माधव सयपत्री – मुकुण्डो
त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन ।
घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा पनि ऊ सुँक्कसुँक्क गरिरहेको हुन्थ्यो । टिलपिल आँसु पारेको हुन्थ्यो ।
विक्रम लामो समयदेखि तनावमा थियो । लोग्नेको मन बहलाउन विमला घुम्न जाने कुरा गरिरहन्थी, विक्रम मान्दैनथ्यो । ऊ छोराछोरीसँग पनि झर्केर बोल्न थाल्यो । विमलासँग अप्ठ्यारा र विरक्त लाग्ने कुरा गर्न थालेको थियो ।
एकदिन उसले भन्यो, “तिमीहरूले अब मेरो वास्तै नगर्नू । मलाई यो अवस्थामा पु¥याउने तिमीहरू हौ । तिम्ले पनि आफ्नो बाटो रोज्दा हुन्छ, म आफ्नो बाटो रोज्छु । यहाँ कसैले कसैलाई सधैंभरि साथ दिइरहन सक्दैन । दिइरहनुपर्छ भन्ने पनि छैन ।”
लोग्नेका अप्रत्याशित र अडबांगे कुराले विमला चिसी भई । लोग्नेले गरेका यस्ता असामान्य कुरा उसले सासूलाई भनिन । भन्नु उचित पनि ठानिन । उसको मन चिराचिरा भएर फाट्यो ।
लोग्ने सामान्य दिनचर्याबाट विचलित हुन लागेको महसुस विमलाले गरिसकेकी थिई । लोग्नेको तर्कमा कुनै तुक देखिन । तैपनि भनी, “तपाईंले यस्ता कुरा गर्न सुहाउँछ ? छोराछोरी मैले मात्र जन्माएकी हुँ ? यो उमेरमा यस्ता कुरा गर्ने ?”
विक्रम अलि कडै भएर बोल्यो, “तिमीले मलाई अब अर्तिउपदेश दिनुपर्दैन विमला ! मेरो जिन्दगी मेरै खुस । अब मेरो बाटोमा कोही तगारो बन्न नआए हुन्छ । कसैलाई पालनपोषण गर्ने ठेक्का लिएको छैन
मैले ।”
विमला आघात भएर लोग्नेसामु उभिरही ।
० ० ०
कोठामा विक्रमको भाइकी छोरी रक्षा देखिई । विक्रम झोक्राएर बसेको थियो । रक्षाले भनी, “ठुल्बा, तपाईंलाई के भाको ? तपाईंले यस्तो गर्दा मलाईं कति पीर पर्छ थाहा छ ? तपाईंले गर्दा ठूलोमम्मी कति रुनुहुन्छ ।”
विक्रम बोलेन । सोच्यो– अब कोही रुनु र हाँस्नु, खुसी हुनु र दुःखी हुनुसँग मेरो कुनै सम्बन्ध छैन । मैले मेरो बाटो रोज्नुपर्छ ।
रक्षाको अनुहारमा हे¥यो । औडाहा भयो, छटपटी भयो, बेचैनी बढ्यो । युद्धको भयंकर मोर्चामा हतियार चलाउँदा समेत ऊ यसरी बेचैन भएको थिएन । आज भाइकी छोरीको अनुहार हेरेर भयो । उसले दर्जनभन्दा बढी भिडन्तमा आत्मविश्वासका साथ शत्रूको छातीमा बन्दुक ताकेको थियो । घण्टौँसम्म लडेर कैयौं शत्रूलाई मारेको थियो । तर, ऊ अचेल रक्षाको अनुहार देख्दा हजारौँ पटक मर्ने गर्छ ।
० ० ०
सेना समायोजनमा अयोग्य ठहरिएर विक्रम उर्फ ‘प्रहार’ क्यान्टोनमेन्टबाट बाहिरियो । ऊ सरासर घर आयो । आमालाई केही भन्न सकेन । श्रीमतीलाई भन्यो, “म अयोग्य ठहरिएँ विमला । अब म विदेश भासिन्छु ।”
विक्रमका कुरा विमलालाई बहुतै चिसा लागे । उसको अनुहारमा कालो बादल पोतियो, रुनमात्रै सकिन । श्रीमान्को यो असामान्य अवस्था देखेपछि ऊ चुप रहन पनि सकिन । भनी, “तपाईंलाई के भएको छ ? जागिर पाइएन त के भयो ? खेतबारी छ, खनीखोस्री खान पुग्ने । आमा हुनुहुन्छ, म छु, रहरलाग्दा छोराछोरी छन् । सबैलाई हेरेर चित्त बुझाउनु पर्दैन ? तपाईं यसरी नबहकिनु न ।”
श्रीमतीका कुरामा विक्रमले चासै राखेन । ऊ उभिरह्यो र पारिपट्टि फुंग उडेको पहाडलाई हेरिरह्यो । बाँकी जीवनलाई पहाडमै रूपान्तरण गरेर हे¥यो । सोच्यो– जिन्दगी दुःखकै पहाड हो ।
० ० ०
सुमित्रा बज्यैका छोरा हुन्– विक्रम र पवन । उनीहरूको बिहे एउटै घरमा भएको थियो, केही वर्षको अन्तरमा । विमला र हिमला दिदीबहिनी थिए । सरकार–विद्रोही युद्ध चर्किरहेकै बेला कान्छो छोरा पवन सशस्त्र प्रहरीमा छि¥यो । दाजु विक्रम भने केही पहिल्यै छापामारतिर लागिसकेको थियो । सुमित्राका पति पहिल्यै बितेका थिए । पवन गर्भे टुहुरो थियो । सुमित्राले साह्रै गोता सहेर छोरा हुर्काएकी थिइन् ।
पवन बित्दा उसकी छोरी ६ महिनाकी मात्र थिई । उसलाई छोरीको अनुहारसमेत राम्रोसित याद थिएन । भर्ना भएको ६ महिनापछि ऊ रातिराति घर आएको थियो । ३ दिन घरमै लुकेर बिहान भाले नबास्दै फर्केको थियो । त्यसपछि विद्रोहीको डरले घर आएन ।
श्रीमान् बितेको खबरले ऊ बेहोस भई । आमाको छातीमा कहिल्यै निको नहुने घाउ लाग्यो । रक्षा सोध्थी, “मामु, हाम्लो बाबा खोई ? साथीहरूका बाबा छन् । हाम्रो बाबा किन नभएको ? बाबा खोजेल ल्याइदिनू है मलाई ।”
छोरी रक्षाको जिज्ञासाले उसको मन छियाछिया हुन्थ्यो, मर्ममा घाउ हुन्थ्यो । मन भक्कानिएर आउँथ्यो । ऊ केही भन्न सक्दिनथी । मुटुमा गाँठो पथ्र्यो र सासै रोकिएलाझैँ हुन्थ्यो । यति भनिदिन्थी, “तिम्लो बाबा तिमीलाई नाना लिन जानुभएको छ ।”
रक्षाका बाबा नाना लिएर कहिल्यै आएनन् । पछिसम्म सोधिरही, “तपँैले बाबा नाना लिन जानुभएको छ भन्नुभएको हैन ? खै त बाबाले नाना ल्याएको ?”
अहँ, उसले छोरीलाई बाबा ल्याइदिन सकिन र सम्झाउन पनि सकिन । उसको मन तातो भुंग्रोमा परेको थियो । कसरी बुझाओस् छोरीको चित्त ?
रक्षाका साथीले सुनाइदिए, “तिम्रा बाबा लडाइँमा मरे । अब कहिल्यै फर्केर आउँदैनन् ।”
रक्षाको बालमनले सोच्यो– ‘मरे’ भनेको के होला ? मरेपछि मान्छे फर्केर आउँँदैन त ?
विक्रम छापामारमा सामेल हुँदा छोरो शेखर ३ र छोरी दीक्षा १ वर्षका थिए । साना लालाबाला र भर्भराउँदी श्रीमती छाडेर विक्रम छापामार बन्न पुगेको थियो । वर्गविहीन समाज व्यवस्था र राज्य व्यवस्था स्थापनाका खातिर ऊ भूमिगत भएको थियो । अर्थात् ऊ ‘महान् जनयुद्ध’मा लागेको थियो । साथीहरूले उसलाई सपना देखाएका थिए । अरूले देखाएका सपनामा ऊ सयर गर्न थालेको थियो । उसले सोचेन– देखाइएका सपनाहरू पूरा हुँदैनन् । सपना त आफैं देख्नुपर्छ ।
सुमित्रा बज्यैको पुत्र वियोगको घाउमा खाटा बस्दै गयो । पूरै निको त के हुन्थ्यो, छोरा गुमाएको पीडा र सम्झनाको तीरले उनलाई आघात बनाइरह्यो । गर्भे टुहुरो हुर्काएको छोरा । ठूलो छोराको असामान्य व्यवहारले उनको घाउमा झन् नुनचुक छर्किदियो ।
० ० ०
विक्रममा मानसिक तनाव झनै बढ्यो । विमलाले उसलाई सम्झाई, “तपाईंलाई रोगले गाल्दै लगेको छ, । यसरी बसेर हँुदैन । हिँड्नुस्, म तपाईंलाई अस्पताल लैजान्छु ।”
विक्रमले भन्यो, “मलाई के भएको छ र ? मेरो शरीर सगल्ती छ, हातगोडा सग्लै छन् । म किन अस्पताल जाने ?”
उसले भित्र दुखेको घाउको कारण खोलेन ।
ऊ मानेन हत्तपत्त । श्रीमतीले निकै कर गरेपछि ऊ अस्पताल जान राजी भयो । सहरको मानसिक रोग विशेषज्ञकोमा पु¥याई विमलाले । डक्टरले सोधे, “के भयो तपाईंलाई ?”
विक्रम बोलेन । टोलाएर हेरिरह्यो ।
विमलाले विक्रमको रोगबारे फेहरिस्त बताइदिई, “उहाँ एकोहोरो हुनुभएको धेरै भयो डाक्टरसा’ब । उहाँ नमान्दा नमान्दै मैले कर गरेर यहाँ ल्याएँ । उहाँलाई के भएको होला ?”
डक्टरले विक्रमको केस हिस्ट्री बुझे । विक्रमले छापामार बनेर युद्धमा सामेल भएदेखि क्यान्टोनमेन्टबाट बाहिरिएसम्मको बेलीविस्तार लगायो । तर, उसले एउटा कुरा भनेन, जसले उसलाई आफैँदेखि घृणा उत्पन्न गराएको थियो । उसलाई रोगी बनाएको थियो । मनलाई आगोमा पिल्स्याइरहेको थियो । र, उसैको मनले अपराधी करार गरिरहेको थियो । श्रीमतीलाई पनि भनेको थिएन ।
डक्टरले सोधे, “मन कुँडिने गरी तपाईंलाई कसैले बचन लगाएको थियो ? आफैंलाई पछुतो हुने त्यस्तो केही काम गर्नुभएको थियो ?”
डाक्टरले जति छड्के प्रश्न सोधे पनि उसले भन्दै भनेन । डक्टरको मुखबाट ‘पछुतो’ शब्द सुन्नेबित्तिकै उसलाई चिटचिट पसिना आयो । घोरिएर भुइँतिर हेरिरह्यो । मन कताकता गएर अल्झियो । सामान्य सोधपुछको आधारमा डक्टरले ‘सामान्य डिप्रेसन’ भन्दै कलम धस्काइदिए ।
कागज बोकेर विमला आफैँ औषधि किन्न फार्मेसीतिर जान लाग्दा विक्रमले रोक्यो । भन्यो, “विमला ! मलाई केही भएकै छैन, किन औषधि खानु ? म औषधि खाँदै खान्नँ, किन्नु पर्दैन ।”
विमला झोक्किएर बोली, “यत्रो खर्च गरी काठमाण्डु आइयो । जाँचेपछि औषधि खानु पर्दैन ?”
उसले भन्यो, “मैले अस्पताल आउनु पर्दैन भनेकै थिएँ, तिम्रै ढिपीले गर्दा हो । तिमी नै खाऊ औषधि ।”
विक्रमका कुराले विमला फतक्कै गली । केही भनिन । ऊ औषधि नकिनी फर्किई ।
० ० ०
विक्रम घरबाट निस्केर सोझै भत्केको प्रहरी चौकी पुग्यो । भग्न चौकीको आँगनमा काँस उम्रिएर घारी भएको थियो । उसले आँखा घुमाएर चारैतिर हे¥यो । चौकीको पर्खालमा लेउ उम्रिएर हरियै भएको थियो । उसले भग्नावशेषको एक चक्कर लगायो । पर्खालको चिप्लेटी ढुंगामा बेहोसी पारामा थ्याच्च बस्यो, खुइय..ग¥yen;यो र आकाशतिर हे¥यो । कालो बादल आकाशमा अनेक आकार बनाउँदै र बत्तिँदै थियो । बादलको आकार भत्किँदै पनि थियो । सोच्यो– ऊ आफैँ बादल हो, जसको नियमित कुनै आकार हुँदैन । हावाले छिनभरमै छिन्नभिन्न बनाइदिन्छ ।
पर मन्दिरमा बजेको घण्टको सुरिलो आवाले उसको सोचाइ भंग गराइदियो । फेरि फर्कायो मन । एकाग्र गराउन खोज्यो । जिन्दगीमा घुमेका अनगिन्ती मोडहरू सम्झियो । आज ऊ यस्तो घुमाउरो मोडमा पुगेको छ, जुन मोड पार गरेपछि घरिघरि जिन्दगीका मोडहरूमा बलात् मोडिनु पर्दैन । दुःसाध्य विगतले छिनछिनमा कोतर्दैन । र, कसैको मायामोहमा निकट वा दूर हुनु पनि पर्दैन ।
खल्तीबाट एउटा कागज झिक्यो र केही लेख्न लाग्यो । आज ऊ विद्रोहका आगो ओकल्ने गीत लेख्ने मुडमा छैन । ऊ एकदमै भिन्न मनस्थितिमा छ । उसको ‘मोड’ बदलिएको छ ।
हतारहतार लेख्यो र ज्वारीकोटको खल्तीमा हाल्यो । एकचोटि क्षितिजमाथि आएको घाम हे¥यो । मन दह्रो पा¥यो । कम्मरमा लुकाएर बाँधेको नाइलनको डोरी झिक्यो । छेवैको नासपातीको रूखमा चढ्यो । हाँगामा डोरी बाँध्यो बेस्सरी । डोरीको अर्कोतिरको छेउले आफ्नै घाँटीमा कस्यो । र, हातगोडा रूखबाट छाडिदियो । बिजुली चम्केको जस्तो देख्यो । चट्याङ परेजस्तो लाग्यो, त्यसपछि केही थाहा पाएन ।
विक्रमले आत्महत्या गरेको कुरा गाउँमा पैmलियो । घटनास्थलमा तमासेहरूको भीड लाग्यो । फासफुस आवाज सुनियो । कानेखुसी गर्नेहरूले विभिन्न लख काटे । कसैले भन्यो, “अर्धपागल भएको थियो, मरेछ, दुःखै बिसाएछ ।”
विमला डाँको छाडेर रुँदै आइपुगी । पछिपछि हिमला पनि आइपुगी । श्रीमान्को झुन्डिएको लासतिर हेर्दै विमला हिक्का छाडेर रोई । केही बोल्न सकिन । रक्षाले अत्तालिएर रुँदै भनी, “ठूलोबाबा ! तपाईंलाई हाम्रो माया लागेन ?”
घटनास्थलमा प्रहरी आइपुग्यो । मुचुल्का उठायो । रुख चढेर डोरी काट्यो । विक्रमको लास भुइँमा बजारियो । विमलाले हेर्नै सकिन । ऊ चौरमै पछारिई ।
सुमित्रा बज्यै पनि बत्तिँदै आइपुगिन् । असरल्ल कपालको झाँक्रोले उनको रूप बीभत्स देखिएको थियो । बेहोसी पाराले छोराको लाशमा छाँद हालिन् । उनको कारुणिक चित्कारले सबैका आँखा रसाए ।
प्रहरीले सामान्य अनुसन्धान ग¥यो । लगाएको लुगा खोल्यो । ज्वारीकोटको खल्तीमा एउटा कागज भेट्यो । सुमित्राले झम्टिएर त्यो कागज समाइन् । त्यसमा लेखिएको थियो––
“आमा ! अब तिम्ले तिम्रो छोरालाई पाउने छैनौ । म गएँ आमा, गएँ ! म किन गएँ तिमीलाई थाहा छ ? अब थाहा पाउनेछ्यौ । रक्षाको प्रश्नले मलाई मुटुमै तीर हानिरहन्छ । हिमलाको निर्दोष अनुहारले मलाई पलपलमा घोचिरहन्छ । मैलेभन्दा ठूलो युद्ध त तिमीले पो लडिछौ । बा नहुँदा पनि तिम्ले हामीलाई लाखौँ कष्ट सहेर हुर्कायौ, बढायौ र पढायौ । कति माया खन्यायौ हामीमाथि ! तिम्रो मायाको गहिराइ कति छ म नाप्न सक्दिनँ ।
म आज मैले लडेको अन्तिम युद्धको बयान गर्दैछु । आमा ! लगातार ३ महिनाको योजना र स्थलको विश्लेषणपछि चौकी हान्ने टुंगोमा पुग्यो पार्टी कमिटी । सेन्ट्रीबाहेक सबै प्रहरी सुतेपछि चारैतिर माइन बिछ्यायौँ । तलमाथि, दायाँबायाँ चारैतिर छापामार साथी अलर्ट बसे । मध्यरातमा चौकीमा एकसाथ आक्रमण भयो । आक्रमणको सम्पूर्ण योजना र जिम्मेवारी मेरै थियो । माइनको तार जोड्नेबित्तिकै चौकीको एक भाग हावामा उड्यो । केही प्रहरी सुतेकै ठाउँमा सिद्धिए । बाँकीले प्राणको भीख माग्दै हामीसामु आत्मसमर्पण गरे । हामीले युद्धको सामान्य मर्यादा पनि पालना गरेनौँ । आलो रगत पिएका सिंहझैँ भएका थियौँ । हृदयमा प्रेमको कुनै अवशेष थिएन ! हामीभित्रको ‘मान्छे’ हामीमा थिएन ।
मैले अनुहारमा मुकुण्डो लगाएको थिएँ । आमा ! त्यो बेला मेरो मन ढुंगा भएको थियो । मैले मान्छेभित्रको धुकधुकी सुनिनँ । चौकी आक्रमण सफल भए मेरो एक श्रेणी बढुवा हुन्थ्यो । त्यसैले म नियन्त्रणमा लिइसकेका शत्रूलाई पनि मार्न उद्यत भएँ । एक जना जवान घस्रेर मतर्फ आउँदै थियो । त्यसले भन्यो, “मलाई नमार्नुस् । म जागिर छाडेर घर जान्छु । मेरी श्रीमती र नाबालक छोरीका लागि भए पनि मलाई बचाइदिनुस् । म उनीहरूका लागि बाँच्नुपर्छ । तपाईं जे भन्नुहुन्छ, मान्न तयार छु ।”
ऊ मुन्टो उठाउन खोज्दै थियो । मैले नै अर्को गोली उसको कन्चटमा चलाएँ ।
आमा ! आज म एउटा निर्मम सत्यको पर्दा खोल्दैछु । त्यो सत्य सुनेर मप्रति तिम्रो माया होइन, घृणा जाग्नेछ । कसरी सोचूँ आज म ? मैले अन्तिममा मारेको प्रहरी मेरै भाइ पवन थियो आमा ! पवनको हत्यारा मै हुँ । मैले आफ्नै भाइको हत्या गरेँ । उसले प्राण जाने बेला बोलेको यति हो, ‘आमा ! मरेँ !!’
मेरो भाइ कति राम्रो थियो, कति प्यारो थियो । दादा नभई खेल्न आँगन पनि काट्दैनथ्यो । भाइको हत्यारा म अपराधी बाँचेर धर्ती आमाको बोझ बनिरहन चाहन्नँ । हिमला, विमला, शेखर, दीक्षा र रक्षाले पीर गर्लान् । तिनलाई सम्झाए है आमा ! म मरे पनि रक्षाको अनुहारको कालो बादलले मलाई लखेट्न छोड्दैन शायद ।
आमा ! मैले मेरो अनुहारको मुकुण्डो उतारेँ । अब त मलाई चिन्यौ है आमा ? म मरेकोमा तिमीजस्ती साहसी आमा कहिल्यै बिरक्तिने छैनौ । आमा, बिदा !”
पढेर सुमित्राका आँखामा आँसुका मूल फुटे । हातको चिठी कच्याककुचुक पारेर मुखभित्र हुलिन् र चपाइन् । धुजाधुजा पारेर विक्रमकै लाशमा फ्याँकिन् । अडिन नसकेर केराको थाम ढलेझैँ भुइँमा ढलिन् । परपर आँखा पु¥याएर लामो सास फेरिन् । र, कहिल्यै नहेर्ने गरी आँखा चिम्लिइन् ।