माधव सयपत्री – रातो फूल
देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ ।
हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा हुर्किएको एउटा धर्मजीव हो । ऊ त्यो सामाजिक संस्कारबाट बाहिर निस्कन सक्दैन वा चाँहदैन । उसलाई पनि धर्मकर्मप्रति असीम आस्था छ । ऊ त्यो आस्थाको धरहरा अझै ठड्याउन चाहन्छ ।
हितबहादुरलाई भगवतीको मन्दिरमा फूल चढाउनुछ । जसरी पनि चढाउनुछ । त्यसैले ऊ खल्तीमा रातोफूल बोकेर बिहानै मन्दिर परिसरबाहिर देखा परेको छ । कथित उपल्लो जातका मानिसहरु हितबहादुरको क्रियाकलापलाई हेरिरहेका छन् । उपल्लो जातकालाई हितबहादुर मन्दिर प्रवेश गरी मन्दिर अपवित्र पारिदिन्छ कि भन्ने संसय छ । हितबहादुरलाई मन्दिर प्रवेश गरी फूल चढाउनुछ ।
त्यहाँ एउटा द्वन्द छ । मन्दिर प्रवेश गर्न पाउनेको हठ छ– ‘दलितले मन्दिरमा पस्न हुंदैहुंदैन ।’ हितबहादुरको हठ छ– ‘जसरी पनि मन्दिरमा फूल चढाउनुछ ।’ त्यहाँ धर्मद्वन्दको अघोषित शीत युद्ध चर्केको छ ।
पुजारी मन्दिरको ढोकामा छ । ऊ हितबहादुर विश्वकर्मालाई कुनै हालतमा पनि मन्दिर पस्न नदिने पक्षमा छ । उपल्लो जातको मानिसको उर्दी छ– ‘हितबहादुरलाई फूल चढाउन नदिनू !’ हितबहादुर मन्दिरको पर्खाल वरिपरि घुम्छ । यसो मन्दिरभित्र चियाउँछ । अस्तिमात्र उसैले बनाएका त्रिशूल देवीको मूर्ति छेउमा गाडिएका छन् । सोच्छ– ‘ओ हो, मेरो पसिनाले बनाएको त्रिशूल देवीको मन्दिरमा सजिएका छन्, तर म भने कम्पाउण्ड छिर्न नपाउने ? कतिसम्मको अन्याय यो ! यो अन्याय सहेरै बसूँ । मैले सहेरै बसेँ भने म पछिका पुस्ताले पनि मन्दिर पस्न पाउदैनन् ।’ अलिकति बिद्रोह ।
हितबहादुर मन्दिरको पर्खाल पटकपटक परिक्रमा गर्छ । आज उसलाई आस्थाको फूल चढाउनुछ जसरी पनि । उसको गोजीको रातोफूल । ऊ गोजी छाम्छ– ‘अहो १ फूल ओइलाउन लागेको छ । ओइलाएको फूल देवीलाई के चढाउनु ।’
मान्छेहरु ठेलमठेल गरिहेछन् । उसको मनले भन्छ– ‘यै मौकामा सुटुक्क भित्र छिर्न पाए फूल चढाएर हिँडिहाल्थेँ । यी अधर्मीहरु के धर्म गर्छन् ! मनमा कालो ध्वाँसो बोकेर ।’ ऊ भीडसंगै ढोकाबाट छिर्न खोज्छ । ढोकामा पाले बसेका मानबहादुर शाही र दानबहादुर शाहीले उसलाई भकुण्ड्याउँछन् । ऊ मान्छेलाई लछार्दै चउरमा पल्टिन पुग्छ । केही बोल्दैन । मनमनमा भन्छ– ‘तेरिमा गधाहरु, मन्दिर यिनको मात्रै पेवा हो ? पख म एकदिन ।’
एक्कासि हितबहादुर माथि लाठी बर्सन्छन् । ऊ गुहार छोड्छ– ‘गुहार, गुहार १ बचाओ । मलाई मारे ।’ उसको आर्तपुकारलाई कसैले वास्ता गर्दैन । लाठामाथि लाठा, लात्तीमाथि लात्ती । दशपन्ध्र जनाले उसलाई लात्ती हानेर पालो पु¥याउछन् । ऊ थिलथिलो हुन्छ । त्यहाँ बस्न सक्दैन । चेतावनी दिएर हिड्छ –‘पख म मन्दिर नपसी छाडिदन । मन्दिर तिमर्को मात्रै हो !’ केही युवाहरु उसलाई लखेटेर पर पु¥याउछन् – मानौ ऊ खुँखार चोर हो, डाँका हो । रमिते केटाकेटी पनि उसलाई लखेट्दै पर पुग्छन् ।
हितबहादुर ज्यान बचेको महशुस गर्छ । गोजीको फूल हेर्छ । त्यो ओइलाइसकेको छ । वर बाटोबाटै फूल मन्दिरतिर फालिदिन्छ र कुढिएको मन लिएर घर फर्कन्छ ।
फूलपातीको दिन छ । सखारै एकगोजी रातो फूल बटुल्छ । आप्mना दुइटा केटाकेटी लिएर ऊ मन्दिरतिर लाग्छ । आफूले नसके केटाकेटीलाई मन्दिर छिराउने उसको अभीष्ट छ । ‘केटाकेटीलाई त कसैले पिट्दैन होला नि १’
अरु नपुग्दै मन्दिर पुग्छु भनेर सोचेको थियो तर ऊ पुग्दा पूजा थालिसकिएछ । आज पनि रातो फूल त्यसै फर्किने भयो । मन कुँडिन्छ । भारीभारी मन लिएर ऊ मन्दिर बाहिर देखा पर्छ । सबैका आँखा उसैतिर सोझिन्छन् । ढोकामा उनै मानबहादुर र दानबहादुर उभिएको देख्छ । दानबहादुर बोल्छ– ‘आज पनि मुन्टिएछ डाङ्ग्रो । यसका फिलाको मासु नझारेसम्म नचेत्ने भो । कामीले मन्दिरभित्र पस्नु हुँदैन भन्ने यसलाई थाह छैन । हिकाहा कहाँको ? पवित्र मन्दिर अपवित्र पार्ने यसको हरकत । आज यो बाँचेर जाँदैन ।’
हितबहादुर ओइलाउँछ । उसको गोजीको रातो फूल ओइलाउँदै गएजस्तै । हितबहादुर नदीपट्टि फर्किन्छ । गोजीबाट रुमाल झिक्छ र मुख बाँध्छ । मुख छोपेपछि कसैले चिन्दैनन् भन्ने छ उसलाई । केटाकेटीलाई वरै राखी ऊ मन्दिरछेऊ जान्छ । हुलमुलभित्र पस्छ । पर्खालको ढोकामा पुग्छ । ठेलिएर कम्पाउण्ड छिर्छ ( ‘आज त फूल चढाउँछु, चढाउँछु’ उसको दृढता मनमनै बोल्छ । उसलाई फूल चढाउनुछ । झगडा गर्नु छैन । गल्फती गर्नु छैन । धर्मको धरहरा उँचो बनाउनुछ ।
कसैको लात्तीले ऊ मन्दिर कम्पाउण्डमा ढल्छ । दानबहादर र मानबहादुर मन्दिरबाट उसैले बनाएका त्रिशूल लिएर आउँछन् । निदर्यी जीवहरु उसलाई त्रिशूलले घोच्न थाल्छन् । मन्दिर परिसरमा खैलाबैला मचिन्छ । सुनिन्छ– ‘हिते डाङग्रो मन्दिरमा आएछ । नकचरोलाई हान् हान् !’ भीड उत्तेजित बन्दै जान्छ । निरंकुश बन्दै जान्छ । धेरैले उसलाई मुक्का बजाउँछन् । ऊ बोल्छ– ‘मलाई एक पटक फूल चढाउन देऊ । मेरो रातो फूल ओइलियो । मेरो आत्मा भतभती पोलेको छ । म रातो फूल चढाउछु ।’
उसको अनुनयले कसैको हृदय पग्लिदैन बरु कठोर पाषाण बन्छ । एउटा बोल्छ– ‘यतिको सडेको डाङ्ग्रोलाई त यहीं मारेर बगरमा गाड्न सकिन्छ ।’ हितबहादुरको मन आगोमा रापिन्छ । विद्रोह उब्जिन्छ । ‘ए पाजीहरु हो १ मन्दिर तिर्मेको मात्रै हो ? लेउ मेरो त्रिशूल, म लैजान्छु । ’
ऊ माथि त्रिशूलका भाला बर्सिन्छन् । दानबहादुर र मानबहादुरले उसलाई त्रिशूलले छेड्न थाल्छन् । उसको शरीरबाट भलभली रगत बग्छ । आवाज आउँछ– ‘ठिक पा¥यौ भाइ, मातेको डाङ्ग्रालाई । यसलाई त मार्नै पर्छ ।’ ऊ चित्कार छोड्छ– ‘ठूले मलाई बचा । तँ भित्र आइज न ।’ छोराहरुले बाउको चित्कार सुन्छन् । उनीहरु कता जाऊँ र कसो गरुँ गर्छन् । मन्दिरतिर कुद्छन् । हिबहादुरको शरीर बाहिर फ्याँकिन्छ । बाउको शरीर छोराहरुमाथि बज्रिन्छ । उनीहरु पनि ढल्छन् ।
मालबहादुर त्रिशूल लिएरै बाहिर आउँछ र भुँडीमा घोच्छ । ठूले डराउँछ– ‘गुहार, गुहार, बालाई मारे !’ उसको शरीरमा त्रिशूल रोप्ने क्रम जारी छ । दानबहादुर आउँछ, अर्को त्रिशूल ढाडमा रोप्छ । केटाकेटीलाई लघार्दै पर पु¥याउँछन् । –‘तिमीहरुलाई मर्न मन छ ?’
हितबहादुर सासले– ‘रातो फूल, देवी, मन्दिर’ भन्दैछ । त्रिशूल रोपिदैछ । टाढा आँखा हेरेर हितबहादुर अन्तिम सास फेर्छ । सबै भागाभाग गर्छन् । दानबहादुर र मालबहादुर मात्रै बाँकी रहन्छन् । हितबहादुरको लास घिसार्दै बगरमा लगी गाड्छन् । उनीहरु पनि भाग्छन् । मन्दिर सुनसान बन्छ । पुलिस आउँछ । लास खोतल्छ र पोष्टमार्टम गर्न लैजान्छ ।
अष्टमीको दिन बिहान मन्दिर जानेहरुले देख्छन्– मन्दिर त खरानी र अँगारको थुप्रोमा बदलिएछ । उता बगरमा हितबहादुरको रातो फूल ओइलाएर सुुक्नै लागेको देखिन्छ । पूरै गाउँ भय, त्रासले आतङ्कित बन्छ । मान्छे मरेको भन्दा पनि मन्दिर जलेको पीडाले गाउँलेको मन जलिरहेको छ ।