सञ्जु नेपाल – विद्रोह
(मधुपर्क २०६६ माघ)
निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।
बिस्मात् ! आधा रातलाई पनि आँधिबेहरीले भाँजो हालेको छ । अन्तद्वन्द्व चलेको हिजो साँझदेखि नै । कसैगरी छोड्नु छ उसले ओछ्यान । जीवनसाथी सपना देखिरहेछ सधैँझै ।
लोग्नेको भारी हात पन्छाउँदै उठ्छे ।
निर्दयी प्रकृति ! “कस्तो हुरी चलेको ! खालबाट रित्तिएर निस्किएको जुवाडेको पर्याय हुनुपर्छ “- मनमनै भन्छे । त्यसपछि सरलाले झ्यालबाहिर चिहाई । मुसलधारे पानी पर्छजस्तो छ आकाश हेर्दा । खडेरी परेर केहीमा प्राण छैन । जीवन चाहिएको छ सबलाई ।
घरको कुकुर पनि अचम्मको निद्रा निदाएछ । पत्तै पाएन । सधैँ पाइला चलाउन हँुदैनथ्यो धुरुक्क पार्थ्यो पछ्याएर ।
“कस्तो बेइमानको हावा ! बारुदी पर्खाल भत्काएर आगो सल्काउन हान्निएको हुँदो हो ।” फलामे गेट खोल्न हम्मेहम्मे पर्छ । काँचका चुरा पहिरिएका हातहरू सायद शक्तिहीन भए अब ।
क्षणक्षणमा यस घरमा आफ्नो औचित्य छैन भन्ने नलागेको होइन । बाध्य छ । मूलगेट नै नखुलेपछि के गरोस् ? ऊ यहाँ छे तर अरूका लागि । उतार-चढाव धेरै भए । बेला-बेलामा खण्डहर जीवनको अनुभूति नभएको पनि होइन । परिवर्तनको पर्खाइ थियो उसलाई तर परिवर्तन भएन केही । आत्मासम्मानलाई मण्डीवाला भाउ दियो त्यस लोग्नेमान्छेले । आफ्नो भने हीरामोतीको भाउ तोक्यो जुन कहिल्यै घटेन । दिनानुदिन बढिरहृयो ।
दैनिकी छ उसको- चिया उमाल्नु । मिनेटको फरक नपारी डाइनिङ टेबल व्यञ्जनाले भर्नु । पाइन्टको धार लाग्ने खुकुरी बराबर पार्नु । दाह्री काट्ने रेजरदेखि मोजासम्म हत्केलामा थमाइदिनु । उसका आफन्त-इष्टमित्रसँगको सम्बन्ध दुरुस्त राख्नु । साथसाथै जागिरे दैनिकीलाई पूरा गर्नु तर पनि त्यो लोग्नेमान्छेले असन्तुष्टि दर्शाउन आजसम्म छोडेको छैन । मानौँ उसले जिन्दगी यसरी नै टुङ्ग्याउने सम्झौतापत्रमा हस्ताक्षर गरेकी छे ।
आँधी रोकिने छाँट छैन । बढ्दो छ । घण्टाघरले मध्यरातको घण्टी बजाइसक्यो । हतारिन्छे ऊ । उता आकाशमा गड्याङ्गगुडुङ्ग सुरु भो । बिजुली चम्कियो । मूलगेटको ढोका खोल्न सक्ने अवस्था झट्टै छैन ।
“हरे ! यो घरको अधिनायक ब्यूँझियो भने ……?” अदृश्य अल्पबिराम खोज्दैछे ऊ । त्यसैले भयभित हुनु परिरहेछ । डरैडरमा बाँच्न बाध्य भएको अनुभूति भएकै हो सधैँ पनि । एक्ली छ र एक्लो छ परिवेश । साथीसङ्गी कहाँ गए, के थाहा उसलाई । मन साट्न पाउँदिन । भेटिएका केही पनि लोग्नेको विश्लेषणमा अपाच्य भए । छोडिदिई उसले सब ।
तर एकाएक मनले उसलाई घच्घच्यायो । धुमिल दृश्यले केही भनेर गयो । मस्तिष्कका रेसारेसामा त्यही आवाजको अनुगुञ्जन छ । अन्त्य खोज्नु छ त्यसको ।
पानी दर्किन सुरु भो मुसलधारे । क्षणमै भिजेर निथ्रुक्क भइसकी ऊ । पछाडिबाट ठूलै आवाज आयो । पक्कै बडेमानको वस्तु फुटेको हुनुपर्छ । यता बेस्सरी अठ्याएर राखेजस्तो भइराखेको छ गेटको फलामे साङ्गलो । जति हतारिए पनि, जति बल गरे पनि खोलिँदैन । कसरी निस्कनु उसले ?
“कोठाको झ्याल फुटेर बर्बाद छ भित्र, यहाँ भने मूलगेटमा केको धन्दा हो ?” लोग्ने रिसाउँदै निस्कियो ।
“सत्यानाश होस् ।” सरला आत्तिन्छे ।
“निद्रा सब चौपट भो । ख्याल गर्नुपर्छ नि कहाँ के भइराखेको छ ।” ऊ बर्बराउँछ ।
“हैन कत्तिबेर लगाई राखेको ?” भन्ने बित्तिकै हुनुपर्ने आदत लागेको छ त्यसलाई ।
तर ऊ पुनः पछाडि फर्किन चाहन्न । दृढता हो । निस्किसकेकी छ ऊ ।
निद्रा र ब्यूँझाइको यार्सागुम्बा भएर त्यो नजिकै आइपुगेको छ । सरलालाई थाहा छ ।
“सिसा छरिएर ओछ्यानभरि छ । फटाफट हटाइदेउ ।” आदेश दिन्छ र भित्रिन्छ कोठामा ।
आदेश मान्न मन छैन । घृणा लाग्छ । जीवनसाथी हो तर मात्र आदेश दिन्छ । त्यसैले त उसलाई न जीवन छ, न त साथी नै । सुझाव दिँदैन, धम्की दिन्छ । गल्ती त त्यो पण्डितको हो । बाबुआमालाई घण्टौँ पानी खन्याउन लगायो मन्त्र पढीपढी । दान गरेको भन्ने स्पष्ट पारिदियो । किन नदियोस् त आदेश ! दानमा पाएको वस्तु मेहनतले कमाएको ऐश्वर्यजस्तो कहाँ हुन्छ ?
कसलाई थाहा ? सम्झौता थियो त्यो उसको । आमाबाबुको संस्कारसँग मानसिकतासँग अनि समाजको ढोँगी संयन्त्रसँग । के खराबी थियो उसको रोजाइमा ? केही थिएन । मानेनन् स्वीकार्न कसैले । झोली भिरेर आयो अरे । झोले देशका मान्छेले झोला नभिरेर के भिर्ने त ? फर्काइदिए । त्यो फर्कियो लाचार बनेर । उसले केवल हेरिरही । पीडा छ आजसम्म । आफूले नरोजेको मान्छे । कस्तो-कस्तो हीनताबोध हुँदाहँुदै जिम्मा लगाएर पठाए । एकपटक सोद्धासम्म सोधेनन् । म्यारिनियोटलाई जस्तो ओल्टाई-पल्टाई सिँगारे अनि थुम्थुम्याउँदै पठाए । बैरी परेछ यो विद्वान् ! परिस्थिति स्वीकार्न कहिल्यै सिकाएन । स्नेह, कोमलता र सहनशीलता केही सिकाएन । कसरी सक्नु बिर्सन ? त्यो त शान्त थियो बढेमानको बुद्धजस्तो ।
“आधा रातसम्म बाहिरै बस्नुपर्ने कारण ?” पुनः बाहिरिन्छ र जवाफ तेस्र्याउँछ ।
जिन्दगीसँग हरेक प्रश्नको जवाफ हुँदैन । कैयौँ प्रश्नहरू नाजवाफ हुन्छन् । कैयौँ प्रश्नका जवाफ भावनामा खोज्नुपर्ने हुन्छ तर त्यो भाव जान्दैन या जानाजान हरेक प्रश्नको मौखिक जवाफ चाहन्छ ? सरलालाई थाहा छैन ।
“कारण, म गणतन्त्रको खुसियाली मनाउने तर्खरमा छु ।” बेतुकको जवाफ दिन्छे । हो नि त ! मुलुकमा गणतन्त्र भर्खरै आएको छ । खुसियाली ढिलोचाँडो सबैले मनाउन पाउँछन् । यसमा अस्वाभाविक के छ त ? ऊ पनि आफ्नै पाराले गणतन्त्रको खुसियाली मनाउँदै छ ।
त्यो हाँस्छ बेसुरले लामो गरेर । उद्दण्ड हाँसो, उपहासको हाँसो ।
“गणतन्त्र पुरानो भइसक्यो । यो कस्तो बासी खुसियाली ? मेरी श्रीमती …..गणतन्त्र……खुसियाली .. ! हा..हा… त्यो हाँसिरहन्छ ।
“राष्ट्रपति ! प्रथम महिला राष्ट्रपति ! सपना बन्नु रातभर । छिटो सुत्ने अनि भावी राष्ट्रपतिको सपना देख्ने ।” व्यङ्ग्य गर्छ ।
“ढोँगी घटिया हाँसो हाँस्छ ममाथि । दाम्लोले बाँधेको पशु सम्झदो हो ।” क्रुद्ध हुन्छे ऊ ।
‘यो राष्ट्रपतिको अर्थ परिवर्तन हो । अझ यो त पहिलो र ऐतिहासिक राष्ट्रपति ! यसले जागरण र स्वतन्त्रतालाई जनताबीच उजागर गरेको छ । बुझ्न सक्नुपर्छ परिवर्तन । मुलुकले अधिनायकवादबाट छुटकारा पायो । घर-घरभित्रको अधिनायकवाद किन ? समानतामा झर्नुपर्छ यो अधिनायकत्वले पनि ।’ मनोवाद गर्छे सरला ।
पानी रोकिएको छैन । बादल मडारिँदो छ । निष्पट्ट अँध्यारो छ । बिजुली चम्कन्छ उसै गरी घरिघरि ।
“साँच्चै प्रथम महिला राष्ट्रपति भए तिमी भने के गर्छौ ?” सरला त्यसलाई प्रश्न गर्छे ।
ठिङ्ग उभिएको छ सामुन्ने । अन्धकारमा हेर्दा बुख्याँचाजस्तै देखिएको छ त्यो । डरलाग्दो ! भागिहालौँजस्तो लाग्छ सरलालाई ।
“यो मध्यरातमा बेतुकका तर्क गर्ने फुर्सद छैन मेरो । ऊ अनि प्रथम महिला राष्ट्रपति …….” फेरि बेजोडको हाँसो हाँस्छ त्यो ।
“कुनै पनि परिवर्तनको शङ्खनाद यस्तै मध्यरातमा, अन्धकारमा, कुनाकाप्चाबाट, अप्ठ्याराहरूबाट नै हुने गर्छ ।” ऊ तर्क अघि सार्छे ।
“राष्ट्रपति हुनेले नेतृत्व गर्न सक्नुपर्छ । त्याग गर्नु पर्यो, बाधा-बन्धन तोड्नु पर्यो, जेलनेल थेग्न सक्नु पर्यो । अझ मुख्य त असमानताको पर्खाल भत्काएर सम्याउने हिम्मत गर्नु पर्यो ।” मजाकमा व्याख्या गर्छ त्यसले ।
“ठीक भन्यौ । मध्यरातमै भए पनि तिमीले पहिलोपटक केही त ठीक भन्यौ । वास्तवमै, त्याग गर्नुपर्छ । असमानता भत्काएर सम्याउन सक्नुपर्छ । ठीक भन्यौ ।” आवेगमा बोल्छे ऊ ।
भिक्षुणी बन्न निस्किएकी । अचानक आदेश, प्रश्न, राष्ट्रपति, जवाफ, आँधीबेहरीको जमघट । अपत्यारिलो सङ्गम । क्षीण भएको विश्वास, आँट, आत्मविश्वासको प्रत्यारोपण । घात गरेर सम्भिmरहेकी थिई त्यसैलाई । त्यो बढेमानको बुद्धलाई । घिनलाग्दै थियो आफ्नै आकृति एकैछिन अघिसम्म । मिराकल भइरहेछ खुलेआम आँखा अगाडि । हृयारीपोर्टरको जादुको छडी पर्दामा चाख मानीमानी हेरेको हिजै त हो । यहाँ पनि जादु भइरहेछ । कहीँ यतै कतै हृयारीपोर्टर छडी घुमाउँदैछ ।
सरला आँखा फर्काउँछे । त्यो ठिङ्ग खडा छ । दरबारको ढोकाजस्तो ।
“राष्ट्रपति हुने पहिलो कदम म यहीँबाट सुरु गर्दैछु । तिम्रो सामुन्नेबाट । यही मध्यरातमा यो मूलगेट खोलेर म निस्कँदैछु । आन्दोलन गर्नुछ । हर दैलोबाट एकएक कार्यकर्ता निकाल्नु छ । धुरीहरूमा आगो बालेर सडक तताउनु छ । विद्रोह मध्यरातमै हुन्छ । हर गल्लीगल्लीहरूमा विद्रोह भइरहेको हुनुपर्छ । पक्कै पनि ।” ऊ केही बोलेर मूलगेटतिर हानिन्छे ।
त्यसलेे हस्पिटलको इमर्जेन्सीलाई फोन घुमाउँछ- ‘मानसिक समस्या, आउट अफ कन्ट्रोल……।’
सुनसान छन् गल्लीहरू । विद्रोह टरिसक्यो वा विद्रोहलाई दबाइयो ? या कफ्र्यु जारी गरियो ? यसै भन्न सक्ने स्थिति छैन । एकोहोरो भुस्याहा कुकुरहरू भुकिराखेका छन् । चिसो पस्छ मनमा ।
“ए सेठकी छोरी ! तेरो बाउ कति पानीमाथि छ, मलाई थाहा छ । तेरो नपुङ्सक विद्या भोलि बिहान तेरै विद्यार्थीलाई सुनाउनु ।” लरबराएको आवाज छ त्यसको । पिएको हँुदो हो । जवाफमा सँुक्कसँुक्क मात्र सुनिन्छ ।
अर्को एक विद्रोहको विजारोपण हो यो । एक, दुई, तीन दिनमै नभए पनि तीन सय पैँसठी दिनभित्रमा कसै गरी छेडिने विद्रोह हो यो । किनकि लोग्नेमान्छेमा एक, दुईले मात्र आत्मा आलोचना गर्न सिकेको हुन्छ ।
ऊ पाइला सारिरहेकी छ । बुद्धलाई भेट्नु छ उसले । उसको बुद्ध । कतै एकान्तमा आलङ्कारिक भइरहेको हुँदो हो । सधैँ सभ्य र आलङ्कारिक कुरा गर्थ्यो ।
छेउबाट किचौलाजस्तो गरी गाडी हुँइकिन्छ र सडक किनारामा रोकिन्छ । नारी आकृति उत्रिन्छे । पुरुषजस्तो लाग्ने आकृति गाडीभित्रैबाट वकालत गरिरहेको देखिन्छ ।
“पाएको वस्तु प्रयोग गरेको हो मैले । घरमा स्वास्नी छ । छोराछोरी छन् । जति भेटिए त्यत्तिलाई भित्र्याउन सक्ने न घर छ मेरो, न त देशको कानुन । एक वर्षको सम्बन्ध कम रोमाञ्चक रहेन । धन्यवाद ! बाटोमा अर्को राजकुमार पक्कै भेटिनेछ ।” एकै सासमा वाक्यांश बोल्छ र फरार हुन्छ दोषी ।
यौवना एकोहोरिन्छे सडक मध्यको सालिक भएर ।
“मूर्ख ! एकैचोटि दुई-दुई विद्रोहको बिज रोपेर गयो ।” सरलालाई विद्रोहै-विद्रोहको झुण्ड चाहिएको छ । यो सब सकारात्मक छ । नेतृत्व चाहिएको छ यी सबलाई । अदृश्य ढाडस दिने शक्ति चाहिएको छ ।
यी गल्लीहरू सधैँ उसले बिहानीमा मात्रै हिँडेकी । थाहा थिएन रातमा कस्तो बाँच्छ भनेर । निरस-निरस लाग्थे बिहानहरू । थकानले सुस्ताएजस्ता मलीनमलीन नारी अनुहारहरू । फुङ्ग उडेका पहिरहन । हातमा पूजाका थाली लिएर पनि अशान्त बनेजस्ता । थाहा थिएन यी चिटिक्क परेका सुन्दर घरहरूभित्र केले सताउँछ भनेर । यहाँ धोबी, दर्जी, पसले, कामदारभन्दा पनि प्रोफेसर, साहित्यकार, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, सिपाही, नेता, अभिनेता, समाजसेवीको बसोबास छ । यस्ता गल्लीका नारी अनुहारहरूमा चमक नभेटिनु ! उदेक मान्थी ऊ ।
चौबाटो आयो । सही दिशा छान्नु छ । दिशाबोध गराउने कम्पास छैन उसँग । दाँयापट्ट िमोडिन्छे । एक आकृति जोडले ठोक्किन्छ । निथ्रुक्क भिजेकी छ । सास धावकको जस्तो बेतोडले बढेको छ । मधूरो उज्यालोमा रक्ताम्य अनुहार र लतपतिएको सिउँदो देखिन्छ । त्यो ज्यान जोगाउन भागेकी जस्ती छे ।
सरला त्यसको हात अँठ्याएर तान्छे ।
“बाटो यता छ । हामीले सिधा यही बाटो पछ्याउनु पर्छ । छाती निर्जीव बनाएर ।” सरला हिम्मत जुटाइदिन्छे ।
“ज्यँूदै जलाउन खोज्यो त्यो पापीले । झ्यालको सिसा फुटालेर त्यसकै कोठाछेउबाट भागेँ । स्वास्नीले आत्माहत्या गर्न लागी भनेर पुलिसलाई खबर गर्दै थियो त्यो । अब ज्यँूदै त्यसलाई जलाउने पालो मेरो । यो रात कटोस् ।” त्यो आगो जसरी दन्किन्छ बदलाभावले ।
सरला अगाडि बढिरही । प्रत्येक मोड, घुम्ती, दोबाटो अनि चौबाटाहरूमा एकपछि अर्को गर्दै विद्रोहहरू ठोकिन आई पुग्छन् । विद्रोहको लामो ताँती भइसक्यो । उसले सम्पूर्ण छरिएका विद्रोहहरूको नेतृत्व गर्नुछ । एकमुष्ट पारेर ठोसरूपमा रूपान्तरण गर्नुछ । हैकमवादलाई परास्त गरेर साझा समझदारीमा आत्मसम्मानको हक सुनिश्चित गर्नुपर्नेछ । धेरै छ गर्न ।
“त्यो बुद्धले त यतै हुन्छु भनेको थियो । यही गल्लीको उचाइमा । उचाइबाट गरेको शङ्खनादले पूरै धरातल गुञ्जिन्छ भनेर उसले यो उचाइ देखाइदिएको ।” सरलाको बुद्ध साक्षात् छैन त्यहाँ ।
अलमल्ल पर्छे । बुद्धले धोका दिन सक्दैन । बुद्ध भनेको धोका होइन विश्वास हो । शिवजीको जस्तो छल गर्दैन बुद्धले । दृढ छ ऊ । बुद्ध भेटिन्छ । आँखा मिच्छे र बिस्तारै नियाल्छे । उचाइको मध्यबिन्दुमा त्यो बुद्ध ध्यानमग्न छ । उही शान्त र शालीन । धैर्यको समुद्रभित्र उसरी नै पौडिरहेको । थोरै फरक भएछ । निधारमा थकानका धर्साहरू बसेछन् । हर्षविभोर ऊ पछाडि फर्किन्छे, सयौँ नारी विद्रोहको प्रतिनिधित्व छ ।
“मेरो बुद्ध भेटियो । बाँकी रहृयो महिला राष्ट्रपतिको कुरा । म राष्ट्रपति हुन विद्रोह गरेर निस्किएकी हुँ । हामी सबै अधिनायकवादका विद्रोही हाँै । उद्देश्य एउटै छ । हातेमालो गरौँ, संरचना बदलौँ ।” सरला विद्रोहको नेतृत्व गर्छे । प्रत्येक विद्रोही आवाज थप्छन्- ‘विद्रोहलाई अन्तिम बिन्दुमा पुर्याउन साथ छ ।’ आकाश गुञ्जिन्छ स्वरहरूले । रोलमोडल बुद्धको ध्यान भङ्ग हुन्छ । परपर एम्बुलेन्स र पुलिस भ्यानहरूका साइरनको कोकोहोलो सुनिन्छ ।