माधव सयपत्री – खाडल
म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा भयो मैले थाहा पाइनँ। चिया पिएपछि उनीहरू गए। उनीहरू गएपछि बुबा-आमाले मलाई बैठकमै बोलाउनुभयो। बुबाले सोध्नुभयो, ‘सरु, केटा तिमीलाई कस्तो लाग्यो त ?’मैले भनें, ‘अनुहार हेर्दैमा मानिस चिनिन्छ र ? मेरो विवाहको कुरा अहिले नठाउनुहोस् बुबा ! म एम.ए. नसकी विवाह गर्दिनँ।’ बुबाले दबाबको भाषा बोल्नुभयो, ‘धनीमानी र सभ्य परिवारको केटा माग्न आएका बेला पनि मानिनौ भने हरिकङ्गालसँग परौली, विचार गर। तिमी कति पढ्छ्यौ, पढाउने जिम्मा उहाँहरूले नै लिनुभएको छ।’ आमाले केटाका परिवारका विषयमा सामान्य सोधपुछ गर्दा बुबाले भन्नुभयो, ‘तिमीलाई भन्दा मलाई छोरीको बढी चिन्ता छ। त्यस्तो राम्रो परिवार खोजेर पनि पाइँदैन।’
बुबाको त्यो छोटो उत्तरले आमा प्रत्युत्तरविहीन हुनुभएको थियो। एकछिनपछि आमाले भन्नुभयो, ‘छोरीले जिन्दगी बिताउने घर र केटाका बारेमा राम्रोसँग बुझ्नुपर्छ।’ बुबाले कडा उत्तर दिनुभयो, ‘आइमाई धेरै जान्ने भएको सुहाउँदैन। मैले सबै बुझिसकेँ।’ आमाको मुखमा बुझो लाग्यो। बुबाको विश्वास नगर्नु यो पुरुषप्रधान समाजमा पाच्य हुँदैनथ्यो। आमाले पराइघरमा गएपछि गर्नुपर्ने सबै कामका विषयमा मलाई बताउनुभयो।
अन्त्यमा मेरो विवाह भएरै छाड्यो। बुबाले आडम्बरी समाजमा इज्जतको सगरमाथा अझ अग्लो बनाउनुभयो। धक फुकाएर दाइजो दिनुभयो।
नयाँ घरमा आएपछि सुरुदेखि नै मलाई आफू ठूलो खाडलमा जाकिएझै लागेको छ। यो खाडलबाहिरको संसार सोच्नु पनि मेरा लागि असम्भवजस्तै भएको छ। मेरा बुबा सोच्नुहुँदो हो, ‘छोरीलाई राम्रो परिवारमा जिम्मा लगाएँ।’ मैले आजसम्म राम्रो र नराम्रोको भेद पाउन सकेकी छैन। म राम्रो र सभ्य परिवार भनाउँदाबाटै प्रताडित भैरहेकी छु। यस्तो पनि सभ्यता हुन्छ ? यस्ता मान्छेलाई पनि सभ्य भन्छन् ?
परिवारका सबै सदस्य पढे-लेखेका छन्। सासूबाहेक सबै स्नातकमाथि। सभ्य परिवार भनाउँदो यो जमात अचम्मकै छ। हरेकमा फरक-फरक किसिमको घटिया स्वभाव छ। ससुराले शिक्षण पेसाबाट अवकाश लिनुभएको छ। सासूले पनि आइ.ए. गर्नुभएको छ। नन्दहरू स्नातकोत्तर सकेर विद्यावारिधिको तयारीमा छन्। मेरा श्रीमान् समाजशास्त्रमा स्नातकोत्तर गरी सामाजिक क्षेत्रमा काम गर्ने एउटा एनजिओ प्रमुख हुनुहुन्छ। उहाँ सरकारी अधिकृतका लागि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ।
आर्थिक रूपमा पनि परिवार सम्पन्न छ। मान्छेपिच्छे बाइक र स्कुटर छन्। सबैसँग ल्यापटप छन्। हातमा महँगा आइप्याड छन्। सुन-चाँदीको त के कुरा ? एउटा कार र एउटा ल्यान्डक्रुजर जिप छ। सहरको केन्द्र भागमा तीनवटा बंगला छन्। घरमा काम गर्ने मान्छे तीनजना छन्। भान्साको काम गर्ने एउटी केटी छे। किनमेल र बाहिरी काम गर्ने एउटा केटो छ-गोपाल। लुगा धुने, फूलबारीमा पानी हाल्ने, गोडमेल गर्ने अर्को केटो छ-रामु।
भान्से केटीको नाम सुमित्रा हो। ऊ लोग्नेसँग कुरा नमिलेर छोडपत्र गरी हाम्रोमा काम गर्न आएकी रै’छ। ऊ मलाई बेलाबेलामा लोग्नेमान्छेको स्वभावका बारेमा बताउँछे। उसमा लोग्नेमान्छेप्रति घृणा रहेछ। लोग्नेका कारण ऊ सबै लोग्नेमान्छेहरूलाई गोमन साँपजस्तै देख्छे। मलाई भने सुमित्रा ज्यादै राम्री लाग्छे-अनुहार र व्यवहारमा पनि। होइन, कस्ता स्वास्नी पाए लोग्नेमान्छे खुसी हुन्छन् हँ ? उनीहरू मात्र खुसी भए पुग्ने रहेछ ? स्वास्नीचाहिँ खुसी हुनु नपर्ने ? के स्वास्नीमान्छे झुम्राका पुतली हुन् र ? लोग्नेसित सुत्न पाउनु मात्र स्वास्नीमान्छेको सबै कुरा हो र ?
सुमित्राको कुराले अझ नमीठो अनुभव भएको छ। मुखमा रामराम बगलीमा छुरा धस्ने यी कृतघ्न पुरुषप्रति म पनि क्षुब्ध छु। मेरा श्रीमान् भन्नुहुन्छ, ‘आइमाईको आँसु आत्मसमर्पणको प्रतीक हो।’ कति तल्लो स्तरको सोचाइ ! चाहे भने आइमाईले आफ्नो हातमा बम र बन्दुक बोक्न सक्छन्। प्रमाण यिनीहरू सामु छैन र ?
मेरो परिवार ठालु पृष्ठभूमिको छ। म पनि यस्तै परिवारकी बुहारी हुँ। मैले यस्तो कुरा गर्नु सान्दर्भिक नहोला, तर यो घरको व्यवहार मलाई पटक्कै मन परेको छैन। सायद यो दृष्टिकोणको भिन्नता होला। ठालुहरू ब्वाँसो चरित्रका हुन्छन्। बाहिर-बाहिर मीठा कुरा गर्ने, भित्रभित्र आन्द्राभुँडी झिक्ने।
म सुरुमा बेहुली भएर भित्रिएको केही दिनपछि सुमित्राले आफ्नो मनको बह पोखेकी थिई। उसको बेलीबिस्तार सुन्दा मेरो जिउभरि काँढा उमि्रएका थिए। लागेथ्यो, म काँढाको ओछ्यानमा काँढै ओढेर सुत्दैछु। सुमित्राले भनेको र मेरा श्रीमान्ले मलाई गरेको व्यवहार सतप्रतिशत मिल्यो। साँच्चै लोग्नेमान्छे अचम्मका हुँदा रहेछन्। कुनै कुरा श्रीमतीसित खुलेर नगर्ने, रहस्यमय। मनको कुरा चाल नपाइने। के गर्दैछन्, थाहै नपाइने। कामकुरा बिगि्रयो भने श्रीमतीलाई दु:ख दिने।
जसरी सुमित्रा लोग्नेको प्रताडना सहन नसकेर परिवारमा विद्रोह गरी बाहिरिई त्यसरी नै म पनि विद्रोह गर्न सक्दिन र ? म पनि पढेलेखेकी मान्छे। एउटा पेट त पाल्न सक्छु। भलै यो परिवार र समाज लोग्नेमान्छेकै बिर्ता भएछ रे, नारीले परिवारमा विद्रोह गरी भने लोग्नेमान्छेले भात होइन चामल खानुपर्ने अवस्था आउँछ।
मेरो बुबाको हठको कारण मैले आज कत्ति पनि खुसी महसुस गर्न सकेकी छैन। समाजको अगुवा भएर पनि परम्परागत मान्यताप्रति आफ्नो दृष्टिकोण छैन मेरा बुबामा। आमाले ‘छोरीले जिन्दगी बिताउने घर राम्रोसँग बुझ्नुपर्छ।’ भन्दा बुबाले टेरपुच्छर लगाउनुभएन। बुबाकै अभिमान र आडम्बरको सिकार भएकी छु म। नराम्रोसँग खाडलमा जाकिएकी छु। स्वनिर्णय गर्न सक्ने अवस्थामा पनि छैन। म सधैँ कथित सभ्य श्रीमान्बाट वैध बलात्कृत भैरहेकी छु।
समाज, संस्कृति, मूल्य, परम्परा धान्ने निहुँमा जडसंस्कारलाई प्रोत्साहन दिनु कति मूर्खता हो ! समाजशास्त्र पढेको भए पनि मेरा श्रीमान्को बुझाइ पश्चगामी छ। सासू-ससुरा त पुराना मान्छे, उनीहरूको नसा-नसामा परम्पराको रगत बग्नु कुनै नौलो कुरा होइन। तर त्यत्रो पढेको मान्छेको विचार कति निकृष्ट ? मैले ‘सामाजिक संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्छ।’ भन्दा जवाफ आयो, ‘तिमी धेरै जान्ने नहोऊ है ! पोथी बासेको सुहाउँदैन।’ सधैँ मेरो खाँचो हुने तर मेरा कुरा एउटा कानले पनि सुन्न नचाहने। कस्तो स्वभाव ?
लाग्छ, मेरा श्रीमान्भन्दा फूलबारीमा काम गर्ने गोपालको विचार निकै उन्नत छ। उसले कम पढेको छ, सम्पत्ति छैन। सम्पत्ति र पढाइले मात्र विचार बदल्न सक्दो रहेनछ। आहालको पानीझै सडेर गन्हाएको अकूत सम्पत्तिले के गर्नु ? मभन्दा सुमित्रा धेरै खुसी छे। सम्पत्तिवालकी श्रीमती भएर पनि मेरो विचारमा खिया लाग्दै गएको छ। विवाह नहुँदासम्म ममा जुन उन्नत विचार थियो, त्यो आज करिब-करिब मरिसकेको छ। विचार मर्नु भनेको वैचारिक रूपले मान्छे मर्नु हो।
बिहान झिसमिसेमै उठेर श्रीमान्का खुट्टामा टाउको जोताउनुपर्ने। खाना खानुअघि उनको खुट्टाको पानी खानुपर्ने। श्रीमान्को जूठो खानुपर्ने। यही हो त नारी अधिकार र समावेशिताको नमूना ? फोहोर कुल्चिएको खुट्टाको पानी खानु कति जायज छ, कसैले विश्लेषण गर्दैनन्। गर्छन् त केवल फलानाकी स्वास्नीले श्रीमान्का खुट्टाको पानी खान्छे कि खान्न ? घिनलाग्दो गरी मुछेको जूठो भात खान्छे कि खान्न ?
ज्यादै दिगमिग लागेपछि मैले एकदिन मुख खोलेँ, ‘हजुर, म खुट्टाको पानी खान्न। अचाउँछु मात्र। खुट्टाको पानी खाँदा मात्र माया गाढा हुने हो र ?’ उहाँले भन्नुभयो, ‘त्यसो भनेर कहाँ हुन्छ ? आमाले सधैँ चियो गर्नुहुन्छ। फेरि लोग्नेस्वास्नीको सम्बन्ध केमा नै रह्यो र’ मैले अलि कडा प्रतिवाद गरेँ, ‘मैले मेरो शरीर तपाईंलाई सुम्पिएकै छु। भएभरको माया दिएकै छु। अब हजुरलाई कस्तो माया र सम्बन्ध चाहियो ?’ मेरो प्रतिवादले उहाँको पुरुष अहम्मा ठूलै चोट परेछ। भन्नुभयो, ‘बढी जान्ने हुने होइन है सरु इष्टमित्र र जोरीपारीले के भन्लान् ?’
कसले के भन्छ भन्दा पनि के ठीक र के बेठीक पो हेर्नुपर्छ। यो धर्मभीरु समाज र जीर्ण संस्कारलाई मलजल गरिरहने ! अरू त ठीकै छ, खुट्टाको पानी खानुपर्ने र इच्छाविपरीत लोग्नेमान्छेको खेलौना बनिदिनुपर्ने कुराले मलाई ज्यादै पीडाबोध भएको छ। मन कुँडिएपछि भौतिक सम्पन्नताले केही राहत दिँदो रहेनछ। आहत पार्दो रहेछ। बेलुका सधैँ उनको खुट्टामा तेल दल्नुपर्ने, सिँगारपटार गरेर चिरिच्याट्ट बनी ओछ्यानमा जानुपर्ने। श्रीमान्चाहिँ चुरोट र रक्सीको उबि्रगन्ध छाड्दै मसँग लपेटिने !
मैले एक रात भनेँ, ‘हजुर, यता सुन्नुहोस् त।’ उहाँ बोल्नुभयो, ‘के भन्नु छ, भन।’ मैले भनेँ, ‘नारी पुरुष बराबरी भन्छन्, व्यवहारमा त्यो देखिएन। अब हामी यो समाजकै उदाहरण बनौँ। हजुरको खुट्टा म मिच्छु, मेरो खुट्टा हजुर मिच्नुहोस्। घरको काम पनि हामी दुवै मिलेर आधा-आधा गरौँ।’
मेरो वचन भुइँमा खस्न नपाउँदै उहाँले मेरो केश जगल्ट्याउनुभयो। ढाडमा लात्ती जम्यो। म खाटबाट लडेँ। उहाँले दराजबाट हि्वस्की झिकेर पिउनुभयो। बर्बराउँदै श्रीमान् बाहिरिनुभयो। म झन्झन् गहिरो खाडलमा जाकिँदै छु। किन-किन हिजोआज मलाई गोपालसँग मन खोलेर कुण्ठा पोख्न मन लागेको छ।
श्रावण १, २०७१
(स्रोत : कान्तिपुर – नारी मासिक)