प्रदीप नेपाल – काठमाडौं फ्लु
काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।
पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।
मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो पार्नुपर्ने सल्लाह गरेर पाँच सय स्वाइनफ्लु काठमाडौंमा आक्रमण गर्ने गरी सडक र आकास दुबै क्षेत्रमा छरिए ।
हवाइजहाज चढेर आएको स्वाइनफ्लुलाई पुग्नु थियो ठमेल । पश्चिमी सभ्यतामा रमाउने मानिसहरू त्यतै बस्थे । त्यसैले हवाइजहाजबाट आएको स्वाइनफ्लुले दुइतिरबाट ठमेलबासीलाई च्यापेर सिध्याउने निर्णय गर्यो । एउटा हूल चक्रपथको बाटो बालाजु चोकतिर लाग्यो । नयाँबजार छिरेर ठमेल पस्ने योजना बनाएको त्यो फ्लुले पशुपति मुन्तिरको पुलमा हुलुक्क छाद्यो । ठमेल आक्रमणमा खटिएका दुई सय फ्लुहरू लल्याकलुलुक हुँदै बालाजु चोकसम्म आइपुगे । सास बढेर तिनीहरू इन्तुनचिन्तु भएका थिए । चोकबाट दक्षिण लागेर विष्णुमतीको पुलमा आउन पाउँदा नपाउँदै छाद्नु र छेर्नु भएर दुई सय स्वाइनफ्लु ठहरै भए ।
काठमाडौलाई दक्षिणबाट च्यापेर सिध्याउने दाउ बोकेर आएको स्वाइनफ्लु बिचरो त अरु साथीहरू जति पनि बाँच्न भ्याएन । तीनकुनेबाट हान्निएर बानेश्वर छिमल्ने दाउमा आएका सबै फ्लुहरूले बागमतीको पुल पनि कट्न पाएनन् ।
हवाइजहाज चढेर आएका फ्लुको त यस्तो हालत भयो भने बाटाबाट आएकाहरूको हालत के भयो होला ? कालीमाटीसम्म जसोतसो आइपुगेका फ्लुहरूले टेकूमा टेक्न पनि पाएनन् ।
सबै फ्लुहरू मरेपछि नर्क जाने भैहाले । काठमाडौंलाई मृत्युको सोत्तर बनाउन पठाएका फ्लुहरू आफैँ सोत्तर भएर नर्कमा आएपछि यमराजलाई पनि रिस उठ्नु स्वाभाविक भैहाल्यो ।
“किन रित्तो हात आइस् ए फ्लु ?” यमराज जङ्गयिो ।
“काठमाडौंमा हामीलाई पनि मार्ने गन्धे फ्लु रहेछ यमराज,” सबै फ्लुहरूले थर्थराएको स्वरमा बिन्ती गरे, “खोलामाथि पुग्नेबित्तिकै हामी त छाद्नु न छेर्नु भैहाल्यौँ । काठमाडौ फ्लुलाई जित्न हामी नसक्ने रहेछौँ यमराज”
च मङ्सिर ०६६