उमेश राई ‘अकिंचन’ – साजिद र सपनाहरु
साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो……
साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस. भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरु उडदै-उडदै आउथ्यो मुटुको आकार लिएर-
“म यही छु तिम्रो सम्झनाको फोटो मुन्तिर
सायद तिमी पनि आकाश र धरति जोडिएको
उही थोप्लोमुिन
सम्झनाको एल्बम पल्टाइ रहेका हौला ।”
आज ठीक उसरी नै असारको झमझम परिरहेको झरीमा रुझ्दै-भिज्दै एउटा रंगिन कार्ड साजिदको हातमा आइपुग्यो ।पृथ्वी घुमेजस्तै उसका आँखाभरी सम्झनाहरु वृत्त बनेर नाच्न थाले ।रोशनी र उस्ले एउटै छाता ओढदै नापेका काठमाडौंका सडकहरु अपदस्त शासकको नामजस्तो विस्तारै अपरिचित लाग्न थाले । अब उसँग बाँकी थिए केवल काठमाडौको जाममा परेका गाडिहरुजस्तै तछाडमछाड गर्दै आउने सपनाहरु । अमूर्त सपनाहरु देख्नलाई मात्र सिमित थिएदेखाउनलाई थिएनन् । जस्तो कि कवि लेखकसँग देखाउन केही हुदैन घरगाडीबैंक ब्यालेन्स । तर भन्नका लागि धेरै कुराहरु हुन्छन् ।सायदत्यसैले राज्य र समाजले लेखकलाई अनुत्पादक ठानेको हुन्छ ।अनुत्पादक सरह बाँचिरहेको साजिदलाई कहिले त फर्केर आफ्नै ठाउँ जान मन लाग्थ्यो ।समय-समयको कुरा हो यो सब आफैले आफैलाई सान्तवना दिन्थ्यो ।
कुनै दिन संसारकै सुन्दर सपना देख्नेहरु मध्य पथ्र्यो ऊ । प्रेममा परेको खटपटसँगैआँखामा सपनाहरु कम कुण्ठाहरु बढि ओइरिन थाले । त्यही दिनदेखि सुकिरहेको बुढो रुखजस्तो अर्ध-जिवित बाँचिरहेको थियो ऊ ।आजको विवाह निमन्त्रणा त एउटा औपचारिक सूचना मात्र थियो । कोमामा पुगेको बिरामिलाईमृत घोषणा गरेजस्तै ।
साथीहरुमै पनि केहीले सोच्थे साजिद समयभन्दा ढिलो हिडिरहेछ । केहीले भन्थे रोशनी घडिका काँटाभन्दा छिटो दौडिरहेछ ।
घडिका काँटाहरुले जत्तिनै घुमे पनि बनाउने एउटा गोलाकार न हो ।
समयको यही गोलाकारमा साजिद र रोशनी भेट्टिए र छुट्टिए पनि ।
साजिदलाई चिन्नेहरुले जे जस्तो कुरा काटे पनि उस्का मनमा समयका काला बादलहरु हटेर नीलो आकाशमा सुन्दर सेता बादलहरु आएजस्तै जीवनमा दुःखःपछि सुख आउने कुरामा आशावादि थियो । उस्ले बुझेको थियो मान्छेलाई बाँच्न सिकाउने दुई कुराहरु हुन्छन्- आशा र परिश्रम । आशा र परिश्रमको वैशाखी टेकेर पुग्नु थियो उस्लाईत्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ ।
भेट्टिनु र छुट्टिनु आफैमा संयोग हो जीवनको । एउटासँग माया बस्नुअरु कसैसँग विवाह हुनु चलेकै चलन हो । तर साजिदको मनको गहिरो दुःख के थियो भने धर्म उनीहरुको विछोडको कारण बन्यो । संसारका सबै धर्मले मान्छेलाई माया गर्न सिकाउछ । भगवान आफैमा रोटि हो जस्को संसारभरि फरक नाम छ तर मान्छेलाई बाँच्न आवश्यक हुन्छ । भगवान कसैका पनि खराब हुदैनन् । खराव त मान्छे हुन्छ जस्ले धर्म र भगवानलाई आफ्नो स्वार्थ अनुरुप ब्याख्या गर्छ । रोशनी पनि त्यही मध्य परी जो समय अनुरुप रङ्ग बदल्छन् । मौसमझै बदलिने बेइमानीहरुलाई जातधर्मवर्ग टाढा हुने ठूलो बहाना बन्दो रहेछ ।जबकि प्रेममाजातधर्मवर्गभन्दा माथि उठेर सँगै बाँच्ने सँगै मर्ने कसम खाइएको हुन्छ ।
साजिद अन्सारी त्यही विद्यार्थी हो जस्का लागि विश्वद्यिालय अंगालो हाल्न आइपुग्थ्यो । विरगंज गहवाबाट आएर काठमाडौंमा पाइला राख्दा सूर्यजस्तो उदाउने सपना थिएन उस्को । उस्लाई त समाजशास्त्र पढेर संसारका मानिस एउटै हुन भन्ने भावनामा केही उर्जा मात्र थप्नु थियो । शुरुका दिनहरुमा तराई मूलको भनेर साजिदलाई कसैले वास्ता गर्दैनथे । कक्षामा हुने विभिन्न टेस्टहरुमा उस्ले राम्रो नतिजा प्राप्त गरेपछि विस्तारै ऊ सबैको आँखामा परेको थियो ।
काठमाडौकी रैथाने रोशनी र उस्को पहिलो बोलचाल भने लाइब्रेरीमा भएको थियो । उपन्यासमा वर्णन गरिने नारी पात्रजस्ति रोशनी देखेर ऊ चकित बन्थ्यो । साजिद स्वभावतः कसैप्रति झट्ट आर्कषित हुने व्यक्ति थिएन । चलचित्रमा देखाइने जस्तो काल्पनिक प्रेम र जीवनले उस्लाई छुदैंनथ्यो । उस्को आदर्शनै पढनुपढनु र फेरि पढनु नै थियो । तर किन-किन त्यो दिन रोशनीका पाइला सरेतिरै उस्का गोडाहरु उचालिए । रोशनीले उस्लाई नछोएपनि रोशनीको रुपले उस्को मुटुलाई छोइसकेको थियो । तनको सुन्दरता जस्तै रोशनीमा भएको विद्वत्ता पनि उनले पल्टाएका किताबहरुबाट साजिदले थाहा पायो । रोशनीले र्याकबाट निकाल्दैहेर्दै फेरि र्याकमैं राखेका किताबहरुलाई साजिदले यसरी सुम्सुम्यायो मानौ ती किताब नभइ रोशनीका हातहरु हुन् ।
साजिदले आफैं बोल्न शुरु गर् यो “एक्सक्यूज मि, कुन बुक खोज्नु भएको होला?”
रोशनीले मुस्कुराएर उत्तर दिइन “पिपल्स अफ नेपाल”
“तपाइँले नि?” रोशनीले प्रश्न गरीन् ।
“फैटलिज्म एण्ड डेभलेपमेन्ट” साजिदको उत्तरमा उमङ्ग मिसियो । दुई किताबहरु तर उही लेखक डोर बहादुर बिष्ट मिल्न गएकोले उनीहरु दुबै खुसी देखिए ।
“पिपल्स अफ नेपाल” जुन किताबले नेपाललाई साझा फूलबारीको रुपमा चित्रित गरेको छ । साजिद नेपालको अल्पसंख्यक मुस्लिम समुदायबाट आएको भएर होला उस्लाई समता र विकासका किताबहरु मन पथ्र्यो ।
यसरी यिनै बोलिका बाटाहरुले उनीहरु मित्रतामा गाँसिए । अब साजिद र रोशनी पढाइसँगै एक अर्कालाई प्रेम गर्न थाले । काठमाडौंको जाडो महिनारातो गुलाफको शहरजस्तो देखिने मौसममा नयाँ उमङ्गको साटासाट गरे यी दुईले । “ह्यापि भ्यालेण्टाइन डे, वि स्याल लिभ आवर लाइफ लाइक पोएम लेखिएका कार्ड र राता गुलाफहरु ।”
“कविता जस्तो जीवन कस्तो हुन्छ थाहा छ ?”
कविताको कुनै धर्म हुदैन, वर्ग हुदैन, लिङ्ग हुदैन, उमेर हुदैन, भाषा हुदैन । जीवन पनि त्यही हो जहाँ बन्धन नहोस, धर्म नहोस, वर्ग नहोस, मीठा-मीठा कल्पनाहरु होस जस्तो एउटा मीठो कवितामा हुन्छ । रोशनी र साजिद यसरी नै एक अर्कामा जीवन र कवितालाई दाँजेर हेर्थे ।
यो एक्काइसौ शताब्दि सभ्यता र एकताको युग हो । दुवैलाई जात धर्म वर्गको प्रवाह थिएन । परवाह थियो त पढाइकोत्यसपछि बनाउनुपर्ने करिएरको । द्वितीय वर्षको परीक्षा पश्चात साजिद र रोशनी पनि शोधपत्र लेखनतिर लागे । ‘शोधपत्र होइन सारपत्र हो’ साथीहरु ठट्टा गर्थे । तर रोशनी र साजिद आ-आफ्नो शोधपत्रको विषयमा दत्तचित्त भएर अध्ययन गर्थे ताकि कुनै उपयोगी तथ्य उजागर गर्न सकियोस । सायद त्यही नयाँ विषयवस्तु खोज्ने जिज्ञासु बानिको कारण साजिदले न्यू एरा अनुसंधान संस्थाबाट दिइने अनुसंधानवृत्तिको सहयोग प्राप्त गर् यो । रोशनीले केयर नेपाल अन्र्तगत अनुसंधान अधिकृतको जागिर पाइन ।
यसै वीचमा दुर्भाग्यवस साजिदको बुवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । घरमा एक्लि आमा र बहिनीको भरोसा बनेर उस्ले विरगंजमै केही समय बितायो । साजिदका लागि अब जीवनका गोरेटाहरु सरल भएनन् । साजिद आफ्नै टोलको १०+२ मा केही समय पढाएर काठमाडौं फक्र्यो । काठमाडौँमै बसेर लोक सेवा आयोगको तयारी गर्दै १०+२ पढाउन थाल्यो ।
समयले अब यी दुई प्रेमीहरुलाई समुद्रको दुई किनारजस्तो बनाएर टाढा-टाढा पुर् याइदियो ।
रोशनीको घरमा उनको विवाहको कृरा उठन थाल्यो । केही प्रस्ताबहरु रोशनीले सोचुला भन्दै टारीन । यता साजिद आफ्नै दुःखले थिचिएर लिक छोडेको रेलजस्तो भएको थियो । उनीहरुबीच अब समझदारी र प्रेमभन्दा व्यक्तित्व टकराव बढन थाल्यो । प्रेम निस्वार्थ भइन्जेल अन्धो हुन्छ । प्रेममा स्वार्थ मिसिनासाथ त्यो नाफा घाटा अनुसार चल्ने ब्यापार बन्छ । हाम्रो जस्तो अल्पविकसित समाजमा झन एउटा मुस्लिम केटा र हिन्दू केटीको प्रेम समाजले सहज रुपमा स्विकार्ने अवस्था थिएन । यही सामाजिक बिभेद रोशनीलाईसाजिदबाट टाढा हुने बहाना बन्यो ।
साजिदमा अब हिजो जस्तो सफल मान्छे बन्ने संभावना पनि थिएन । परिस्थितिले उस्लाई यसरी बाँध्दै लग्यो अब उस्का नजिकका मित्रहरु नै ऊ बाट टाढिन थाले । रोशनी जस्को साथ यो समय उस्कालागि अपरिहार्य थियो तर रोशनी नैं ऊ बाट तर्कन चाहेको उस्ले राम्ररी बुझ्यो ।
‘साजिद मेरो विहेको चर्चा घरमा व्यापक भइरहेको छ, क्यानाडा बस्ने डाक्टरसँग ।’ साजिदको अघि रोशनीले आफू दुःखी भएको अभिनय गरेपनि उनको आँखामा नाचिरहेको उमङ्र्र्र्लाई साजिदले स्पष्ट देख्यो ।
विचरा ! साजिद के गरोस आफ्नी आमा र बहिनीलाई त सहारा दिन नसकेर विरगंजमै छोडि आएको छ । काठमाडौंमा १०+२ पढाएर आफू मात्र बाँच्न त मुश्किल परेको बेला रोशनीका महत्वकांक्षा उस्ले कसरी पूर्ति गरोस । फेरि १०+२ पढाउने जागिर पनि के जागिर हो र पि्रिन्सपलको हजूर-हजूर गरेसम्म न हो । उस्ले यस्तै सोच्यो ।
कुनै समाधानको उपाय निक्ली हाल्छ कि उस्ले केही हप्ता पर्खन आग्रह पनि गर्यो।
संवाद भएको केही दिनपछि नै रोशनीको विवाह पक्का भएको कुरा साजिदले साथीहरुबाट थाहा पायो । आज विवाहको रङ्गिन कार्ड उस्को हात पर्दा उस्का आँखाभरि पृथ्वी घुमेसरी सम्झनाहरु ओहोर दोहोर गरीरहे । सँगै जिउनेसँगै मर्ने कसम खाएर जीवनमा गरेको पहिलो प्रेम बिर्सन खोजे पनि सम्झनाहरुले उस्लाई ठुङ्गि नै रहेँ ।
**********************************************************
विवाहको केही दिन पछि नै रोशनी क्यानाडातिर उडिन जिन्दगीको आकाश भेटन । साजिदका लागि अब रोशनी सुन्न सकिने तर गाउन नसकिने गीतजस्तै बनिन् । रोशनी देख्न सकिने तर छुन नसकिने बादल भएर उड्दै-उड्दै टाढा धेरै टाढा क्षितिज भन्दा पर पुगिन ।
समयले सधैं मान्छेलाई अन्याय मात्र गर्दैन ।परिस्थिति सधैं प्रतिकुल मात्र बन्दैन ।संसार आशावादिहरुको हो जस्ले कालो बादलमा चाँदीको घेरा देख्न सक्छ । संसार परिश्रमीहरुको हो जस्ले सिपीमा मोति बटुल्न सक्छ । अवसरको लागि प्रेम गर्नेहरु नाफा घाटाको हिसाबमै अल्झिन्छन् । साचो माया गर्नेहरु सुखमा पनि दुःखमा पनि सँगै जिउँछन सँगै मर्छन् ।
साजिद आज परराष्ट्र अधिकृत बनेको छ । क्यानाडामा खुल्न लागेको दूतावासमा उस्को पोस्टिङ् भएको छ । कसै-कसैले भनेको सुनिन्छ श्रीमानसँगको सम्बन्ध विच्छेद पश्चात रोशनी क्यानाडामा एक्लै छिन् । यता साजिद र डा. सवाना खातुनको सानो संसार, सानो सन्तानसँगै खुसीसाथ चलिरहेको छ । साजिदकी आमा र बहिनी अहिले काठमाडौकै घरमा पूर्ण सन्तुष्टिका साथ जीवनयापन गरिरहेका छन् ।
अन्ततः आशा र परिश्रमको वैशाखी टेकेर साजिद पुग्यो त्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ ।