सरसल्लाह र प्रशस्त नकारात्मक अभिव्यक्तिहरू छन् मसँग । तिनले कहीँ कतै मलाई प्रेरणा नै दिइरहेका छन् ।

घरलाई बस्न सक्ने तुल्याएर साइत गरेको दोस्रो दिन एक जना आफन्त आएर भन्नुभयो­ “ल, ठीकै छ । तर कोठाचाहिँ साना भए । अनि यो बरन्डा । बेकारमा ठाउँ खेर फाल्नु भएछ । यसलाई पनि कोठामै गाभेको भए कति राम्रो हुन्थ्यो । बरन्डा त कुकुर सुत्ने ठाउँ त हो नि । कुकुरलाई यत्रो ठाउँ ?”

म झसङ्ग भएँ । उत्तर के दिने ? केही सोच्न सकिनँ । मैले त बरन्डा मेरै लागि बनाएको थिएँ । कुकुरका लागि त बनाएको थिइनँ । कुकुर देखुञ्जेल त म धपाउँला तर मैले नदेखी आएर सुत्छ भने मैले त्यसमा के गर्न सक्छु र ।

अचानक केही विचार आयो । हेरेँ त्यहीँ बरन्डालाई । कुकुर सुत्ने बरन्डा । भित्रबाट खाट ल्याएँ, दरी ओछ्याएँ र पल्टिएँ । आहा मेरो घरको मेरो बरन्डा र म….. ।

बरन्डाको प्रयोग नितान्त वैयक्तिक हुँदोरहेछ, मलाई केही आभास हुँदैछ । मलाई ती कुरा सुनाउने सज्जनलाई बरन्डा ठाउँ, समय र पैसाको बर्बादी हुन सक्ला तर मेरालागि मेरो बरन्डाले धेरै अर्थ राख्छ ।

त्यही बरन्डामा बसेर वैशाखे गर्मीमा बिहानै कफीको सुर्को तान्दै काठमाडौँ पोस्टका पन्नाहरू पल्टाएर मेरो दिनचर्या सुरु हुन्छ । त्यहीँबाट छिमेकीहरू टाइगर अङ्कल र नारायणजीलाई अभिवादन गर्छु र पूर्वैयाले यही बरन्डामा मलाई शीतलता दिन्छ ।

म घरमा सर्नुभन्दा अघि बसेको रमा बहिनीको घरको छत यही बरन्डाबाट देखिन्छ । उहाँ त्यहाँबाट केही भन्नुहुन्छ र म जवाफ र्फकाउँछु । गोविन्दभाइको डेढबर्से छोराले मैले यसै बरन्डाबाट ‘ए…..भाइ…….!’ भनेर बोलाउँदा खित्का छाडेको सबैलाई मन पर्छ ।

यही बरन्डामा बसेर म सम्झिरहेको छु, घर बनाउनका लागि गरेका प्रारम्भिक दौडधुपहरू । कतै सुनेको थिएँ भुवनेश्वर गएर आएपछि घर नहुनेको पनि घर बन्छ

रे ! विश्वासको एउटा त्यान्द्रो समातेर घर बन्ने आसमा भुवनेश्वरबाट किनिल्याएको सादा कागजमा चार जना परिवार- सदस्य मिलेर महिनौँ लगाएर बनाएका घरका प्रारम्भिक नक्साहरू । रुपियाँ-पैसाको मेलोमेसो र कामको निरन्तरताको चासो ।

उत्तरपट्ट िलिम्बूदाइको सुँगुरको खोरमा त्यसको घुँकघुँकसँगै मेरा मनमा पनि कहीँ कतै दिक्दारीहरू हल्लिन्छन् र तिनकै दुर्गन्धले मेरा नाकका पोरा पनि थुनिन्छन् । चारो खाने ठाउँमा बिस्ट्यायो भनेर ती निर्दोष जोडी सुँगुरलाई लिम्बूदाइ भाटा बर्साउँछन् । हामी सपरिवार तिनको ती सुँगुरहरूमाथि गरिएको दुव्र्यवहार या अनुशासनको कारबाहीका मूकदर्शक छौँ । यो बरन्डा साक्षी छ । हेर्नोस्, नकुट्नुस तिनलाई । तिनले खाने ठाउँमा फोहोर गर्नुहुँदैन भन्ने जानेको भए तिनीहरू सुँगुर नै हुने थिएनन् । मान्छे भइहाल्थे नि । भनी अनेकन् पटक लिम्बूदाइलाई भन्न चाहेको पनि हुँ तर मुख फोरिएन । ती लिम्बूदाइलाई झोक मात्र चल्छ । प्रायः चौबीसै घण्टा आफ्नो नियन्त्रणमा नरहने तिनलाई पशु सद्भावको कागजी कुराले कतै समाउन सक्तैन भन्ने मेरो अड्कल छ । फेरि केही भनियो भने त्यही भाटो आफ्नै टाउकामा आइलाग्यो भने ! मेरो मनले फेरि गम्छ किन लिम्बूदाइ मात्र यहाँ यस्ता मान्छे कति छन् कति, टाउको दुखेको दवाइ नाइटामा लगाउने ।

यो त्यही बरन्डा हो जहाँबाट छिमेकी कविताकी छोरी फुच्ची रञ्जनाले अङ्ग्रेजी पढेको सुन्छु । उनकी देउरानी तुलसाले आफ्नो छोरो राजले अटेरी गर्दा वात्सल्यले भरिएको सजाय दिएको, तिनका फूलबारीमा फूल फुलेको र तिनकै तुलसीको मोठमा दियो बलेको, कविता र तुलसाका आँखाहरूमा रहेको प्रतीक्षा देख्छु । रञ्जना र राजले भोलिपर्सि परदेशबाट आउने बुबाहरूबाट थाप्ने कोसेलीको कल्पना पनि मलाई यही बरन्डामा मात्रै आउँछ ।

घर बनाउने प्रारम्भिक दौडधूपका कुराहरू, रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी, भरोट, काँटी, तार, रुपियाँ-पैसाको मेलोमेसो आदि-इत्यादिका हरेक झमेलाहरूका हरहिसाबको साक्षी छ यो बरन्डा । सिमेन्ट र रड राख्ने ठाउँको अभाव र दक्षिणका छिमेकीलाई गरिएको अनुरोध सम्झँदा म अझै विचलित हुन्छु । मेरी पत्नी र मैले उनीहरूको खाली गोठमा ती सामान राख्न कमसेकम दर्जनपल्ट अनुरोध गर्‍यौँ तर उहाँहरूले घर बनाइहाल्ने बहानाले दिनुभएन । पहिले पनि तीन छिमेकीहरूले त्यो ठाउँ प्रयोग गरेको हुनाले मैले पाउँदिन भन्ने कतै लागेन । मेरो बरन्डामा बसेर दक्षिण र्फकंदा पहिलो दृष्टि त्यही गोठ पर्छ, जुन अहिलेसम्म जस्ताको तस्तै छ । त्यसमा पलाएका ढुँडी र काइमा म उहाँहरूकै चित्र देख्छु र मेरो मन प्रत्येक पल्ट अमिलिन्छ । त्यस अर्थमा यो मेरो सच्चा साथी भएको छ ।

म यहीँ बसेर मेरो घरलाई आफ्नो जसरी बनाउने मिस्त्री र मजदुरहरूलाई मनमनै अभिवादन गर्छु । तिनीहरू दिनका दिन अरूका सपनाको महल उभ्याउन पसिना चुहाउँछन् । आफ्ना सिर्जनात्मक हातहरूले चोटा­ कोठालाई जीवन्तता दिन्छन्, र महिनौँ दिनपछिको श्रमपछाडि घर जिम्मा लगाएर आफ्नै फुसका झुपडीहरूमा रात गुजार्छन् । सायद आफूले दिनका दिन मेहनत गरेर बनाएको महल ती सपनामा देख्ता हुन् । तिनले मेरा घरका चोटा­कोठा सिँगारिरहँदा, आफू त्यहाँ भएको, आफूले कोठाहरूको उपभोग गरेको र आफ्नो जीवन नै त्यहीँ बित्ने कल्पना गर्दा हुन् र नै यी चोटा­कोठा यति सुन्दर भएका छन् । जिन्दगी गुजार्ने नियमितताका लागि अर्काको महल बनाएको बनायै गर्ने यी महान् शिल्पीहरूभन्दा ठूला कलाकार को हुन सक्लान् र ? तिनले यस बरन्डामा ढल्किएर शीतल ताप्दै चाँदनी हेर्ने कल्पना पनि त गरेका होलान् ।

हो, यही बरन्डामा ढल्किएर म पूणिर्माको चन्द्रमामा मेरो सुन्दर नेपालको मानचित्र खोजी हिँड्छु । त्यहीँ कहिले मेरो देश भेटिन्छ, कहिले मेरा देवकोटा भेटिन्छन् । पशुपतिनाथको गजुरले मलाई त्यहीँबाट आशीर्वाद दिन्छ । उहीले विद्यार्थी छँदा दार्जीलिङमा कोठाको झ्यालमा बसेर चन्द्रमा नियाल्दा गान्धीले खबरदार गरिरहन्थे । अहिले मेरो बरन्डाबाट बी.पी. र मदन भण्डारीको आँसुले भरिएका अनुहार मात्र देखिन्छन् । तारा र बादलहरूको लुकामारीमा कतै बिजुली चम्केझैँ बिस्फोट हुन्छ, कतै रोदन र चित्कारका छहराहरू देखिन्छन् त कतै मान्छेका शवहरूका थुप्रामा बनेका भव्य महल देखिन्छन् ।

हो, यही बरन्डामा बसेर कल्पना गर्छु, ती महिला र पुरुषहरूलाई दिने ओठे जवाफहरू जुन मैले त्यसबेला दिन सकेको थिइनँ । ‘सटर खोइ त ? घर त बिगि्रगएछ नि ।’ ‘प्यासेज नराखेको, अब यो, यो,…कोठा कसरी भाडा लगाउने ?’ ‘यत्रो कोठालाई भान्सा बनाएर बिगारेको ? छतमा सानो बनाउँदा भइहाल्थ्यो नि ।’ आदि आदि । यी सबै कुराका जवाफहरू मलाई त्यही बरन्डाले दिएको छ ।

मेरो त जीवन हो बरन्डा । यही बरन्डामा बसेर मैले श्रमिक पर्शुराम उर्फ सप्तरीयाको कथा लेख्नु छ, लमतन्न सुतेर उन्मुक्तताको सास फेर्नु छ, आँखाहरू तल र माथि पार्दै आकाशमाथि उडिरहेका सपनाहरू पक्रिनु छ । मेरो घर ताकेर आउने हरेक पाहुनाहरूलाई देवतालाई झैँ स्वागत गर्नुछ ।

मेरो बरन्डा मेरो विगत, आगत र भविष्यको दर्पण हो, मेरा परिवारसँग र बुढेसकालमा जीवनसाथीसँग जिउने थलो । म यही बरन्डामा बस्न चाहन्छु, यहीँ आराम गर्न चाहन्छु । म र मेरो बरन्डा नै ठीक, तपाईं……… ।

-इटहरी

Kumud Adhikari – Dhana Didi

कुमुद अधिकारी – धना दिदी
(साहित्य सरिता)

२०६० भाइटीकाको दिन । टीका लगाउने साइत ढिलै भएकाले हामी दाजुभाइहरू सिकुवामा बसेर समसामयिक विषयमा छलफल गर्दै थियौँ । मन उचाट थियो । समग्रमा निराशाका कुराहरू नै थिए छलफलका । रमाइलो मान्नुपर्ने चार्डपर्वमा पनि मेरो मन कुनै बेला बिनाकारण निराश बन्छ । बिनाकारण निराशा हो वा निराशाको कारण म आफैँले पत्ता लगाउन नसकेर हो म निराश चाहिँ हुन्छु । भित्री निराशालाई प्रकट नगरी म छलफलमा भाग लिइरहेको थिएँ । त्यत्तिकैमा आँगनका पल्ला छेउमा दुईजना व्यक्तिहरू मलीन अनुहार लिएर देखा परे । मेरो परिचयको सूचिमा नपरेका व्यक्तिहरूले माल्दाजुलाई बोलाएर अलिपर लगे । म अलि अलमलमा परेँ। समयकाल ठीक छैन । कस्ता व्यक्ति हुन् – के गर्न आएका – मनमा कुरा खेलीरहे एकछिन । केही समयपश्चात् माल्दाजु आएर घोषणा गर्नुभयो “धना दिदी बित्नुभयो अरे । आमालाई अहिले नसुनाऊँ टीका लगाएपछि सुनाउँला ।” वहाँको घोषणाले मेरो मनको निराशालाई दुःखमा बदल्यो । मलाई लाग्यो मलाई कसैले ठूलो भीरबाट खसालिदिएको छ । हातखुट्टा शून्य भएर आए । केहीक्षण पछि चेतना फिर्‍यो । मेरी आमालाई सानीमा भनेकाले हाम्री दिदी हुनुभएकी धना दिदी यति चाँडै खस्नुहोला भन्ने मनको कुनै अन्तरकुन्तरमा पनि थिएन । वहाँ अस्वस्थ हुनुभएको त थाहा थियो तर यति छिटै वहाँको चोला उठ्ला भनेर सोचेकै थिइनँ । अझ टीकाकै दिनपनि धना दिदी टीका लाइदिन लठ्ठी टेक्दै टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आस बोकेको मनलाई वहाँको मृत्युको खवरले मर्माहत तुल्यायो ।

त्यसपछिका घटनाक्रमहरू यन्त्रवत् घटिरहे । शारीरिक रूपले मैले तिहारको टीकामा भाग लिए पनि मनचाहिँ धना दिदीसँगै विगतमा घुमिरह्यो । दिदी पानी लिएर दाजुभाइहरू बसेको स्थान परिक्रमा गर्न थाल्नुभयो । दिदी पछाडि पनि मैले धनादिदी नै देखिरहेँ। वहाँ टीका लगाउने सबै प्रकृयाहरूमा दिदीकै पछिपछि हुनुहुन्थ्यो । मलाई असामान्य केही लागेन । धना दिदीको अनुपस्थितिको भान नै भएन । अचानक दिदीले कपालमा तेल लगाई दिन टाउकामा हात पुर्‍याउनुभयो । म झसङ्ग भएँ, ओहो धना दिदी त हुनुहुन्न, म त तन्द्रामा पो रहेछु ।

दिदीले टाउकामा तेल लगाइदिनुहुँदै छ । मलाई याद भयो धना दिदीले भनेको कुरा- म सानै थिएँ रे । वहाँले मलाई माया गरेर काँधमा बोक्नुहुन्थ्यो रे । काँधमा बोक्दा मेरा हातले वहाँको टाउको समात्थेँ रे । एकपल्ट यसै गरी बोक्ता वहाँको काँधमा मैले छेरिदिएको थिएँ रे । यी सबै कुरा सुनेर म त्यत्तिकै हाँसिदिन्थेँ पहिले तर अहिले यिनै कुराले मन रुवाइ रहेछ । म आफूलाई बालकमा परिवर्तन गरेर उक्त घटनाको नायक बन्न खोज्छु । मुटुमा भक्कानु मात्र फुट्छ । सायद मैले छेरेको कारणले धना दिदी रिसाउनु भएको हो कि । अहिले वहाँ नजीक भए मैले छेरेकोमा क्षमा माग्ने थिएँ जुन काम मैले पहिले कहिल्यै गरिनँ।

कार्यक्रम अगाडि बड्यो, दिदीलाई टीका लगाएर दक्षिणा दिने बेला भयो । मलाई धेरै पटक लागेको कुरो हो चाडबाडमा दिदीहरूलाई राम्रै दक्षिणा दिऊँ, ठूलै रकम दिऊँ, तर दिने बेलामा उही खर्चका हिसाबकिताब अगाडि सर्छन् र दक्षिणाको रकम प्राथमिकतामा पर्दैन । दिदीलाई दक्षिणा दिएपछि लाग्यो धना दिदीलाई पनि अलि बढी दक्षिणा दिन पाए कति खुसी हुनुहुन्थ्यो वहाँ । तर अब त धेरै ढिला भैसकेको थियो । खै चेलीबेटीलाई धक फुकाएर दक्षिणा दिने बेला हाम्रो जीवनमा आउला कि नआउला ।
खाने बेला भयो । भागमा परेका फलफूल टोक्दै गएँ। मोही खान मन लाग्यो । मोहीको गिलास समातेपछि फेरि झल्याँस्स भएँ धना दिदी भन्ने गर्नुहुन्थ्यो “मेरा घरमा मुसा पालेकी छु, सुन्तलेमा भाइ, सुन्तले गएर मुसा दुहुनुपर्छ, दूध जमाउनुपर्छ मोही पार्नुपर्छ र पिउनुपर्छ ।” मनमा टीस उठ्छ । अहिले मलाई थाहा छ मुसा दुहेर दूध खान सकिन्न तर त्यस बेला वहाँले भनेको असत्य लाग्दैन थियो । कल्पना गर्थेँ ठूला मूसा होलान् गाईकै जस्ता चारवटा थुन होलान् । ससाना ढुङ्ग्रा होलान् मुसा दुहुने, त्यही रकमका सानै ठेका-टोलङ होलान् दूध जमाउन र मोही पार्नका लागि । केटाकेटीको कल्पनाबाट आखिरी के पो अछुतो छ र ।

खानपिन सकेर माल्दाजु र म सुन्तले जाने भयौँ। आँगनबाट निस्केर गल्लीमा पुग्यौँ। गल्ली- मैले सानामा खेलेको गल्ली- सहर बजारमा धेरैधेरै घरका बीचमा साँघुरो बाटो नभएर ठूलो वरको फेदबाट गएको तेर्सो बाटो- यही गल्लीमा गाडी आउँछ भन्दा मन फुरुङ हुन्थ्यो सानामा, आफ्नै कल्पनाका गाडीहरू, ती गाडीमा चडेको कतैकतै गएको, अहिले सम्झँदा रमाइलो लाग्छ । धना दिदी गाडीको कुरा गर्दा भन्ने गर्नुहुन्थ्यो- “गल्लीमा गाडी आउँछ, हुर्र चढौँला, इलाम जाउँला सिलाम खाउँला ।” गाडीका कल्पना माथि धना दिदीले इलाम र सिलामको सपना थपिदिनुभएको थियो । इलामको कल्पना त धेरथोर वास्तविकतासँग मेल खायो नै तर सिलामको स्वादचाहिँ पटक्कै कल्पित स्वादसँग मेल खाएन ।

हामी फेरि अगाडि बढ्यौँ। बाटादेखि मुन्तिर यामबहादुरको सानो घर छ । घर टाटीले बारेको र खरले छाएको । ठ्याक्कै यस्तै घर थियो धना दिदीको पनि सुन्तलेमा । म वहाँसँग सुन्तले धेरैपल्ट जाँदाका यादहरू मेरा मानसपटलमा सुरक्षित छन् । वहाँको घर सानो, चिटिक्क परेको टाटीले बारेको, खरले छाएको हुने गर्थ्यो । भित्रपट्टि सबै माटाले टाटी भरेर रातामाटाले राम्ररी लिपेको हुन्थ्यो । टाटीका बीचमा दुईतिर केही भाग माटो नलगाई आँखी झ्याल राखेको हुन्थ्यो । झ्यालको वरिपरि अलिकति माटो उठाएर कलात्मक रूप दिएको हुन्थ्यो । एकापट्टि कुनामा सानो खाट थियो र खाट सामुन्ने सानो चुल्हो थियो भइँमा । मैले त्यो चुल्हो देख्दा त्यो जहिले पनि रातो माटाले लिपेर सफा बनाएको मात्र देख्थेँ । चुलामाथि एल्युमिनियमको मख, कालो फलामे चिम्टा, बुलाकी लगाएको चुलेसी आदि भित्तामा झुन्डिएका हुन्थे । धना दिदीले त्यो चुलेँसीले इस्कुस ताछ्दा चुलेँसीको बुलाकी र वहाँको नाकमा भएको बुलाकी सँगसँगै हल्लिन्थे । मलाई चाहिँ त्यो दृश्य बिछट्ट रमाइलो लाग्थ्यो । त्यस घरमा दैलो र खाटचाहिँ काठकै देखेको थिएँ । म धना दिदीसँग सुन्तले जाने बित्तिकै, दूध दिने मुसा खोज्न थाल्थेँ । दिदी भन्नुहुन्थ्यो “गए त ती मुसा त गोठमा, केटाकेटीका छेउमा ती आउँदैनन् । भरे तँ सुतिसकेपछि म बोलाएर दुहुन्छु है ।” म पनि होला नि भनेर चुप लाग्ने गर्थेँ । अँध्यारो हुँदै गएपछि मलाई डर लाग्थ्यो । धना दिदीको घरमास्तिरपट्टि नेपालबारी साँल्दाजुको घर थियो । बेलुका भएपछि धना दिदी कराउनुहुन्थ्यो उँभो फर्केर “ए साहिँली ! ढोका लगा, पर बाटामा भोटे आयो है, केटाकेटी सुते कि सुतेनन् ।” त्यसपछि साँल्दाजुका घरमा ढोका लगाएको आवाज र आग्लो चढाएको आवाज आउँथ्यो । मचाहिँ धना दिदीको सानो खाटमा भित्तापट्टि डल्लो पर्थेँ डरले । मलाई त्यस बेला भोटे भनेपछि साह्रै डर लाग्थ्यो । लामालामा हातखुट्टा भएको, जिउभरि काला भुत्ला भएको भालूको जस्तो मुख भएको, वनमान्छे जस्तो आकृति लाग्थ्यो भोटे । धना दिदीले भोटे आयो भनेर भित्र पसी दैलो लगाइसकेपछि मात्र म आँखा हेर्थेँ। तैपनि खाटमास्तिर रहेको सानो टाटीको आँखीझ्यालबाट भोटेले हात छिराएर तान्छ कि भन्ने लागिरहन्थ्यो ।

सोच्दासोच्दै निकै अगाडि बढिसकिएछ । माघेखोला तरेर अलैँचीबारीको उकालो उक्लेपछि माल्दाजुले एकछिन उभिएर जाऔँ भन्नुभयो । उभिने क्रममा वहाँले गोजीबाट चुरोट निकालेर सल्काउनुभयो । म यो देखेर फेरि स्मृतिको पानामै फर्किएँ । मलाई थाहा छ, यो माघेको हाम्रो घरकै घटना हो । मलाई रुघाखोकी लागेको थियो । त्यस बेला धना दिदी चुर खानुहुन्थ्यो । मलाई चाहिँ चुरको गन्ध एकदमै मन नपर्ने । मलाई रुघा लागेको देखेर वहाँले भन्नुभयो -“ल भाइ ! म दबाई गर्छु त्यसपछि वहाँले चुर बेर्ने कागजमा ज्वानु बेरेर चुर सल्काएजस्तै सल्काउनुभयो र मलाई पनि तान्न दिनुभयो । म त केटाकेटी, चुरोट वा चुर कहिल्यै नतानेको एकपल्ट तान्नेबित्तिकै भित्रभित्रै आगो लागेजस्तो भयो । खोकी लागेको लाग्यै भयो म राल र सिँगानसरि भएँ । धना दिदी भने त्यही ज्वानाको चुर मज्जाले तानिरहनुभएको थियो ।

यस्तै उकालीओराली गर्दै हामी दाजुभाइ गन्तव्यमा पुग्यौँ । त्यहाँको बोझिल वातावरणमा केही व्यक्तिहरू तास खेलिरहेका थिए । दिदी जिन्दगीभरि आफ्नो परिवारसँग नबसेर एक्लै बस्नुभएको थियो । धेरै वर्षनेपालबारी साँल्दाजुको घरछेउमा कटेरोरूपी घरमा बस्नुभयो र त्यसपछि विजया भाउजूकामा बस्दै आउनुभएको थियो । धना दिदीको चोला पनि विजया भाउजूको घरमै उठेको थियो । मेरो ज्ञानले भ्याएअनुसार भिनाजुको खोजी गर्दा, धना दिदी भिनाजुसँग नमिलेर एक्लै बस्नुभएको जानकारीमा आयो । आफ्ना श्रीमान्-सँग जिन्दगीभरि छुट्टिएर बसे पनि शवयात्रा निकाल्न भने घरकै मान्छे चाहिने रे – त्यसैले शवयात्रामा ढिलाइ भएको थियो । यो देखेर आफ्नो मनमा चाहिँ आफ्नै संस्कारप्रति वितृष्णा जागेर आयो । धना दिदीका घरबाट मान्छे आएका थिएनन् । आफूलाई त्यहीँ बसिरहन उकुसमुकुस भएर आयो । जे भए पनि धना दिदीले यो पृथ्वीलाई त्यागिसक्नुभएको थियो । धना दिदीको स्मृतिसँगै हामी गह्रौँ मन लिएर त्यहाँबाट हिँड्यौँ ।

आज मलाई मेरी प्यारी धना दिदीलाई तिहारमा हजारैहजारका नोट खाममा हालेर दक्षिणा दिन मन लागेको छ । मलाई अहिले बालक हुन असाध्य मन लागेको छ । पहिले जस्तै वहाँको अर्को काँधमा चढेर दिसा गरूँ र- दिदी ! तपाईँ कति राम्री भनूँ जस्तो लागेको छ । धना दिदीले पालेका मुसाको दूध विछट्ट खान मन लागेको छ, र खै किन हो सबैभन्दा धेरैचाहिँ भोटे आउने डरले वहाँको काखमा लुक्न मन लागेको छ ।